गुणस्तरीय शिक्षाका लागि सक्रियता बढाउँदै सिंजाका अध्यक्ष धिताल 

सिंजा गाउँपालिकाकाे अध्यक्षमा विजयी भएपछि बिएल नेपाली सेवासँग अन्तर्वार्ता दिने क्रममा पूर्ण धितालले शिक्षा क्षेत्र सुधारका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताएका थिए।

त्यसबेला उनले चुनाव प्रचारकाे क्रममा विद्यालय शिक्षाकाे समस्या सुधारको आवश्यकता महशुस भएकाे बताएका थिए।

'विद्यालय छ, कक्षाकाेठा छ, शिक्षक दरबन्दी छ, तर विद्यार्थीहरुकाे पढाइ नियमित पनि छैन र उपलब्धि स्तर पनि निकै कमजोर छ,' उनले चुनाव प्रचारकाे समय सम्झिँदै भनेका थिए।

निकै दर्दनाक स्थितिबाट गुज्रिरहेका सरकारी विद्यालयहरु र त्यहाँबाट दिक्षित जनशक्तिले आफ्नाे भूगोलकाे सेवा कसरी गर्ला भन्ने प्रश्न गरिरहने धितालले पहिलो प्राथमिकतामा शिक्षालाई राखेका छन्।

त्यसैले पछिल्लो समय उनकाे पहलमा जुम्लाको सिंजा गाउँपालिका वडा नंं.६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

उनकाे लगातारको प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे हाे।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरले सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको छ।

गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयकै रुपमा सिंजाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको पालिका अध्यक्ष धितालले बताए।

'अब चाँडै डीपीआर हुँदैछ। अर्काे शैक्षिक सत्रबाट हामी भर्ना लिने तयारी गरिरहेका छाैं,' उनले भने, 'शिक्षालय स्थापना गर्न भाडगाउँका स्थानीयले झण्डै एक लाख वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराउने भएका छन्।'

उनले सिंजाकाे विकट बस्ती भाडगाउँमा स्थापना सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्दा विपन्नका छोराछोरीकाे प्राविधिक शिक्षामा सहज पहुँच हुने बताए।

उनले लामाे संघर्ष र प्रयासपछि सिंजा गाउँपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गराउन सफल भएकाे बताए। उनले भने, 'सिटिइभिटीले सम्बन्धन प्राप्त शिक्षालयकाे कुरा गरेकाे थियाे। हामीले आंगिक शिक्षालयकाे माग गरेर निर्णय गराउन सफल भयाैं।'

सिंजामा बहुप्रविधिक शिक्षालय स्थापना गर्न विगत छ महिनादेखि निरन्तर खटिएको उनले बताए।

'बहुप्रविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलायाैं। समन्वयको जिम्मेवारी पालिकाले लिनेछ भन्यौं भने विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने लगायत समस्या दर्सायाैं,' उनले भने।

सिटिइभिटीले गाउँमै बुप्रविधिक शिक्षालय स्थापना गर्नु एक ऐतिहासिक कदम भएपनि समग्र शिक्षा सुधारकाे काम बाँकी रहेकाे अध्यक्ष धितालले बताए।

'हामी अहिलेसम्म विद्यालय बाहिर छाैं। अब भित्र पनि पस्छाैं,' उनले भने, 'हामीले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न गतिविधि गरिरहेकाे छाैं।'

सिंजा गाउँपालिकाले यस अघि १५ जना स्वयंसेवक शिक्षक भर्न गरेर दरबन्दी अभाव भएका विद्यालयमा पठाएको छ। पालिकाले सिधै तलव दिन नमिल्ने भएपछि कार्यविधि बनाएर स्वयंसेवक शिक्षक भर्ना गरेकाे अध्यक्ष धितालले बताए।

'हामीले धेरै काम गरिसकेका छाैं। अब मानसिक रुपमा विद्यालय सुधार गर्न अभिभावक, विद्यार्थी, शिक्षक र व्यवस्थापन समिति यी सबैलाई जिम्मेवार बनाउँछाैं,' उनले भने, 'प्रधानाध्यापकले गाउँपालिकासँग विद्यालय सुधार्छाैं भनी करार गर्नुपर्नेछ भने प्रधानाध्यापकसँग शिक्षकले करार गर्नुपर्नेछ। शिक्षकले याेजना बनाई काम गर्नुपर्नेछ।'

पालिकाले शिक्षकहरुलाई तालिम दिने, शैक्षिक सामग्री उपलब्ध गराउने लगायतका गतिविधि गरिरहेकाे छ।

प्रकाशित मिति: : 2023-01-30 15:10:00

प्रतिकृया दिनुहोस्