भूकम्प आउने हल्लापछि जुम्लाका बासिन्दा रातभर घर बाहिर

चन्दननाथ १० बाेहरागाउँका बिस्ने नेपाली गाउँमा राति धेरै मान्छेकाे हल्ला खल्लाले ब्युँझिए। के भएकाे रहेछ भनी बाहिर आउँदा भूकम्प आउँदैछ सुरक्षित रहन बाहिर बस्नुपर्छ भनि मान्छेहरु जाग्राम बस्न बाहिर निस्केका रहेछन्।

उनले एक दुई आफ्ना जान्ने सुन्ने साथीभाइलाई साेधे। भूकम्प पूर्वजानकारी दिएर नआउने थाहा पाएपछि सुते।

'हल्ला सुनेका सबैले आफ्ना आफन्तलाई बाहिर निस्कन भनेर भनेछन्। अनि सबै मान्छे रातभर बाहिर बसेछन्,' उनले भने, 'मैले मेरा साथीहरुलाई फाेन नगरेकाे भए म पनि सुत्ने थिइनँ।'

जुम्ला र मुगुमा यस्ताे हल्ला चलेपछि धेरैजसो स्थानीय बाहिर बसे। रातभर आगाे बलेर जाग्राम बसेकामध्ये सामाजिक सञ्जाल चलाउने धेरैले फेसबुकमा आशंकासहितकाे प्रश्न गरेकाे देखिन्छ।

तुफानी बेगमा फैलिएकाे हल्लाले धेरैलाई सुत्न दिएन। भूकम्प आउँदैछ भनेर डराउनेहरु बाहिर आए। नडराउनेहरु बाहिर आएर सल्लाह दिँदा पनि धेरैले पत्याएनन्।

सत्य बाहिर निस्कन जुत्ता लगाउँदै गर्दा झुटले संसार फन्काे मारिसक्छ भनेझैं भूकम्प आउने खबर फैलियाे। त्यस खबरले रातभर सुत्न नपाएकाे गुठीचाैर गाउँपालिका -५ की पदमशीला सार्कीले बताइन्।

'मान्छे एकाएक बाहिर आएकाे हल्लाले हामी बिउझियाैं। बाहिर निस्कँदा भूइँचालो आउँदैछ भनेर भने सबैले,' उनले भनिन्, 'हामी पनि डर मानेर बाहिरै बस्याैं। तर भूइँचालो आएन।'

सुरुमा जुम्ला र मुगु सदरमुकाम लगायत आसपासका गाउँहरु हुँदै सञ्चार सुविधा भएकाे अधिकांश गाउँमा हल्ला फैलियो। तर हल्ला कसले फैलायाे? यसकाे खाेजी भइरहेकाे जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए।

'कसैले पनि भ्रामक सुचना फैलाउन पाउँदैन। यसरी हल्ला फैलाउनेलाई कारबाही हुन्छ,' उनले भने, 'भूकम्प आउने अनादर हल्ला फैलाउनेकाे खाेजी कार्य भइरहेकाे छ।'

कतिपयले सामाजिक सञ्जालमा भूकम्प आउँदैछ भन्ने खबर भ्रामक हाे समेत भने। तर हल्लालाई पत्याउने जमात बढेपछि कसैकाे सीप चलेन। परिणाम अधिकांश जुम्ली र मुगालीकाे बास कठ्याङ्ग्रिदाे जाडाेमा खुला मैदानमा भयाे।

भूकम्प कहिले पनि पूर्व जानकारी दिएर नआउने भैरव मावि धुपिढुस्काका विज्ञान शिक्षक धर्मेन्द्र अधिकारीले बताए।

'भूकम्प कसरी आउँछ भन्ने कुरा विज्ञानले पत्ता लगाएकाे छ। तर पहिल्यै भूकम्प आउँछ भनेर थाहा पाउने कुरा अहिलेसम्म पत्ता लागिसकेको छैन,' उनले भने, 'यहाँ हल्लालाई मान्छेले पत्याए। अर्काे कुरा हामीसँग भूकम्पबारे जानकारी पनि भएन। त्यसैले धेरै मान्छे बाहिर बस्नुपर्‍यो।'

हल्लाले केही बुझेका मान्छेलाई समेत आतंकित बनयाे। कतिले खास कुरा के हाे भनेर आफूलाई रातभर फाेन आएकाे प्रजिअ केशरीले थपे। तर, भुकम्प आउने पूर्व अनुमान सहजै अनुमान गर्न नसकिने हुनाले हल्लाकाे पछि लाग्न नहुने  कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाकाले बताए।

प्रकाशित मिति: : 2023-01-30 11:01:00

प्रतिकृया दिनुहोस्