तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडिमा माघी मेलाको तयारी पूरा

तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडिमा माघे संक्रान्तीको अवसरमा लाग्ने माघी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालको चार धाम मध्येको एक रुरु क्षेत्रधाम रिडिमा प्रत्येक वर्ष माघे संक्रान्तीको अवसरमा तीन दिने मेला लाग्ने गरेको छ। 

पवित्र कालिगण्डकी नदिमा स्नान गरि भगवन ऋषिकेशको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरि माघ १ गतेदेखि ३ गते गतेसम्म स्थानिय उत्पादन सहितको बृहत सांस्कृतिक एवं धार्मिक मेला आयोजना गरिएको रुरु फ्रेड्स क्लवका सचिव प्रेम भण्डारीले जानकारी दिए।

मेलामा गुल्मी, रुकुम, रोल्पा, मनाङ, मुस्ताङ र प्यूठान जिल्लामा उत्पादीत स्थानिय हस्तकलाका सामाग्रीहरु डोको, भकारी, सुपो, राडिपाखी, काम्लो, कम्मल सहित खुदो, गूड, ओखर, घाँजी लगायतका बहुगुणी वस्तु बिक्रिको लागि रिडि बजारमा ल्याउने गरिएको छ। 

जेठी, माइली, र कान्छी संक्रान्तीका रुपमा मनाइने धार्मिक मेलामा लाखौं श्रदालु भक्तजन रिडिमा पुग्ने गर्दछन्। 

कोभिडका कारण विगतमा माघे सक्रान्ति मेलामा खासै रौनकता नदेखिएकोले यो वर्ष भ्यू टावर सहितको तीनमुखे झलुङगे पुल पनि सम्पन्न भएकोले मेलामा दर्शनार्थीको रामै्र आगमन हुने अपेक्षा आयोजकले गरेका छन्।

पवित्र कालिगण्डकी नदिमा स्नान गरि ऋषिकेश मन्दिरको दर्शन गरेमा अञ्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वासले पाल्पा सहित गुल्मी, अर्घाखाँचि, स्याङजा, रुपन्देही, कास्की, चितवन, दाङ सहित भारतिय दर्शनार्थी समेत माघी मेलाको अवसरमा रुरु क्षेत्र धाम रिडि पुग्ने गरेका छन्।

प्रकाशित मिति: : 2023-01-14 19:01:00

प्रतिकृया दिनुहोस्