कृत्रिम खुट्टाले दिएकाे खुसी

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

अमितरत्न बज्राचार्य कृत्रिम हातखुट्टा बनाएर बिरामीलाई खुसी बनाउँछन्। उनकोमा गुणस्तरीय खुट्टा बनाउँदा घुँडा मुनिदेखि हो भने ५५ हजार रुपैयाँबाट सुरु हुन्छ। त्यस्तै घुँडा माथिबाटै हो भने १ लाख २० हजार रुपैयाँबाट सुरु हुन्छ।


बूढानीलकण्ठ चोकबाट करिब दुई सय मिटर अगाडि देखिन्छ एउटा बोर्ड–लिम्ब केयर नेपाल प्रा.लि.। यसका सञ्चालक हुन्, अमितरत्न बज्राचार्य। अँग्रेजी शब्द ‘लिम्ब’को अर्थ हुन्छ ‘हातखुट्टा’। यहाँ कृत्रिम हातखुट्टा बनाउनुका साथै स्वास्थ्य परीक्षण गरी थेरापी पनि गराइन्छ।

अमित नेपालका पहिलो प्रोस्थेटिस्ट अर्थोटिस्ट क्लिनिसियन तथा कन्सल्टेन्ट हुन्। ‘प्रोस्थेटिक्स’ले कृत्रिम अङ्गका विषयमा अध्ययन भन्ने बुझाउँछ भने ‘प्रोस्थेसिस्’ले कृत्रिम अंग। त्यस्तै ‘अर्थोटिक्स’ भन्नाले सहायक उपकरण विषय अध्ययन भन्ने बुझाउँछ। ‘अर्थोसिस्’ भनेका ती सहायक उपकरण हुन्, जो त्यस्ता बिरामीका लागि प्रयोगमा ल्याइन्छन्।

यहाँसम्म आइपुग्न निकै संघर्ष गरेका छन्। काठमाडौंको सिद्धार्थ वनस्थलीमा पढ्दै गर्दा उनका साथीहरू समूह नै बनाएर निस्किन्थे क्यान्टिनतिर। विद्यालयमा बिदा हुनासाथ घुम्न निस्किन्थे। तर, अमितको मनमा त्यस्तो चाहना कहिल्यै पलाएन। उनी कक्षा ८ मा पढ्दासम्म लजालु थिए। त्यसैले साथीहरूसँग पनि त्यति घुलमिल हुन सक्दैनथे। कसैले हेप्दा वा ठग्दा पनि सहिदिन्थे, प्रतिकार गर्दैनथे।

उनकी आमा बिन्दु र बुवा अनाररत्न दुबै वीर अस्पतालका कर्मचारी। अमित र उनकी एक बहिनीसहितको स्यानो परिवार। कमि थिएन कुनै कुराको। तर, एउटा अल्लारे केटाको मनमा न कहिल्यै फुर्माइस गरेर हिँड्ने सोच पलायो न ठूलो महत्वाकांक्षा नै। आमाबुवाको डाक्टर बनाउने सोच थियो। उनको पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने चाहना थियो। तर, डाक्टर शब्दसँग खासै मोह थिएन रे !

वि.सं. २०५० मा आइएस्सी गरेका अमित पब्लिक हेल्थ पढ्न चाहन्थे। त्यतिखेर बीपीएचको पढाइ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मात्र हुन्थ्यो। त्यसमा पनि सिट सिमित थियो। उनले दुई पटक प्रवेश परीक्षा दिए तर नाम निकाल्न सकेनन्। डा. अशोकरत्न बज्राचार्यले प्रोस्थेटिक्स, अर्थोटिक्स्को बारेमा बताएपछि उनी हानिए भारतको पटना। जहाँबाट उनले प्रोस्थेटिक्स अर्थोटिक्स विषयमा स्नातक गरे।

‘पढेर त आएँ तर जागिर कतै पाइनँ। त्यतिबेलै नेपाल आर्मीमा रिह्याब सेन्टर खोल्ने कुरा भयो। अनि त्यहाँ काम गर्न गएँ। त्यहाँ पाँच वर्ष बसेर सबै सेटअप हेरेँ’, उनले सम्झिए।

अझै सिक्ने चाहनाले आर्मीको जागिर छोडिदिए। सन् २०१० मा अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन थाईल्याण्ड र हङ्कङ पुगे। त्यहीबेला जापानको निपोन फाउन्डेसनका प्रतिनिधिबाट एउटा अफर आयो। त्यो अफर थियो वर्षमा १/२ जना नेपालीलाई निपोन फाउन्डेसनले त्यो विषय नि:शुल्क पढाइ दिने।

त्यतिबेला उनले पढेको विषयमा नेपाल सरकार अनविज्ञ थियो। ट्रमा सेन्टर, टिचिङ हस्पिटलजस्ता ठाउँमा यस्तो सेवा नहुनु बिडम्बना हो।

स्नातकपछि अपडेट हुने मार्ग उनका लागि बन्द जस्तै थियो। सरकारसँग यो विषयको कुनै ज्ञान थिएन। यो विषयमा त्यतिखेरसम्म मास्टर्स पढाइ हुने ठाउँ संसारमै कतै थिएन। अनि नेपालबाट कोही नजाने भएपछि उनी आफैं फेरि स्नातक पढ्न थाइल्यान्ड पुगे। सन् २०११ मा छिमेकी अमृता लामालाई पनि अध्ययन गर्न बोलाए। छात्रवृत्तिमा थाइल्यान्ड पुगिन् अमृता पनि जो अहिले लिम्ब केयरमै काम गर्छिन्।

उनी थाइल्यान्डको माहिडोल विश्वविद्यालय अन्तर्गतको श्रीराज हस्पिटलबाट ४ वर्षे स्नातकमा गोल्डमेडलिस्ट बने। त्यहाँबाट फर्केर जोरपाटीस्थित अर्थोपेडिक हस्पिटलमा भाडामा ठाउँ लिएर काम गर्न थाले। सन् २०१८ मा पहिलो पल्ट अमेरिकामा प्रोथेटिक्स अर्थोटिक्समा मास्टर पढाइ सुरु भयो। सन् २०१९ मा थाइल्यान्डको माहिडोल विश्वविद्यालयले पनि सुरु गर्‍यो। स्नातकमा गाल्डमेडलिस्ट भएकाले उनले श्रीराज हस्पिटलमा मास्टर्स पढ्न छात्रवृत्ति पाए। दुई वर्षमा मास्टर्स सकेर फर्किए नेपाल।

अमित यो क्षेत्रमा संघर्षरत छन्। योग्य जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स दिने गर्छ। हालसम्म १२ जनाले लाइसेन्स पाइसकेका छन्। नेपालमा उनको जस्ता संस्था पनि १२ वटा मात्रै छन्। जसमध्ये ६ वटा गैरसरकारी संस्थामार्फत संचालित छन् भने बाँकी निजिस्तरमा।

५० लाख रुपैयाँ लगानीमा दुई जना मिलेर सुरु गरिएको उनको संस्थामा दिनहुँ बच्चादेखि बुढासम्म आउँछन्। वर्षमा ५/६ सय जति केश आउने उनले बताए। कति पर्छ त यस्ता कृत्रिम अङ्गको मूल्य ?

‘क्वालिटी नहेर्ने खुट्टा एउटा बनाइदिए पुग्छ भन्ने हो भने त रकम कमै लाग्छ’, उनी भन्छन्, ‘एउटा मान्छेको क्षमता अभिवृद्धिका लागि चाहिने चिज के-के गर्नु पर्छ भन्ने प्रक्रियामा गयो भने महङ्गो पर्छ।’

गुणस्तरीय खुट्टा बनाउँदा घुडा मुनिदेखि हो भने ५५ हजार रुपैयाँबाट सुरु हुन्छ। त्यस्तै घुँडामाथि काटेको छ भने १ लाख २० हजार रुपैयाँबाट सुरु हुन्छ। उक्त रकममै हुन्छ १५ दिनको तालिम, काउन्सिलिङ र एक वर्षसम्मको मर्मत सुविधा। कृत्रिम हात भने उनले प्रायः निशुल्क उपलब्ध गराइरहेका छन्।

आवश्यक पाटपूर्जा विदेशाट आफैं मगाउनुपर्ने बाध्यता छ। भारत, ताइवान चाइना र जर्मनबाट मगाउँछन् उनी। सरकारले ती सामग्रीलाई वर्गीकरण गरेको छैन्। यी सामाग्री अन्यमा पर्छन्। फम प्लास्टिक सबै त्यहीअनुसार आउँछन्। सोही बमोजिम कर तिर्नु पर्छ। अब त सरकारले एलसी खोल्नु पर्छ भनेको छ। धेरै सामान ल्याउँदा तुरुन्तै खपत हुँदैन। थोरै रकमको एलसी खोल्न कम्पनीले नै मान्दैन।

अर्कोतिर नेपालमा काउन्सिलिङको पाटो निकै दयनीय देख्छन् उनी। ‘खुट्टा काटेपछि दुई/तीन महिनापछि कृत्रिम खुट्टा लगाउन मिल्छ भनिदिन्छ अस्पताल। तर, त्यो दुई तीन महिनामा गर्ने के हो त भन्दैन’, उनी भन्छन्, ‘खुट्टा लगाउन एउटा अवस्था चाहिन्छ। त्यो अवस्थामा कसरी सक्रिय भएर बस्ने त्यो पाटो नै छैन नेपालमा।’

यसरी २/३ महिना अगाडि लगाउनुपर्ने खुट्टा लगाउन ७/८ महिना लाग्छ। त्यो पनि समयमा आएमा। समयमा आएन भने त्यसको क्षमता निकाल्नै सकिँदैन। हस्पिटलले कमसेकम प्रोस्थेटिक्सहरूलाई बोलाएर काउन्सिलिङ गराउनुपर्ने उनको सुझाब छ।

उनकाअनुसार दुई/तीन महिना बेडमा बस्दा मासु सुक्दै जान्छ। भोलि हिँडाउन लाग्दा त्यो मासुले काम गर्दैन। त्यसकारण यो दौरानमा फिजियो थेरापि, फिजिकल थेरापि एकदमै जरुरी छ। ख्याल गर्नुपर्ने यस्ता थुप्रै कुरा छन्। नेपालमा जनचेतना फैलाउने काम हुन सकेको छैन।

विश्व स्वास्थ्य संगठनकाअनुसार विकासोन्मुख मुलुकमा कुल जनसंख्याको ०.५ प्रतिशतलाई यस्तो सेवा चाहिन्छ। यस हिसाबले नेपालमा १ लाख ५० हजार जनालाई यस्तो सेवा आवश्यक छ। नेपाल जस्तो मुलुकमा बेलाबखतको द्वन्द्व, प्राकृतिक विपद र विभिन्न रोगका कारण यो संख्या अझैँ बढी हुन आउँछ। यत्रो जनसंख्या समस्यामा पर्दासम्म नेपाल सरकारलाई अनविज्ञ छ। ऊ मौन छ। यो भन्दा विडम्बना अरु के नै हुनसक्छ ?

सन् २०२१ डब्लुएचओ र एलसिडिएमएको सहकार्यमा नेसनल स्ट्यान्डर्ड अन एसिस्टिभ टेक्नोलोजीसम्बन्धी एउटा पोलिसी तयार पारिएको छ। जहाँ उनले कन्सल्टेन्टका रुपमा काम गरेका थिए। जुन स्वास्थ्य मन्त्रालयबाट पास भइसकेको छ।

नेपालमा सन् २००२ मा ‘प्रोस्थेटिस्ट अर्थोटिस्ट सोसाइटी’ नामक संस्था खुल्यो। जसका संस्थापक अध्यक्ष पनि उनी नै हुन्। यसरी उनले १० वर्षसम्म सर्भिसभन्दा बढी पोलिसिमा केन्द्रित भएर काम गरे। सन् २०१७ देखि सर्भिसमा बढी समय दिन थालेका बज्राचार्य भन्छन्, ‘नीति नियमका कुरा अहिले डब्लुएचओले क्यारी गर्दै छ। सरकारले पनि अब बिस्तारै क्यारी गर्दैछ। गर्नुपर्छ भन्ने कुरा उहाँहरूको नजरमा परिसके जस्तो लाग्छ।’

उनकाअनुसार अहिले पनि एसिस्टिभ टेक्नोलोजी भनेर हातखुट्टा मात्र नभई सबै व्यापक रुपले बाहिर ल्याउन सकिएको छैन।

‘कृत्रिम हातखुट्टामै पनि एउटा पोलिसी बन्नु पर्छ। पछिल्लो समयमा सरकारको क्वालिटी कन्ट्रोल भन्ने निकाय त छ। तर, प्रश्न उठ्छ आखिर हेर्ने को त ? गुणस्तरीयता चेक गर्न र कन्ट्रोल गर्न त्यहाँ कुनै विज्ञ हुनुपथ्र्यो। छैन्’, उनी भन्छन्, ‘सबै कुरा नीतिगत रुपमा केवल कागजमै सिमित छन्।’

उनले यो क्षेत्रमा काम गर्दाका थुप्रै रोचक पक्षहरू छन्। जोरपाटीमा छँदै एकजना हापपाइन्ट लगाई कृत्रिम खुट्टा देखाएरै आए। जुन खुट्टा उनैले बनाइदिएका थिए। ‘भूकम्पको बेला खुट्टा गुमाएका ती भाइका लागि अमेरिकामा रहेका साथीलाई अनुरोध गरी उनकै नापमा रनिङ ब्लेड राख्न लगाएर झण्डै ४ लाखको खुट्टा निःशुल्क फिट गरिदिएका थियौं। अहिले उनी हाइकिङ जान्छन् र बास्केटबल खेल्छन्’, अमित खुसी साथ सुनाउँछन्, ‘उनको उमेरकाले गर्नुपर्ने नर्मल काममा रमाइरहेका छन्।’

त्यस्तै कतार यएरवेजमा काम गरिरहेका अर्जुनले विमानस्थलभित्रै गाडीको ठक्करबाट दुई वटै खुट्टा गुमाउनु परेको थियो। कम्पनीले उनलाई सिङ्गापुरमा लगेर झण्डै ३० लाख बराबरका खुट्टा लगाइदियो। तर बैशाखी बिना हिँड्न सकेनन्। कहाँबाट थाहा पाएर उनी लिम्ब केयरमा आइपुगे। जहाँ आएको दुई महिनापछि बैशाखी विना सजिलै हिँड्न सक्ने भए। अहिले नेपाल आउँदा हरेकपल्ट भेटघाट गर्न आउँछन्।


विदेशीले उनलाई खाेजे उनले नेपाल राेजे


बच्चाहरू डराउँछन् भनेर उनी सेतो कोट र माक्स केही लगाउँदैनन्। दुई/तीन दिनमै बच्चाहरू झुम्मिन्छन्। उपचारपछि ती घर जाँदा उनी भावुक बन्छन्। ‘वर्षौपछि पनि फ्लाेपमा आउँछन्। फोन गर्छन्’, उनी सुनाउँछन्, ‘हाम्रो सम्बन्ध जिन्दगीभरिकै लागि हुन्छ। यस्तो सम्बन्ध अन्य कुनै पनि प्रोफेसनमा पाइदैन।’

नेपालमा आफैंले गरेर खान सकेपछि मात्र हो। उक्त विषय पढेकाहरूले काम पाइरहेका छैनन्। विदेशमा उनीहरूको निकै माग छ। त्यसैले जनशक्ति कम छ यहाँ। उनको कम्पनीमा तीन जना काम गर्छन्।

अमितरत्न कहिले पढाइका लागि दौडे। कहिले जागिरका लागि। कहिले सरकारका दैलोमा नीति निर्माणार्थ दौडे। उनी एकोहोरो दौडिरहे। आज पनि दौडिरहेकै छन्। यतिखेरको दौड भनेकै नेपालमा नयाँ प्रविधि भित्र्याएर दौडिन नसक्ने भनिएकाहरूलाई अझै सहज ढंगले दौडिन सक्ने बनाउनु हो।

प्रकाशित मिति: : 2023-01-14 22:00:00

प्रतिकृया दिनुहोस्

    कृत्रिम हातखुट्टा तथा सहायक उपकरण सम्बन्धि जानकारि मुलक लेख प्रकाशन गर्नुभएको धेरै राम्रो लाग्यो । यस्तो संवेदनशील विषय सम्बन्धि लेखहरुलाई निरन्तर प्रकाशनमा आईरहे सरकारको ध्यान आकर्शित गर्न मद्दत मिल्छ होला ।

    • एक बर्ष अगाडि
    • अनार रत्न बज्राचार्य