‘अपमान’ गरेर बालकोटको बार्दलीमा पुगेका प्रचण्डलाई माधव नेपालले देलान् त साथ ?

कमल प्रभात

काठमाडौं

यही पुस १० गते १ सय ७९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) नयाँ प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागको हुन्।

२ सय ७५ प्रतिनिधिसभा सदस्यहरुमध्ये प्रधानमन्त्री प्रचण्डले १ सय ३८ मत प्राप्त गरेमा मात्रै प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गर्ने छन्, अन्यथा उनी १५ दिनमै प्रधानमन्त्रीको कुर्सी छाडेर खुमल्टारको छतमा सुन्तला खान पुग्ने छन्।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट देशको तेस्रो पार्टीको हैसियतमा पुगेकाे माओवादी अन्तिम समयमा आएर नाटकीय ढङ्गले प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत प्राप्त गर्लान् त भन्नेमा शंका छ।

संसदको पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाएर शोकमा डुबेको नेपाली काँग्रेसको सक्रियताले कतै नयाँ राजनीतिक समीकरण बन्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ। त्यसैले सात दल र ३ स्वतन्त्र सांसद गरी १ सय ७९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड आफूले पूर्ण रुपमा विश्वासको मत प्राप्त गर्ने कुरामा विश्वस्त छैनन्। त्यस कारण प्रधानमन्त्री प्रचण्डले पनि सक्रियता बढाएका छन्।

आफूलाई समर्थन गरेका दलहरुले नै विभिन्न सर्तहरु तेर्स्याएर अप्ठ्यारोमा परेका प्रचण्डलाई के अन्य दलले पनि विश्वासको मत देलात् त? वा अहिले समर्थन गरेका दलहरुले नै विश्वासको मत नदिएर प्रचण्डलाई कुर्सीबाट खुमल्टार पुर्याउने त होइन भन्ने प्रश्न उब्जिएका बेला नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई ‘ग्रिन सिग्नल’ दिएका छन्।

तत्कालीन नेकपा (एमाले)बाट पार्टी विभाजन गराएर नयाँ पार्टी (एकीकृत समाजवादी) खोल्न प्रेरित गरेका प्रचण्डले माधव नेपाललाई काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल गरेर चुनावमा लगेका थिए। गठबन्धनकै बलमा प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी प्रचण्डसँगै सरकारमा जानेदेखि १ वर्षको लागि भए पनि प्रधानमन्त्री बन्ने दाउमा रहेका माधव नेपाललाई अन्तिम समयमा आएर प्रचण्डले लोप्पा खुवाएर ‘जाम’ पनि भनि एमाले अध्यक्ष केपी शर्मा ओलीको बार्दलीमा पुगेर प्रधानमन्त्री बनेका थिए।

नयाँ सरकारको लागि प्रचण्डले आफ्नो पार्टीलाई साथमा नलिएको भन्दै सार्वजनिक रुपमा आफूहरुमाथि ‘अपमान’ भयो भन्दै आक्रोशित बनेका माधव नेपाल प्रचण्डले विश्वासको मत लिने बेलासम्म आइरहँदा सकारात्मक देखिएका छन्।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग बोल्दै व्यक्तिगत रुपमा सकारात्मक रहेको प्रक्रिया दिए। त्यसैगरी नेपालले सोमबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्ड सरकारलाई ग्रिन सिग्नल दिएका छन्।

‘भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको आफैं पनि बहुमत संख्या पुगिसकेको छ। सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्,’ प्रचण्डलाई शुभकामना दिँदै नेता नेपालले भने, ‘हामी चाहँदैनौँ छिनछिनमा सरकारहरु परिवर्तन होस्। विगतको अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ। विगतको शिक्षाबाट राम्रो ढङ्गले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नुपर्छ।’

यति भनिरहँदा माधव नेपालले प्रचण्ड सरकारलाई विश्वासको मत दिने संकेत गरेका बुझिन्छ। पटक–पटक पार्टीकाे बैठक बसेर पनि प्रचण्ड नेतृत्वकाे सरकारमा जाने/नजाने विषयको टुङ्गो लगाउन नसकेको एकीकृत समाजवादीले अन्तिम समयमा आएर साथ दिने सम्भावना देखिएको छ।

यता, मुखैमा आएको सत्ता गुमाएर शोकमा डुबेको काँग्रेसले प्रचण्ड सरकारलाई १ महिनासम्म टिकाएर देखाउन चेतवानी दिँदै सक्रियता बढाएको छ। उसले प्रचण्डलाई विश्वासको मत लिनबाट रोकेर आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल गरिरहेको छ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गरे पनि विभिन्न सर्त राख्दै सरकारमा नगएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी अहिले काँग्रेससँग ‘टच’मा छन्। यी दुई पार्टीले प्रचण्ड सरकारलाई विश्वासको मत दिने/नदिने निश्चित छैन।

त्यस्तै आफ्ना नेता रेशम चौधरीको रिहाइको सर्त राखेर सरकारमा नगएको नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निश्चित छैन।

यता, सरकारमा सहभागी रहे पनि नागरिक उन्मुक्ति पार्टीसँग १२ बुँदे कार्यगत सम्झौता गरेको चन्द्रकान्त राउत (सिके) नेतृत्वको पार्टीले पनि कतै प्रचण्डलाई विश्वासको मत नदिने त होइन? भन्ने आशंका रहेका बेला ढुक्कसँग निदाउनको लागि प्रचण्डलाई माधव नेपालकाे साथ अपरिहार्य छ। त्यसैले माधव नेपालकै शब्दमा भन्दा ‘अपमान’ गर्दै बालकोटको बार्दलीमा पुगेका प्रचण्डलाई माधव नेपालको पार्टीले विश्वासको मत दिएर ‘सञ्जिवनी बुटी’को काम गर्ला त? त्यो हेर्नको लागि भोलि (मंगलबार) दिउँसो ११ बजेको प्रतिनिधिसभा बैठकसम्म कुर्नै पर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-01-09 22:00:00

प्रतिकृया दिनुहोस्