को बन्ला सभामुख ? पृथ्बीसुब्बा, छविलाल र विद्याबीच तीव्र रस्साकस्सी

BreaknLinks
BreaknLinks

सत्ता राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले नेकपा (एमाले)को भागमा परेको राष्ट्रपति र सभामुख पद कसलाई सुम्पेलान् भन्ने चारैतिर चासोकाे विषय बनेकाे छ।

पाँचदलीय सत्ता गठबन्धन भत्काएर सात दलमा उक्लिएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएपछि ‘राष्ट्रपति र सभामुख’ आफ्नो काबुमा राख्न चाहन्छन्।

राष्ट्रपति र सभामुखबारे आमसञ्चार र सामाजिक सञ्जालमा चर्चा–परिचर्चा भइरहँदा एमालेका शीर्ष नेताहरू भने मौन छन्। स्रोतका अनुसार उनीहरू बालकोटको ‘बार्दली’बाट अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रिन–सिग्लन’ पर्खी बसेका छन्।

भावी सभामुखलाई लिएर एमाले वृत्तामा तीनवटा नाम चर्चामा छन्– पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र विद्या भट्टराई। तर अध्यक्ष ओलीले यी तीनै पात्रलाई ‘तिमी नै सभामुख’ भनेर मुख खोलिसकेका भने छैनन्।

उपमहासचिव पृथ्बीसुब्बा गुरुङले बालकोट पुगेर आफूलाई सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवार बनाउन आग्रह गरेका छन्। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री उनी सभामुखका सबैभन्दा तीव्र आकांक्षी हुन्।

‘अध्यक्ष कमरेडले मन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो। तर पीएस दाइले इच्छा देखाउनुभएन। उहाँ सभामुख बन्ने लाइनमा हुनुहुन्छ। अध्यक्ष कमरेड पनि दाइप्रति सकारात्मक भएको बुझेको छु,’ नेकपा (एमाले)का एक पोलिटब्यूरो सदस्यले बिएल नेपाली सेवासँग भने।

पदाधिकारीबीच गुटगत स्वार्थ बाझिँदा एमालेमा राष्ट्रपति र सभामुख पदको छनोट पेचिलो बन्दै गएको छ। अध्यक्ष ओलीले फेरि एकपटक सभामुख बनाउन चाहेका उपाध्यक्ष सुवास नेम्बाङले राष्ट्रपति पद ताकेका छन्। उपमहासचिव गुरुङलाई नै सभामुखको उम्मेदवार बनाएर जान सकिने उनको राय छ।

एमाले स्रोतका अनुसार उपमहासचिव गुरुङलाई सभामुख बन्नबाट रोक्न महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाल र विदेश विभाग प्रमुख डा. राजन भट्टराई लागिपरेका छन्।

‘राजन कमरेड आफ्नो बहिनीलाई सभामुख बनाउन बालकोटतिर दौडिरहनुभएको छ। शंकर कमरेड, विष्णु कमरेड त लाग्नु नै हुने भो! एमालेभित्रको राजनीतिमा यस्तो पनि सम्भव छ। हेरौँ के हुन्छ,’ ती पोलिटब्यूरो सदस्यले भने।

महासचिव पोखरेलले सभामुखमा उपमहासचिव गुरुङको विकल्पमा केन्द्रीय सदस्य विद्या भट्टराईलाई अघि सारेका छन्। उनी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ बाट राष्ट्रिय राजनीतिमा उदाएकी पात्र हुन्।

सभामुख माग्दै बालकोट धाइरहेका महासचिव पोखरेल समूह र उपमहासचिव गुरुङलाई अध्यक्ष ओलीले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। नेत्री भट्टराईलाई अध्यक्ष ओलीले सभामुखको उम्मेदवार बनाउन इन्कार गरे आफ्नै समूहबाट अर्को विकल्प खोज्ने महासचिवनिकट नेताहरूले बताएका छन्। गुरुङ र भट्टराईसँगै एमाले सचिव छविलाल विश्वकर्मा पनि सभामुखको दौडमा छन्।

एमालेको राजनीतिक रंगमञ्चमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूह सतहमा देखिएपनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको जनजाति नेताहरू समेटिएको बेग्लै समूह छ।

अध्यक्ष केपी शर्मा ओलीले तीनतिरबाट तीनवटा समूहको दबाब थेगिरहेका छन्। एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार महासचिव पोखरेलनिकट नेताहरू विद्या भट्टाईको पक्षमा लागेका छन्।

जनजाती नेताहरू उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सभामुख बनाउनुपर्ने बताउँछन्। दलित समुदायका शीर्ष नेता तथा सचिव छविलाल विश्वकर्मालाई उच्च तहको पदमा लैजान एमालेका नेताहरूले दौडधुप थालेका छन्।

प्रकाशित मिति: : 2023-01-04 09:49:00

प्रतिकृया दिनुहोस्