नेपालको संसदीय इतिहासमा एक नयाँ अध्याय थपिएको छ। निर्वाचनको परिणामपछि कुनै तेस्रो दलको नेतृत्वमा पहिलोपटक सरकार गठन भएकाले नयाँ अध्याय थपिएको हो।
वि.स. २०४८ सालदेखि २०७९ सालको अवधिमा सातपटक निर्वाचन भएको छ। जसमध्ये दुईपटक काँग्रेस (२०४८,०५६)को बहुमतको सरकार गठन भएको थियो भने ठुलो दलको रुपमा दुईपटक एमाले (२०५१,२०७४), एक पटक माओवादी केन्द्र(२०६४) र काँग्रेस (२०७०)ले ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गरेको छ। पहिलोचोटी २०७९ मा तेस्रो दलको रुपमा स्थापित माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको हो।
कुनैपनि दलले बहुमत नल्याएको खण्ड ठुलो दलको नेतृत्वमा निर्वाध रुपमा सरकार गठन हुनुपर्ने संसदीय लोकतन्त्रको मूल्य मान्यताअन्तर्गत पर्दछ। यो सर्वमान्य सिद्धान्तलाई काँग्रेसले २०५१ सालमा इमान्दारितापूर्वक निर्वाह गरेको थियो। एमालेले ठुलो दलको हैसियतमा सरकार मात्र बनाएन कि सहज ढङ्गले विश्वास मत पनि पाएकाे थियाे। एमालेले ठुलो दलको सरकार बनाउने परम्परालाई तोड्ने भूमिका खेलेको छ।
भारतमा सन् १९८९ मा को निर्वाचनमा काँग्रेस ठुलो दल बनेको थियो। राजीव गान्धीले बहुमत नपाएकाले सरकार नबनाउने विधिवत रुपमा घोषणा गरेपछि दोश्रो स्थानमा रहेका जनतादलबाट विश्वनाथ प्रसाद सिंह प्रधानमन्त्री बनेका थिए। दुई वर्ष नबित्दै गठबन्धनको सरकार चलाउन असहज भएपछि उनलाई प्रधानमन्त्री हट्नुमात्रै परेन कि राजनीतिबाट विलुप्त हुनु पर्यो।
अहिले, प्रचण्डको अवस्था पनि विश्वनाथकाे जस्तै छ। राप्रपाको राजावादी सोच, रवि लामिछानेहरुको युवावादी सोच र केपी ओलीको उच्च महत्वकांक्षी सोचको मिश्रणबीच प्रचण्डले कसरी नेतृत्व गर्छन् भन्ने जटिल प्रश्न तेर्सिएका छन्।
ओलीको राजनीतिक खेल
‘राज’को अर्थ शासन र उचित समय तथा उचित स्थानमा कार्य गर्ने कलालाई नीति भनिन्छ। यी दुइटै शब्दको मिश्रणबाट राजनीतिको निर्माण हुन्छ। केपी ओली र प्रचण्डले राजनीतिको परिभाषाको उचित समयमा प्रयोग गरी सत्तामाथि नै कब्जा गर्यो। सत्ताको लागि राजनीति कसरी खेलिन्छ? केपी ओलीले खेल्ने काइदा यस्तो हुँदोरहेछ भनेर सिकाएका छन्। ‘एक तिरमा दुई शिकार’ सुनेको थिए। तर, एक तिरमा आधा दर्जन शिकार पहिलोपटक हेर्ने शौभाग्य नेपाली जनताले पाउने भएका छन्।
केपी ओलीको पहिलो तिरको शिकार प्रचण्ड भएका छन्। बाँचुञ्जेल कहिले पनि ओलीको सहयोग नलिने कसम खाएका प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि नतमस्तक गराए। दोश्रो, पार्टी गठन गरेलगत्तै ‘बा’ हरुलाई बिदाइ गर्नुपर्ने, संसद भवनमा छिर्न नदिनका लागि चुनावमा हराउनुपर्ने भनेर अडान लिएका रवि लामिछानेलाई बालकोट दरबारको प्रवेशद्वारमा छिर्नुका लागि आतुर पारे। तेस्रो, शेरबहादुर देउवालाई ठुलो पार्टीको संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पद पाइँदैन। प्रधानमन्त्री बन्नका लागि दूरगामी दृष्टिकोण पनि हुनुपर्छ भनेर ज्ञान प्रदान गरे। चौथो, सातवटै प्रदेशका साथै राष्ट्रपति, सभामुखलगायतका पदमा बर्चस्व कायम, पाँचौँ, यो गठबन्धनको सरकारको सारथी हुँ भन्ने सन्देश प्रवाह र छैठौं केपी ओली झापाली हुन्। झापालीहरुले मुलुकको हरेक क्षेत्रमा त्यसै बर्चस्व कायम गरेको छैनन्, झापालीहरु मौसमको पूर्वानुमान गर्ने विशेष किसिमको क्षमता राख्दछ भन्ने प्रमाणित गरे।
सरकारको मियो ओली
यो सरकारको मियो केपी ओली हुन्। ओलीको समर्थनबेगर यो सरकार तासको घरजस्तै छ। गिरिजाबावुले मनमोहन अधिकारीको सरकारमाथि व्यङ्ग्य गर्दै भन्थे, ‘यो तासले बनेको घरको सरकार हो, ‘फू’ गर्दा लड्छ।’ अहिले प्रचण्ड सरकारको अवस्था पनि उस्तै छ। फरक यति छ कि उतिखेर काँग्रेस प्रतिपक्षमा थियो, अहिले एमालेको खुट्टामा सरकारको निर्माण भएको छ। ओलीको सल्लाहबेगर एक कदम पनि हिँड्न नसक्ने अवस्था प्रचण्डकाे छ। हातखुट्टा बाँधेर पानीमा पौडी खेल्नुपर्ने अवस्थाजस्तै प्रचण्डको अवस्था उस्तै-उस्तै जस्तो छ भनेर विश्लेषण गर्दा हुन्छ।
ओलीले खुट्टा ताने भने सरकार ढल्ने छ। प्रधानमन्त्री बन्नका लागि प्रचण्डले ओलीको साथ छोडेका थिए। पाँच वर्षको कार्यकाल पूरा गर्ने धोको पूरा हुन सकेन। आफ्नो प्रधानमन्त्रीकाे पदका साथै सातवटै प्रदेशको मुख्यमन्त्री पनि गुमाउनुपरेको थियो। ओली इख पाल्ने चरित्रका व्यक्ति हुन्। प्रधानमन्त्री पदबाट हट्नु र पार्टी विभाजनको पीडाबाट गुज्रनुपरेको थियो। ती घटनाहरु यति चाँडै बिर्सने छन् भन्ने कल्पना नगरे हुन्छ। अहिले, ओलीको बलमा प्रचण्डले कुर्सी पाउन सफल भएका छन्। प्रचण्डलाई कुर्सीको पद दिएर नामको प्रधानमन्त्रीमै सीमित पार्नेछन् भन्ने प्रवल सम्भावनालाई नकार्न सकिँदैन।
देउवा अपरिपक्व नेता
अप्रत्यासित रुपमा शेरबहादुर देउवा टुलुटुल हेर्ने अवस्थामा पुगे। उहाँ पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, प्रकाशशरण महत र प्रकाशमान सिंहकै सल्लाहमा निर्भर थियो। अन्तिम समयमा पनि डा. शेखर कोइरालाका साथै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतसँग छलफल आवश्यक ठानेनन्। रामचन्द्र पौडेलको सुझावलाई मानेनन्। कतिपयले ‘देउवाजी चितवनको गैंडाजस्तै सुत्नुभयो। सत्ता हातबाट खुस्किँदै छ’ भन्ने आभाष पनि पाएनन्। देउवाको जग हसाँइ नै भएको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानबाट किन टसमस भइरहेका छैनन्? आखिर कसको बलमा प्रचण्डले अडान लिएका छन्? प्रचण्ड बाहिरिएपछि के गर्ने? भन्ने सम्बन्धमा ठोस रुपमा विश्वासिलो विकल्प नखोज्नु र प्रचण्डको विगतको गतिविधिबाट पाठ सिक्न नसक्नु उनमा अपरिपक्वता छ भन्ने पुनः पुष्टि भएको छ।
केपी ओलीले पुस ९ गते काठमाडौंमा एक कार्यक्रममा आज मध्याह्नसम्म प्रचण्ड नआएकाले ‘अब उहाँको प्रधानमन्त्री बन्ने सम्भावनाको अन्त्य भयाे’ भनेर अभिव्यक्ति दिएका थिए। वास्तवमा, त्यो एक कुटनीतिक चाल थियो। काँग्रेसलाई भ्रममा राखिराख्नका लागि ओलीले सो प्रतिक्रिया दिएको पुष्टि हुन्छ। काँग्रेसका देउवा पक्षले ओलीको सो अभिव्यक्ति सुनेर मख्ख भएका थिए। अब, प्रचण्ड कहाँ जानेछन्? तर, राजनीतिको माहिर खेलाडी प्रचण्डले भित्रभित्रै ओलीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीसँग सम्बन्ध स्थापित गरिसकेका थिए।
प्रचण्ड दौरा सुरुवालमा
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा दौरा सुरुवालमा थिए। यसअघि, दुईपटक कोटपाइन्टमा शपथ लिएका थिए। सधैं कोटपाइन्टमा ठाँट्टिने प्रचण्ड एक्कासी दौरा सुरुवालमा शपथ लिएपछि यसलाई सकारात्मक रुपमा लिइएको छ। रवि लामिछानेहरु संसद सचिवालयमा सांसदको शपथ लिँदा दौरा सुरुवालमा थिए। कतै रवि लामिछानेलाई खुशी पार्नका लागि प्रचण्ड दौरा सुरुवालमा सज्जिएका त होइन भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। नेपालका ‘बा’ दर्जाका नेताहरु अकारण केही गर्छन् भन्ने पत्यार गर्न अलि कठिन हुन्छ।
सामाजिक सञ्जालमा भाइरल भिजुवलहरु
प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कतिपय नेताहरुले विगतमा टेलिभिजनको साक्षात्कार कार्यक्रम र भाषणमा बोलेका कुराहरु यतिखेर, सामाजिक सञ्जालमा भरिभराउ छ। ‘बा’ आर्दरार्थी शब्दको पदवीबाट सुशोभित भएका नेताहरुका बोली-वचनहरु पटक-पटक समयानुकुल फेरिँदै गएको सन्दर्भमा हामी सबै अवगत नै छौं। तर, युवा नेताहरुले जसले जतिखेर पनि पुराना नेताहरुलाई सराप्दै जनतासँग मत मागेका थिए, त्यस्ता युवा नेताहरुले बोलेका कुराहरु बिर्सेको देखेर सर्वसाधारण जनता हत्तप्रभ छन्। के चुनाव जित्न र सत्ता पाउन लागि नै युवा नेताहरुले जोशिला भाषण दिने गरेको हो भनेर प्रश्न उठ्नु किमार्थ गलत होइन।
निर्वाचनअघि प्रचण्डको पत्रकार ऋषि धमलासँगको टिभी साक्षात्कार व्यापक रुपमा भाइरल भइरहेका छन्। सो साक्षात्कारमा ऋषि धमलाको प्रश्नको जवाफ दिँदै प्रचण्डले अब कुनैपनि अवस्थामा ओलीको समर्थन लिएर प्रधानमन्त्री नबन्ने र गठबन्धन नत्याग्ने भनेर पटक दोहराउनु भएको थियो।
रवि लामिछानेले दर्जनौं पटक जोशिलो भाषण र टिभीको साक्षात्कारमा अब ‘बा’हरुको बिदाइ गर्नुपर्छ। उनको भनेका भनाइहरू सामाजिक सञ्जालमा यसरी भाइरल छ, ‘हामीहरुलाई जङ्गली जनावरहरुले पनि मारेका छन्। जङ्गलबाट आउनेहरुले पनि मारेका छन्। हामीहरु जङ्गलराजबाट कहिले मुक्ति पाउने थाहा छैन। किन? प्रचण्ड, ओली र माधव नेपालहरुको सम्पत्ति घटेको छैन। झन् बढिरहेको छ। तपाईं-हामीबाट लुटेको पैसा हो। अब बाहरुलाई बिदाइ गर्नुपर्छ।’
उनले यस्तै जोशिलो भाषण गरी जनताको मत पाएका थिए। सत्ताको लोभ कस्तो हुँदोरहेछ, राष्ट्रका कर्णधार कहलिएका युवा लामिछानेले जङ्गलबाट आउने बालाई शिरोधार्य गरी बडो गर्विलो पद उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेका छन्। अब प्रधानमन्त्री प्रचण्ड र सहयोगी ओलीको सम्पत्तिको छानविनको प्रक्रिया कहिले अगाडि बढाउने हो? गृहमन्त्रालयले उनको नागरिकतासम्बन्धी मुद्धाको छानविन गरिरहेको छ। उनलाई नैतिक रुपमा गृहमन्त्री बनाउनु हुँदैन्थ्यो। तर, उनी गृहमन्त्री नै बने। बाहरुको सम्पत्ति छानविन गर्ने कि आफ्ना नागरिकताको छानविनमा सहयोग पुर्याउने नैतिक प्रश्न उठेको छ।
जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खाँको पनि भाषण भाइरल छ। उनले नेपालमा मुस्लिम शासक गयासुद्दीन तुगलकले सिम्रोनगढलाई कब्जा गरी उपत्यका पनि कब्जामा लिएको भनेर चुनावअघि गर्विलो भाषण दिँदै नेपालको इतिहासकारले यो कुरा लुकाएको भनेर उनले दुखेसो पोखेका छन्।
बाह्रो शताब्दीमा बङ्गालका लुटेरा शासक गयासुद्दीन तुगलक सिम्रोनगढमाथि अकस्मात आक्रमण गरी लुटपाटका साथै हजारौं निर्दोष व्यक्तिको हत्या गर्दै काठमाडौं पुगेर पशुपतिनाथ मन्दिरमा लुटपाट र तोडफोड गरेका थिए। मन्दिरहरु भत्काएका थिए। केही दिनपछि स्थानीयहरु प्रतिकारमा उत्रेपछि त्यहाँबाट फर्केर पुनः करिब ६ महिनासम्म सिम्रोनगढमा शासन गर्यो। त्यहाँ पनि प्रतिकार हुन थालेपछि एकजना उत्तराधिकारीलाई राखेर बङ्गाल फर्केका थिए। ती लुटेराहरुलाई नेपालको इतिहासमा सम्मानसहित विद्यार्थीहरुलाई पढाउनुपर्ने हो?
क्रान्तिकारी भाषण दिने राप्रपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही पनि सामाजिक सञ्जालमा चर्चामा छन्। उनको पार्टी राप्रपाले पनि सशर्त सरकारमा सहभागी हुने निर्णय गरेको छ। सम्भवतः उनी पनि मन्त्री बन्न सक्नुहुन्छ। उनले आफ्नो भाषणमा प्रचण्डलाई आतङ्कारी भनेका थिए। यदि, प्रचण्ड आतङ्कारी हुन् भने पार्टीले कुन आधारमा समर्थन गरेको र सरकारमा जान खोजेको हो? यस्ता युवा नेताहरुले बोल्ने बेलामा होश गुमाउने गर्छन्। यदि, प्रचण्ड त्यस्तो व्यक्ति हुन् भने पार्टीको निर्णयविरुद्ध किन बोल्न आँट गरेनन्?
एउटा कुरा के बुझ्नुपर्छ भने देश हाँक्नका लागि दूरगामी सोच भएका, स्वच्छ छवि भएका र जनताको भावनालाई सम्झने खालका व्यक्ति हुनुपर्छ। युवा हुँदैमा धेरै बढी जानिफकार र इमान्दार हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन। आजभोलिका अधिकांश युवाहरुमा धैर्यताको कमी छ। चाँडै नै धेरै बढी आर्जन गर्ने सोच पनि राख्दछ। हेरौं! युवा मन्त्रीहरुले के कायापलट गर्नेछन्।