प्रतिक्षालय, छत, ल्यामपोष्ट र पर्दा : भोगाइ र यथार्थहरु

विज्ञान राज

सुर्खेत 

प्रतिक्षालय

त्यो एक प्रतिक्षालय थियो, जहाँ बसेर म कसैको प्रतिक्षा अवस्य गरिरहेको थिइनँ। जहाँ यो प्रतिक्षालय अवस्थित छ। उक्त ठाँउमा केही वर्ष पहिलेसम्म डरलाग्दो जंगल थियो। तर आजभोलि यो ठाँउ सुर्खेतकै आर्कषणको केन्द्रविन्दु भएको छ। यहाँ मान्छेको भिड थेगी नसक्नु हुन्छ।

खासमा यहाँ एउटा पार्क बनेको छ। जसको नाम शहिद पार्क हो। स्पष्ट छ, उक्त पार्क शहिदहरुको सम्झनामा बनेको हो। तर ठाउँठाउँमा प्रतिक्षालयहरु पनि बनाइएका छन्। यी कसको सम्झनामा बनाइएका हुन् कुन्नि! माथि डाँडैसम्म पुग्ने गरी भर्याङ्ग पनि निमार्ण हुँदै छ। कसको सम्झनामा यति लामो भर्याङ्ग बन्दै छ कुन्नि!

त्यो एक प्रतिक्षालय थियो, जहाँ बसेर म बेताल रोइरहेको थिएँ।

हो नि, प्रतिक्षालयको आचारसंहिताअनुसार न म कसैको प्रतिक्षा गरिरहेको थिएँ, न म थकानमा नै सुस्ताइरहेको थिएँ। बरु उल्टो म उसको आचारसंहिताविरुद्ध उसैमाथि बसेर केहीबेर अघिदेखि निस्फिक्री रोइरहेको पो थिएँ।

ठिक यसै समयमा शहिद पार्क जाँदै गरेका महिला-पुरुषको झुन्डले आफूभन्दा विपरीत दिशातर्फ फर्किएर प्रतिक्षालय माथि बसेर रोइरहेको मलाई देख्यो। झुन्ड एकछिन रोकियो। ती सबै आत्तिए। केही कानेखुसी गरे। अनि तिनीहरुमध्येकी एउटी महिलाले प्याच्चै भनि, 'हेर त केटीले छोडि क्या। पक्किपक्की रोइरहेको छ। विचराको यस्तो हालत पो बनाइ दि।’

जब यो वाक्य मेरो कानमा पर्यो, मेरो रुवाइ आफ्सेआफ रोकियो। मैले फर्केर हेरेँ। त्यो झुन्ड के के फतफताएर बिलाउँदै हिँडिरहेको थियो। अचानक रुवाइ रोकिँदा झर्न नसकेको मेरो आशु हतारहतार दगुर्यो र बिलाउँदै गरेको झुन्ड माझबाट पसेर उक्त महिलालाई प्रश्न गर्यो तर के पो प्रश्न गर्यो? मैले उतिखेर टाढै भएको हुनाले स्पष्ट सुनिनँ। झन् अहिले त मलाई खास सम्झना पनि छैन।

हो, उसले भनेको साँचो नै हो। निसन्देह म रोइरहेको केटी साथीसङ्गको सम्बन्धमा आएको उतारचढावले गर्दाले नै हो। तर म रुनुमा उक्त महिलाले भनेजस्तो ‘केटीले यस्तो हालात बनाइ दि’ चाहिँ पूर्णरुपमा गलत हो। किनभने, जसरी म यहाँ प्रतिक्षालयको आचारसंहिताविरुद्धमा अझ उसैमाथि बसेर रोइरहेको छु। उता ऊ समाजको आचारसंहिताविरुद्धमा अझ समाजकै घेराभित्र बसेर रुनै पो सकेकी छैन कि? रुन नसकेर छटपटाइ रहेकी मेरी केटी साथीलाई देखेर उक्त महिला के भन्दी हो? के यही भन्दी हो, ‘हेर त बिचरी ! केटाले गर्दा यस्तो हालात भयो। रुनै सकेकी छैने !’

अहँ, उक्त वाक्यले त्यसपछि मेरो आँखामा आँशु भरिन पनि सकेन। केही गरी भरिएर पनि झर्न सकेन। त्यो एक प्रतिक्षालय थियो, जहाँ म त्यसपछि एकछिन पनि बस्न सकिनँ। अचेल आफ्नै कोठामा धुमधुम्ती बस्ने गर्छु। आफ्नै घरको छतमा धुरुधुरु रुने गर्छु।

छत 

हरेक साँझ छतमा आउने गर्छु। कहिले अनेक कुराहरु विचरण गर्दै, कहिले अनेक संगीतहरु सुन्दै। कहिले भर्खरै पढेर सकेको पुस्तकको ह्याङओभरमा घोत्लिँदै। कहिले भर्खरै हेरेर सकेको मास्टरपिस चलचित्रको प्रभुत्वमा मौन हुँदै। भनौँ न, यसरी अनेक भावभङ्गीका साथ म हरेक साँझ छतमा आउने गर्छु।

मुख्य कुरा त प्रतिक्षालयमा मन खोलेर रुन नसकेपछि कोठाबाहेक यही छतमा मैले अनेक छटपटाहट, अनेक रोदन ओकलेको छु। अनि म जस्तोसुकै भावभङ्गीका साथ छतमा आएपनि मैले हेर्ने गौर भएर भनेका दुईटा दृश्य मात्र हुन्। एक शहिद पार्क, अर्को ल्यामपोष्ट। तर ल्यामपोष्ट त केही दिनदेखि बलेको छैन।

के ऊ निभेको हो? नबल्नु भनेको निभ्नु नै हो र? खै किनकिन मलाई उक्त ल्यामपोष्टको हकमा नबल्नु निभ्नु हो जस्तो लाग्दै लाग्दैन। किनभने, मलाई उसप्रति असिम विश्वास छ, रुचि छ र प्रेम छ। हो न हो, उ फेरि एकदिन बल्ने छ। पक्का बल्ने छ। उसलाई बल्नु त छ, छ।

ल्याम्पपोष्ट

हिजोसम्म त राम्रै बलिरहेको थियो। खै किन पो आज त्यो ल्याम्पपोष्ट झिमझिमझिमझिम... गरिरहेको छ !

ल्याम्पपोष्टको अघि चार दिनदेखि लगातार परेको पानीले भिजेको सडक लम्पसार छ। जुनको मधुरो प्रकाशले सडकमाथिको पानी टल्किरहेको छ। सडकमा कसैको आवतजावत छैन। रात एकदम चकमन्न छ। सुनसान छ। लगभग मृतप्रायः जस्तै छ।

सुर्खेतको परिचित टोलको एउटा ल्याम्पपोष्ट चकमन्न रातमा एकनासले झिमझिमझिमझिम...गरिरहेको छ। यसको पूर्णरुपले वेवास्ता गरेर सारा जगत मस्तसंग निदाइरहेको छ। तर म भने उनीहरुसंगै निदाउन छोडेर छतबाट बडो रुचिपूर्ण मुद्राले उक्त ल्याम्पपोष्टलाई हेरिरहेको छु। र सोचिरहेको छु, ‘यसरी त ल्याम्पपोष्टले झिमझिमझिमझिम... नगर्नु पर्ने। कुनै अशुभ समााचारको संकेत त दिन खोजिरहेको छैन?’

अलिपछि मात्र थाहा पाएँ, खासमा त्यो मेरो मनभित्रको परिचित टोलको सडक छेउको ल्याम्पपोष्ट रहेछ। जो एकतमासले झिमझिमझिमझिम.... गरिरहेको छ। र कसैको मनभित्रको परिचित टोलको सडक छेउको ल्याम्पपोष्ट झिमझिमझिमझिम... गर्नुभन्दा अशुभ समाचार अरु के हुन सक्छ?

नभन्दै झिमझिमझिमझिम... गरिरहेको मनभित्रको त्यही एकमात्र ल्यामपोष्ट झ्याप्पै निभेको छ। जसले कति चाँडै मनको अन्तरकुन्तर जताततै अन्धकार पुर्याइसकेको छ। लौ बित्यास ! लौ चौपट !

अझै अरु के के कुराको सामना गर्नपर्ने हो खै, उफ !

सामना

अहो! त्यस साथीसँग छुटेको पनि तीन वर्ष भइसके छ नि! तर बितेको जम्मै तीन वर्षभरि मलाई केबल एउटै कुराले सताइरहेको थियो। त्यो के कुराले भने खासमा म त्यसरी नभाग्नु पर्ने थियो। उसो त, भाग्न त म अझै पनि भागि नै रहेको छु। तर किन भागिरहेको छु? नभए यसको उत्तर मसङ्ग हुनुपर्थ्याे।

मानिस बिनाकारण पनि भाग्दो रहेछ। कुनै खास कारण फेला नपारेपछि यस्तो दार्शनिक उत्तरको साहारा लिन विवश हुन्छ प्रायः आख्यानभित्रको मानिस। भनौँ न म गैर आख्यान मानिस पनि सहारा लिन विवश भएँ।

अहो नि! म भागेँ तीन वर्षसम्म, उत्पातै, उधुमै। तर भाग्दैभाग्दै कता हो कता गएर आज यस पहिरो जाने भिरालो बाटोमा आएर सोचेँ- अब म पटक्कै भाग्दिनँ।

म अहिले उसको ठिक सामुन्ने छु। हामीबीच गहिरो मौनता व्याप्त छ। जब मान्छे कुनै कुराबाट भाग्छ र कुनै दिन सामना गर्न भनेर आउछ, तब त्यहाँ व्याप्त हुने भनेको गम्भीर मौनता मात्र रहेछ। यस्तो अवस्थामा मानिस मौनताको सामना गरोस् कि सामना गर्न भनेर आएको कुराको सामना गरोस्?

सामना र मौनता पर्दा जस्तो भएनन र? हगि !

पर्दा

छत जान छाडेर म अचेल एरिचोक नजिकको एउटा क्याफेमा निरन्तर रुपमा जान थालेको छु। त्यहाँ निरन्तर गइरहनुको एउटै कारण हो, त्यो अन्डरग्राउन्ड छ।

जब तपाईं अन्डरग्राउन्ड क्याफेमा बसेर चिया सुर्काउनु हुन्छ। त्यसमाथि अन्तिम क्याबिनमा बसेर। अझ किशोरी अमोन्करको युट्युबमा उपलब्ध राग भुप लगाएर। तपाईं अवस्य पनि आफ्नो परिवार, साथी, प्रेमिका र अन्य सबै सम्बन्धहरु, अनुबन्धहरु भुल्नुहुन्छ। र कतै शुन्यमा बिलाइ जानुहुन्छ। अक्सर म भुल्ने गर्छु। बिलाउने गर्छु।

तर चियाको कप ल्याइपुर्याउने वटेर केटाहरु सधैँ म बसेको क्याबिनमा सर्भ गर्दा र सर्भ गरेर बाहिर निस्किँदा पर्दा ख्यालै नगरी खुल्लै छोडेर हिँडिहाल्छन्। कहिले मित्रहरु, भाइहरु आउँछन्। आउँदा पनि तिनीहरु पर्दा खुल्लै छाडेर आउँछन्। जाँदा पनि तिनीहरु पर्दा खुल्लै छाडेर जान्छन्। मलाई यी उल्लेखित अवस्थामा उठेर तत्काल र फटाक्से पर्दा मिलाइ हाल्नुपर्ने त हुन्छ नै। गफमा डुबिरहेको बेलामा हावाले छुस्स पर्दा हल्लाए पनि उठेर मिलाउनै पर्ने हुन्छ।

कास पर्दामा ढकढकाउन मिल्ने केही जडान भएको भए? नभए घण्टीसम्म राख्न मिल्ने भए? म अनेक तौरतरिकाले पर्दाबारे गमिरहेको हुन्छु।

नत्र त पर्दा खुल्ला हुँदा अब म उदाङ्गिन्छु जस्तो, अब मेरो सब पर्दाफास हुन्छ जस्तो, अब कसैले छुस्स मेरो चियोचर्चो गर्छ जस्तो, अब कोही मलाई देख्छ र जड भइदिन्छ जस्तो अथवा कोही बेतोडले भाग्छ जस्तो, यावत त्रासिदिमय एठनले नराम्रैसँग फत्तक्क गलाउँछ। गलाएर मरासन्न बनाइदिन्छ।

सोच्छु, कहाँबाट आयो ममा यतिधेरै पर्दा मोह? प्रतिक्षालयमा रुन नसक्दा? मनभित्रको ल्यामपोष्ट झिमझिम गरेर निभ्दा? निभेर फेरि नबल्दा? र तीन वर्षदेखिको एउटा नराम्रो विगतलाई सामना गर्न नसक्दा? सोचिरहन्छु।

प्रकाशित मिति: : 2022-12-29 21:50:00

प्रतिकृया दिनुहोस्