उपराष्ट्रपति फेरि रोल्पाको पोल्टामाः ओनसरी कि जयपुरी ?

रविन भण्डारी

काठमाडाैँ
BreaknLinks
BreaknLinks

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको पाँचवर्षे कार्यकाल सकिँदैछ। उनीहरू फागुन अन्तिममा शीतलनिवास र ग्रीन–हाउसबाट एक साथ बाहिरिँदै छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकार गइसकेकाले निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन मिति तोकिँदैछ।

नयाँ राष्ट्रपति र उपराष्ट्रपतिमा पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन्।

स्रोतका अनुसार एमालेले हालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि दोहोर्‍याउन कानूनी छिद्रको खोजी गरिरहेको छ।

भण्डारीको पहिलो दुईवर्षे कार्यकाललाई संक्रमणकालिन कार्यकालका रुपमा व्याख्या गरेर फेरि पनि भण्डारीलाई निरन्तरता दिने प्रयास भइरहेको छ। 

तर राष्ट्रपति भण्डारीले दुई कार्यकाल पूरा गरिसकेको दाबी गर्दै फेरि राष्ट्रपति पदको उम्मेदवार बन्न नमिल्ने एमालेनिकट एक कानून व्यवसायीयले बताएका छन्।

सत्ता गठबन्धनको पहिलो शक्ति एमालेबाट राष्ट्रपतिका लागि दर्जनौँ आकांक्षी देखिएका छन्। एमाले स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पूर्वअध्यक्ष अमृतकुमार बोहोरा, सचिव छविलाल विश्वकर्मा यतिबेला लबिङमा छन्।

यीमध्ये पूर्वउपप्रधानमन्त्री पोखरेल काठमाडौं–५ बाट पराजित नेता हुन्। शाक्य, ज्ञवाली, बडाल र बोहोरा चुवानी मैदानमा उत्रिएनन्। नेम्वाङ र विश्वकर्मा प्रतिनिधिसभा सदस्य छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमुख्यमन्त्री शाक्य र पूर्वसभामुख नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको छ। 

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनको पनि कार्यकाल सकिँदैछ। माओवादी स्रोतका अनुसार उनी नदोहोरिने लगभग पक्कापक्कीजस्तै छ।

उपराष्ट्रपतिमा माओवादी केन्द्रबाट पूर्वसभामुख अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती र नेत्री जयपुरी घर्तीको नाममा चर्चा थालिएको छ।

पाँचदलीय गठबन्धनभित्र एमालेबाट अष्टलक्ष्मी शाक्यलाई राष्ट्रपति पदका लागि अघि सार्दा माओवादीले उपराष्ट्रपति पदमा सापकोटालाई उम्मेदवार बनाउनेछ। तर सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्दा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ओनसरी वा जयपुरीलाई अघि सार्नेछन्।

माओवादी शीर्ष नेताहरूले उपराष्ट्रपति पदकाे याेग्य उम्मेदवार जयपुरी भएकाे दाबी गर्दैआएका छन्। तर उपमहासचिव वर्षमान पुनले आफू नयाँ सरकारमा मन्त्री नहुँदा पूर्वसभामुख ओनसरीलाई नै उपराष्ट्रपतिकाे उम्मेदवार बनाउनुपर्ने अडान कामयै राखेका छन्। उनी काठमाडाैं–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भइन् भने जयपुरीले यसपटक टिकट नै पाइनन्।

उपराष्ट्रपति फेरि रोल्पाको पोल्टामा पर्दा ओनसरी कि जयपुरी? माओवादी वृत्तमा चासाे छ। ‘फेरि पनि रोल्पाले उपराष्ट्रपति पाउने सम्भावना छ। हेरौँ– जयपुरी कमरेडको कस्तो हुन्छ? अहिलेसम्म राम्रै संकेत छ। ओनसरी कमरेडको पनि चर्चा छ,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने।

प्रकाशित मिति: : 2022-12-28 18:57:00

प्रतिकृया दिनुहोस्