दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन्।
यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको गठबन्धनले बहुमत ल्याएपछि चुनावलगत्तै पार्टी एकीकरण पनि भयो।
तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको दुई वर्षमै आन्तरिक विवादका कारण फेरि अलग भए।
एमाले र माओवादी अलग भएपछि एकअर्काको दल र तिनको नेतृत्वमाथि नेताहरूले औँल्याएका समस्या समाधान नहुँदै फेरि दुई शक्ति एक ठाउँमा आएपछि यो सहकार्यको अवधिबारे चासो सुरु भएको छ।
यो पटक पनि वामपन्थी दलहरूबीचको गठबन्धन पार्टी एकतातर्फ अघि बढ्ला वा यसअघि जस्तै फेरि अलग होला भन्ने फरकफरक आकलन भइरहेका छन्।