प्रचण्डलाई शुभकामना, ओलीलाई बधाई, देउवालाई शुभयात्रा...

ध्रुब बस्याल

काठमाडाैँ
BreaknLinks
BreaknLinks

माओवादी केन्द्रका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुम्दैफिर्दै आफ्नाे जर्सीमा ‘तीन तारा’ थपेर फेरि सिंहदरबार छिर्दैछन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सिंहदरबारलाई ‘बार्दली’मा पुर्‍याएका प्रचण्डले अन्ततः बार्दलीकै दया–माया पाएर सत्ता राजनीतिको यात्रा तय गर्दैछन्। प्रचण्ड देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शपथ सोमबार दिउँसाे ४ बजे हुँदैछ।

आइतबार एकाएक बदलिएको सत्तास्वार्थले कांग्रेस सभापति शेरबहादुर देउवालाई थप चिन्ता थपेको छ। कांग्रेस मुख्यालय सानेपामा सन्नाटा छाएको छ। नेता–कार्यकर्ताहरू सामाजिक सञ्जालमा ‘प्रचण्ड’ चरित्रप्रति खनिएका छन्। सत्ता राजनीतिमा चतुर खेलाडी प्रचण्डलाई एमालेसहित सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका छन्।

उनी यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री भइसकेका छन्। प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको राजनीतिक–चरित्र भनिसाध्यै छैन। उनीहरू सत्ताका लागि जे गर्न पनि तयार छन्–हुन्छन्। पाँच मिनेटअघि बोलेको कुरा पाँच मिनेटपछि बिर्सिन्छन्। प्रचण्डको भनाइमा ‘प्रतिगमनकारी ओली’ आज उनकै राजनीतिक सहयात्री बनेका छन्।

नेपाली राजनीतिमा ओलीपथले राष्ट्रिय–समस्याका रुपमा लिएका प्रचण्ड नयाँ प्रधानमन्त्रीको झण्डा हल्लाउँदै बालुवाटार–सिंहदरबार गर्नेछन्। पुराना राजनीतिक दलका शीर्ष नेताहरूमा मात्रै नैतिकता देखिएन! नैतिकताको प्रश्न त रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनमाथि पनि उठेको छ।

निर्वाचनपूर्वको ‘रवि–राजेन्द्र’ बोली प्रचण्डपथमा समाहित भएको छ। उनीहरू पनि सत्ता घटकका साझेदार बन्दैछन्। शनिबार बेलुकीसम्म ‘प्रचण्डको प्रधानमन्त्री बन्ने सपना उडायो हुरीले’ भन्दै हिँडेका ओली आइबार एकाबिहानै प्रधानमन्त्री बनाउन सहमत भएका छन्।

राजनीतिमा यसैलाई भन्छन् होला, सम्भावनाहरूको खेल! सत्ता राजनीतिमा फर्किएको एमाले उत्साहित देखिन्छ। कांग्रेस सिंहदरबारबाट सडकमा पुगेको छ। सभापति देउवाको राजीनामा माग्न थालिएको छ। ‘आरजु मेडम’को आलोचना गरिँदैछ।

माधवकुमार नेपाल, रामचन्द्र पौडेल र प्रकाशशरण महतका अनेकौँ सपना चकनाचुर भएका छन्। अन्ततः केपी शर्मा ओली र प्रचण्ड फेरि एकठाउँमा छन्। यो यात्रामा सँगसँगै हिँडिरहेका छन्, रवि लामिछाने, राजेन्द्र लिङ्देन, अशोक राई, सीके राउत र रञ्जिता श्रेष्ठ। उनीहरूको एउटै लक्ष्य छ, प्रचण्ड प्रधानमन्त्री आफूहरू मन्त्री।

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा को–को मन्त्री बन्दैछन्, त्यो तमासा हेर्न २–४ दिन कुर्नुपर्ने छ। नयाँ प्रधानमन्त्रीका रुपमा तेस्रोपटक सिंहदरबार जाँदै गरेका प्रचण्डलाई शुभकामना छ। ओलीलाई बधाई। देउवालाई शुभयात्रा। बाँकी हेर्दै गरौँ, रवि लामिछानेहरूलाई बधाई दिँदै गरौँला...!

प्रकाशित मिति: : 2022-12-26 09:21:00

प्रतिकृया दिनुहोस्