उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल र गृहमन्त्रीमा वर्षमान पुनको सम्भावना !

BreaknLinks
BreaknLinks

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित सातदलीय सत्ता गठबन्धन बनाउने पात्रका रुपमा परिचित छन्, एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुन।

दुबैजना सत्ता राजनीतिका चतुर खेलाडी मानिन्छन्। राष्ट्रिय राजनीतिको केन्द्रमा फर्किएको एमाले र सिंहदरबार फर्किएका माओवादी अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले ‘पौडेल–पुन’लाई सँगसँगै लैजाने चर्चा छ।

चारैतिर चासो छ, प्रचण्डले ‘सिंहदरबार टिम’ कस्तो बनाउँलान्! स्रोतका प्रधानमन्त्री प्रचण्डका वरिपरि उपाध्यक्ष पौडेल र उपमहासचिव पुन हुनेछन्।

आज ४ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्रीसहित अन्य केही मन्त्रीको सपथग्रहण हुँदैछ।

स्रोतका अनुसार एमालेको नेतृत्व गरेर उपाध्यक्ष पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट पौडेललाई सरकारको नेतृत्वमा पठाउने आन्तरिक तयारी गरेका गरेका छन्। 

‘विष्णु पौडेलकाे नेतृत्वमा नेकपा (एमाले) सरकारमा जाँदैछ। उहाँ सम्भवतः उपप्रधानसहित अर्थ मन्त्रालयमा जानुहुन्छ। संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी पनि उहाँकै हुनेछ,’ एमालेका एक केन्द्रीय सदस्यले भने।

त्यस्तै, गृहमन्त्रीका रुपमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको सम्भावना छ। उनी गृहमन्त्रीकाे तीव्र आकांक्षी छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन भत्काएका नेता पुनलाई एमाले अध्यक्ष ओलीले गृह मन्त्रालय सुम्पिने राजनीतिक वृत्तमा चर्चा छ। ‘वर्षमान कमरेडलाई अध्यक्ष कमरेडकाे दया–माया नै छ। उहाँकाे गृहमन्त्री बन्ने चाहना एमालेले राेक्छजस्ताे लाग्दैन,’ एमालेकै एक पदाधिकारीले भने।

तर, एमालेबाट गृहमन्त्रीको रुपमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सम्भावनाको घेराभित्र राखिएको छ।

प्रकाशित मिति: : 2022-12-26 08:08:00

प्रतिकृया दिनुहोस्