गतवर्ष क्रिसमसको पूर्वसन्ध्यामा भत्केको गिरिजाघर बाहिर टोलाइरहेकी छिन्, ३३ वर्षीया रितुमाया। उनी दुई महिनाअघि कर्मभूमि थाइल्यान्डबाट जन्मभूमि म्यान्मार फर्किएकी ‘बर्मेली–नेपाली’ हुन्।
थाइल्यान्डको दैनिकी बेग्लै थियो। उनी त्यहाँ सात वर्षदेखि रमाइरहेकी थिइन्। ‘काम–दान’को चिन्ता थिएन। तर बा–आमाले पटकपटक गरेको बिन्ती नकार्न सकिनन्। अनि रितुमाया गाउँ फर्किइन्।
उनी म्यान्मारमा बढ्दै गइरहेको क्रिश्चियन धर्म मान्छिन्। रितुमायाको नाम ‘रितुमाया’ होइन। उनको नाम र थर अर्कै छ। उनी बर्मेली नेपाली समाज र आफ्नो परिवारको आँखाबाट आफ्नो नाम लुकाउन चाहन्छिन्।
क्रिश्चियनकर्मीहरू ‘क्रिसमस इभ’मा रमाइरहेका छन्। तर रितुमाया चिन्तित छिन्। संसारभर ‘इभ’को उत्साह चलिरहँदा प्रभुको आस्थामा बाँचिरहेकी उनी भत्केको गिरिजाघरको आँगनमा पुगिन्।
घरदेखि १५ मिनेट टाढाको त्यो गिरिजाघर म्यान्मार सेनाले भत्काइदिएको छ। गतवर्ष क्रिश्चियनकर्मीहरू भेला भएको मौका छोपेर म्यान्मार सेनाले देशभरिका दर्जनौँ गिरिजाघर लक्षित हवाई आक्रमण गरेको थियो। त्यो आक्रमणबाट कैयौँ गिरिजाघर ध्वस्त भए। धेरै मानिसहरू मारिए।
रितुमायालाई यस्तो अवस्थामा देश फर्किनु परेकाेमा पछुतो छ। आफूसँगै पाँच वर्षअघि हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेका अन्य नेपाली भाषी र रैथाने बर्मेली साथीभाइ तथा दिदीबहिनीहरू थाइल्यान्डमै छन्। उनीहरू त्यहाँ रमिरहेका छन्।
रितुमाया एक्लै द्वन्द्वग्रस्त म्यान्मारको एउटा कुनामा बस्दै आएकी छिन्। तर उनी सामाजिक सञ्जालमार्फत् ‘क्रिसमस डे’ को शुभकामना बाँड्छिन्। रितुमाया भत्केको गिरिजाघरबाट अघिल्लो वर्ष बैंककमा मनाएको ‘क्रिसमस इभ’को सम्झना गर्छिन्।
म्यान्मारमा लाखौँ रितुमायाहरू छन्, जसले राम्रोसित दशैं, तडिन्चुड, तिहार, ढसाउँडाइ, तीज, तिन्जान, क्रिसमस मनाउन सकिरहेका छैनन्। म्यान्मारको सत्तासीन सेनाले जताततै आतंक मच्चाएको छ।
अघिल्लो वर्ष क्रिसमसको पूर्वसन्ध्या अर्थात् डिसेम्बर २४ मा मोसो सहर नजिकै एउटा गिरिजाघरमाथि सेनाले हवाई आक्रमण गर्दा बालबालिकासहित कम्तीमा ३५ जनाको मृत्यु भएको थियो। सेनाले थान्टलानबस्ती ध्वस्त बनाएको थियो। क्रिश्चियनका अनेकन गाउँहरू ध्वस्त भएको छ।
त्योबेला आफ्ना दुई छोराछोरी गुमाएकी एउटी आमाको कहालीलाग्दो कथा संसारले पढ्यो। तर म्यान्मार सैन्य ‘कू’को अन्त्यका लागि कसैले केही गर्न सकेन।
गतवर्षको ‘क्रिसमस डे’ले म्यान्मारमा थप पीडा थपेको छ। मानिसहरू बास र गास खोज्दै जंगलतिर भौतारिरहेका छन्। यस्ता जातीय तथा धार्मिक वर्षको के कुरा गर्नु, बर्मेलीहरूलाई दैनिकी काट्नै मुस्किल छ। कतै शरणार्थी बन्ने उपाय नदेखेर सहर, सहर भीखमाग्न बाध्य भएका छन्।
सत्ताको साँचो हातमा लिएको म्यान्मार सेना बौद्धमार्गी भएपनि ‘रुप र सार’मा क्रूर छ। हिन्दूवादीलाई केही हदसम्म दया देखाए झैं लाग्छ। तर क्रिश्चियन वा रोहिंगाहरूलाई खोजीखोजी पीडा दिँदै आएको छ भन्नु अत्त्युक्ति नहोला।
म्यान्मारमा नेपालीभाषीहरू पनि क्रिश्चियन प्रभावमा फस्दै गइरहेका छन्। म्यान्मारका नेपालीभाषीसहित संसारभरका क्रिश्चियनकर्मीहरूलाई ‘क्रिसमस डे’को शुभकामना छ। ‘रितुमाया दिदी’लाई धेरै–धेरै शुभकामना छ।