भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीबासीले छोरा तिहार पनि मनाएका छन्।
नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वीतीयका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणहरुले धुमधामका साथ मनाएका हुन्।
आजको दिनमा बिहानै आमा र छोरा दुबैले नुहाइ-धुवाइ गरेर छोराहरुले आमाको हातबाट टिका थाप्ने प्रचलन रहेको छ।
भाइ टिका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा फुलको माला र सगुनको रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनिरोटी जस्ता परिकारहरुसहित छोरालाई टिका लगाउने प्रचलन छ।
टिका लगाइसकेपछि छोरालाई सुख, शान्ति दीर्घायु र प्रगतिको कामना गर्दै आर्शीवाद दिने गरिन्छ। छोराले पनि आमाको टिका र आशीर्वादपछि दक्षिणाको रुपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोशेली दिएर गोडामा ढोक्ने गरिन्छ।
आमाको हातबाट टिका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोराहरु पनि आजको दिन जसरी पनि घर पुग्ने गर्दछन्।
कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरुले फोनलगायतका विभिन्न माध्यामबाट आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोशेली छुट्याएर राखिदिने गरिन्छ।
छोरा तिहारमा आमाको हातबाट टिका थापिसकेपछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भाइ टिकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ।
यसरी भैलो खेलेर उठेको रकमबाट धारा,पधेँरा,बाटो लगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट(पाठीभात)बनभोज जाने गरिन्छ। आजको दिनमा महिलाहरु पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एक अर्काको पिर-व्यथा साटासाट गर्ने गर्दछन्।
डोल्पालगायत कर्णालीका अन्य जिल्लाहरुमामात्र मनाइने छोरा तिहार नेपालमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए।
परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाई छ।
'पहिला पहिला धेरैजसो मान्छेहरु गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो, अहिले धेरै मानिसहरु सहर-बजारमा छन्। कतिपय जागिर र काम विशेषले जिल्ला बाहिर छन्। त्यही भएर पनि पहिलाजस्तै रौनक छैन', देवकोटाले भने।
'प्रत्येक वर्ष गाउँघरमा मान्छेको जमघट छैन, धेरैजसो छोराहरु बाहिरछन्। त्यसैले छोरा तिहारलगायतका प्राचीन चाडपर्वहरु लोप हुने अवस्थामा छन्', उनले थपे।
भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिन्छ भने र आज खेलिने भैन्दा देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ।
भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वन भोज खाने प्रचलन रहेको समेत उनले बताए।
छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठ मन्दिरहरुमा गएर पुजारीको हातबाट टिका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन्। छोरो तिहारमा खेलिने भैलोको केही अंश यस प्रकारको छ।
आउँशीया बार, भैलो
दरमुद बार, भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली, भैलो
बाँस भित्र, भैलो
आर्या न तार्या, भैलो
पिपलु पाती, भैलो
रायकी छाती, भैलो
बाखरी खानु, भैलो
त्यो बाखरी कसो सुवाला, भैलो
कसो सुवाला, भैलो
भैलो दिने घरीनाको एककान सुन छ, भैलो
एक कान मोती, भैलो
सूर्यकी ज्वती, भैलो
भेडो दिन्नन् डोर्याइए ल्याउला भैलो,घोडो दिन्नन चढी ल्याउँला,त्यहीँ पर जाउँला पिरती लगाउँला भैलो
पिरतीका बार, भैलो
आकाश जरा, भैलौ,
पात्तला शिला, भैलो