मध्यपुर थिमि नगरपालिका प्रमुखलाई प्रश्न: जनताकाे पैसा लिएर भाग्ने सहकारीलाई किन कारबाही नगरेकाे ?

उमेश थापा

काठमाडौं

अहिले जताततै सहकारीहरु दिनहुँ भाग्दै छन। अहिले सहकारीहरु टाट पल्टिसकेको छन् भन्दा पनि केही फरक पर्दैन।

सर्वसाधारणले आफ्नाे पैसा सहकारीबाट निकाल्छु भन्दा पनि पाएका छैनन। सहकारी सञ्चालकहरु धेरै नै भागिसकेका छन् भने खुल्ला भएका सहकारीहरुले बचतकर्तालाई आश्वाशन मात्र दिइरहेका छन।

जनताको पैसा त्यत्तिकै खान मिल्छ ? सहकारी डुब्नुका मुख्य कारण परिवार, घर, गाडी, जग्गा र मिटर व्याजमा लगानी गरेर हो। यस्तो ठाँउमा धेरै लगानी गर्न सहकारीलाई कसले भन्यो ? जनताको पैसा त्यतिकै जहाँ कहीँ लगेर डुबाउन मिल्छ ? यी र यस्तै विषयमा रहेर मध्यपुर थिमि नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानी प्रस्तुत:


तपाईंको क्षेत्रमा दर्ता भएका थुप्रै सहकारी भागिराखेको छन् हाे ?

यो गलत हो। हाम्रो क्षेत्रमा भएका सहकारीहरु भागेका छैनन। जुन-जुन सहकारीहरु प्रदेशमा दर्ता भएर यहाँ सञ्चालनमा थिए तिनिहरु भागेका हुन।

हाम्रो नगरमा दर्ता भएका सहकारी भागेका छैनन।

तपाईंको क्षेत्रभित्र पर्ने सहकारीहरुको अनुगमन भएको छैन नि ?

बल्ल त स्थानीय तहलाई जिम्मेवारी दिएको छ। सबै सहकारी सञ्चालकहरुलाई नगरमा बोलाएर छलफल गरिसकेका छौँ। अनुगमन पनि भइराखेको छ।

आजको भोलि हुने काम त होइन नि। कार्यविधि बनाएको पनि त भर्खरै हो। हाम्रो नगरबाट गर्ने काम हामीले गरिराखेका छौं। हामीले ३५ दिने सूचना प्रकाशन गरिसकेका छौं तर हाम्रो नगरमा दर्ता भएका सहकारीहरुको हामीले निगरानी राखेका छौँ।

एक हप्ताअगाडि तपाईंको क्षेत्रको एउटा सहकारीले २५ करोड पैसा लिएर भाग्यो, भाग्ने सहकारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढ्यो ?

पहिला सुरुमा हाम्रो नगरमा दर्ता भएको सहकारीले यस्तो गरेको होइन। भाग्ने सहकारी प्रदेशमा दर्ता भएको हो। जनताको पैसा लिएर भाग्नु हुँदैन। मलाई यो विषयमा त्यति थाहा त छैन तर त्यस्ताे गरे कारबाहीको भागिदार हुनुपर्छ। जनताको पैसा लिएर भाग्नु हुन्न।

तपाईंंको नगरमा दर्ता भएका सहकारीहरु कति नराम्रो परिस्थितमा छन् ?

म के भन्छु भन्दा हाम्रो नगरमा दर्ता भएको सहकारीहरु सबै राम्रो स्थितमा छन। होला, नगरमा दर्ता नभएका सहकारीहरुले नराम्रो गरे होलान तर हाम्रो क्षेत्रमा दर्ता भएका सहकारीहरु नराम्रो गरेका छैनन्। नगरमा दर्ता भएका सहकारीहरुसँग हामी समन्वय गरिराखेका छौं, त्यसकारण पनि हामीलाई थाहा छ कि नगरमा दर्ता भएका सहकारीको ठिक छन्। अब त्यसबाहेक अन्य निकायबाट दर्ता भएकाहरुको अवस्था त्यति थाहा छैन। सुनिन्छ, सहकारीको भागिरहेका छन् भनेर तर मेरो क्षेत्रभित्र पर्नेहरुको अवस्था स्वच्छ छ र नगरमा दर्ता भएका सहकारीहर भागेका छैनन्।

प्रकाशित मिति: : 2022-12-21 10:10:00

प्रतिकृया दिनुहोस्