लेबनानी मूलका विश्वविख्यात अमेरिकी साहित्यकार खलिल जिब्रान धेरै बाँचेनन् । ४८ वर्षको अल्पायुमा कार दुर्घटनामा उनको मृत्यु भयो । उनी विश्वप्रसिद्ध कवि, कलाकार, साहित्यकार र दार्शनिक हुन् । यद्यपि, उनी आफूलाई दार्शनिक भनाउन तयार भएनन् र यो उपाधिलाई अस्वीकार नै गरे ।
उनले भनेका छन्, ‘विभिन्न चोट सहेर नै मजबुत मान्छे पैदा हुन्छ । त्यसैले हरेक महान् चरित्रका शरीरमा घाउको निसानी हुन्छ ।’ उनी अगाडि भन्छन्, ‘तिमी अविचलित रूपमा अघि बढ, किनभने अघि बढ्नु नै पूर्णता हो । यात्रामा तिमीलाई घोच्ने काँडासँग नडराऊ, किनकि उसले केवल विषालु रगत मात्र निकाल्छ ।’ कस्तो कालजयी विचार ! यसलाई सार्वकालिक र सार्वदेशिक विचार मान्न सकिन्छ । यो व्यक्ति, संस्था र देश सबैको हकमा लागू हुन्छ । यसले दर्साउँछ वा प्रमाणित गर्छ कि उनमा भएको उर्वर चिन्तन र काव्यचेतले कविता मात्र जन्माएन, जीवन र जगत्का सम्पूर्ण आयामबारे सघन चिन्तनका माध्यमबाट संसारलाई दिशानिर्देशसमेत गर्यो ।
यो प्रसंग किन उद्धृत गर्न खोजेको हो भने नेपाली राजनीतिले आजसम्म मूलबाटो समात्न सकेन । यसको कारण अरू केही होइन । पहिलो कारण नेपालजस्ता देशमाथि शक्तिशाली राष्ट्रहरूको थिचोमिचो नै हो भने अर्को कारण नेपालमा अपनाइएका राजनीतिक प्रणाली हुन् ।