नेप्लीज अमेरिकन नर्सिङ एसोसिएशन (नाना) को दशौं वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ।
सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ।
अमेरिकामा कार्यरत नेपाली मूलका नर्सहरुको छाता संगठनको रुपमा कार्य गर्दै आएको यस संस्थाको उपाध्यक्षमा नीमा शेर्पा, सचिवमा नविना आचार्य, सहसचिवमा उर्मिला खड्का थापा, कोषाध्यक्षमा सनिता दास परियार र सह कोषाध्यक्षमा लामु लामा चयन भएका छन्।
त्यसैगरी सदस्यमा सबिना श्रेष्ठ, रिता श्रेष्ठ, सबिना लामिछाने वाग्ले, लक्ष्मी भण्डारी, सारिका थापा, आङ याङकी शेर्पा र सुमित्रा बोहरा चयन भए।
नेप्लीज नर्सिङ एसोसिएशनका निवर्तमान अध्यक्ष पूर्णदेवी महर्जनले अमेरिकामा रहेका नेपालीमूलका नर्सहरुको वृत्ति विकासको लागि संस्थाले काम गर्दै आएको बताए।
संस्थाले कोभिडको समयमा पनि नेपालका १४ वटा अस्पतालमा मास्कलगायत समान वितरण गरेको जनाउँदै महर्जनले भने, 'हाम्रो संस्थाले अमेरिकामा रहेका नर्सहरुको वृत्ति विकाससंगै नेपालको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पनि सहयोग पुर्याउदै आएको छ।'