भारतको कोलकत्तामा हुने कराँते वर्ल्डकप खेल्न हिँडेका नेपाली खेलाडीहरु कञ्चनपुरको महेन्द्रनगरमा अलपत्र परेका छन्।
यही डिसेम्बर १७ र १८ तारिखमा हुन लागेको कराँते वर्ल्डकप खेल्न हिँडेका ३५ खेलाडी प्रशिक्षक अभिषेक सिंहको लापरबाहीका कारण अलपत्र परेका हुन्।
काठमाडौं, बारा र बैतडीबाट महेन्द्रनगर आइपुगेका खेलाडीहरु प्रशिक्षक सिंहले बोलाएर महेन्द्रनगर आएकाे तर प्रतियाेगिता सुरु हुनै लाग्दा बाटाेमै अलपत्र परेकाे विशेष स्राेतले जनाएकाे छ।
‘यहाँ बाेलाइसकेपछि कोचले आयोजकको मृत्यु भएकाले म्याच नहुने भन्नुभयो तर हामीले आयोजकसँग बुझ्दा त कोचले झुट बोल्नुभएको रहेछ। आयोजकले आनुहाेस् खेल्न पाइन्छ भन्छ तर हामीसँग पैसा छैन कसरी जानु ?,’ नाम नखुलाउने सर्तमा एक खेलाडीले बिएल नेपाली सेवासँग भने।
प्रतियाेगितामा नेपाली टाेलीले सहभागी हुन पाउने भए पनि प्रशिक्षक सिंहकाे लापरबाहीले ३५ खेलाडी सहभागी हुनबाट बञ्चित भएका हुन्।
तर, प्रशिक्षक अभिषेक सिंहले भने खेलाडीको आरोप अस्वीकार गर्दै पानीमाथिकाे ओभानाे बन्न खाेजेका छन्। ‘हाम्रा खेलाडीहरुलाई अलपत्र पार्न हामीलाई पनि रहर छैन। हामीले खेलाडीहरुलाई खान, बस्नको राम्रो सुविधा दिएर घर पठाइसकेका छौँ, केही समस्या छैन,’ सिंहले भने।
उनले काेही खेलाडी अन्यायमा परेकाे जस्ताे लागेमा आफूविरुद्ध मुद्दा हाल्नसमेत चुनाैती दिएका छन्। अन्तिम समयमा आएर आयोजक फ्रड भएको र उनीहरुले आफूहरुलाई अनेक बहानामा देखाएर लुटन खोजेको थाहा पाएपछि आफूहरु सहभागी नहुने निष्कर्षका पुगेको उनको भनाइ छ।
‘खेलाडीहरुको लागि ट्रयाक (ड्रेस)समेत बाँडिसकेका थियौं, माला खादासमेत किनिसकेको थियौं तर आयोजकले धोका दियो,’ उनले भने, ‘आयोजकले हाम्रो ३ लाख ५३ हजार रुपैया समेत डुबाइदियो।’