डान्स बारमा रातभरि बबाल: कसरी निदाउँछन काठमाडौैंका सीडीओ ?

उमेश थापा

काठमाडौं

सरकारले मनोरञ्जनात्मक क्षेत्र सञ्चालनमा समय थप गरेको छ। दोहोरी साँझ र डान्स बारलाई राति १२ बजेसम्म, लाइभ म्युजिकलाई राति २ बजेसम्म र क्लबहरुलाई बिहानको ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेकाे छ।

यी क्षेत्रहरु राति अबेरसम्म खुल्ला रहँदा व्यवासायिक फाइदा त हुन्छ नै तर यसकाे सामाजिक असरहरु भने बढ्ने निश्चित छ। मनाेरञ्जनात्मक क्षेत्रहरुमा रातिसम्म माहाेल तातिरहँदा जाँडरक्सी खाएर बबाल मच्चाउने, कुटपिट गर्ने, हाेहल्ला गर्नेलगायका कार्यहर झनै बढेर जान्छन्।

यसले थप बेथिति मच्चिने निश्चित छ। पहिला डान्स बार, दोहोरी साँझहरुको खोल्ने समय कम थियो। दोहारी साँझ १० बजेसम्म भने डान्स बार १२ बजेसम्म मात्रै खाेल्न पाइथ्याे। सुरक्षामा खतरा देख्दा देख्दै पनि किन सरकारले याे चुनाैतीकाे सामाना गर्न तयार भयाे ? यसले अपराधजन्य र गैरकानुनी क्रियाकलाप निम्त्याउने कुराकाे ज्ञान हुँदा हुँदै काठमाडाैँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले व्यवासायीहरुकाे पक्षमा याे निर्णय गरिदिए।

काठमाडौंका प्रजिअ उपाध्यायलाई त फाइदा भयो होला तर यसले अरुलाई कति असर गर्छ भनेर सोचेनन्। जति पनि डान्स बार, दोहारी साँझ, लाइभ म्युजिक र क्लब हाउसहरु छन् ती सबै घना बस्तीको बिचमा छन्। यी क्षेत्र रातभर खोल्ला रहँदा आसपासका मानिसहरुलाई असर पर्छ। दिनभर काम गरेर राति थकाइ मार्न पनि गाह्राे। डान्स बार, दोहारी साँझ, लाइभ म्युजिकहरुको आवाजले कसरी सुत्न देला र ?

सरकारको यो निर्णयले जनता थकाइ मार्न र आराम गर्नबाट बञ्चित भएका छन्। यी व्यवसायहरु रातभरि खोल्दा घरपरिवारमा निकै असर पर्छ। राति बुवा आमा, छोराछोरी घरमा अबेला आउँदा परिवारलाई चिन्ता हुन्छ। छोरीछोरी रातभरि बाहिर हुँदा घरपरिवारमा कति तनाव हुन्छ ? सरकारले घरपरिवार बिगार्ने काम गरिरहेको छ।

राति जाँडरक्सी खाएर सवारी साधन चलाउँदा दुर्घटना हुने जोखिम बढी हुन्छ। सरकारले कहाँ कहाँ सुरक्षा दिने ? दिनहुँ डान्स बार, दोहारी साँझ, लाइभ म्युजिक र क्लबहरुबाट झगडा गर्ने थुप्रै मानिसहरु पक्राउ पर्छन्। सँग सँगै सडक दुर्घटना पनि दिनहुँ बढ्दै जान्छन्। दिउँसो सडक दुर्घटना भयो भने ट्राफिक प्रहरी वा त्यहीँका मानिसहरुले उठाएर अस्पतालसम्म पुर्‍याउँछन् तर रातिमा मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा ज्यान जान सक्छ। राति न त ट्राफिक हुन्छ, न त दिउँसो जस्तै मानिसहरु।

रातभरि यो क्षेत्र खोल्न दिँदा फाइदा होइन क्षति बढी हुने देखिन्छ। राति ९ बजेपछि हरेक व्यवसाय बन्द गराउनुपर्छ। बन्द वा समय कम गर्नुपर्ने ठाउँमा किन जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रजिअ उपाध्याय समय थप गरे। सजिलै बुझन् सकिन्छ कि मोटो रकमको चलखेल भएको छ, भनेर। नत्र भए जनताहरु हितमा फैसला हुन्थ्यो होला नि।

सरकारले एकतर्फी व्यवसायीहरुको मात्र कुरा सुनेर निर्णय गरिदियो। तर, सरकारले त्यसको दोस्रो पाटो हेरेन। व्यवसायीहरुले कर तिरेको छन् भन्दैमा समाज बिगार्न मिल्छ र ? यी व्यवसायीहरुले समाज बिगार्न काम सँगै जनताहरुलाई ठग्ने काम गर्दै आएका छन्। यी क्षेत्रमा पाउने सामानको मूल्य बाहिरभन्दा तीन गुण बढी हुन्छ। सरकार यी क्षेत्रलाई अनुगमन गर्न पनि पछि हट्छ, मूल्य निर्धारण पनि गर्न सक्दैन।

सरकारले गरेको यो निर्णयको सर्वसाधारणहरुले चौतर्फी विरोध गर्न थालिसकेका छन्। मनोरञ्जन दिने भनेर उपत्यकाभित्र सञ्चालन भएका यस्ता व्यवसायलाई हटाउन वा बन्द गर्न जनताहरुले नै आवाज उठाउनुपर्छ।

डान्स बारहरुमा मानिसहरु नराम्राेसँग ठगिन्छन्। बाहिर पाँच सय मूल्य पर्ने सामान त्यहाँ दुईदेखि तीन हजार पर्छ। किन यत्रो महँगाे भनेर ग्राहकले भन्यो भने उल्टै थर्काएर लुट्छन्। यी क्षेत्रमा काम गर्नेहरु गुण्डा पालेर बसेका हुन्छन्।

अहिले दोहोरी साँझहरुमा सभ्य गीतभन्दा नराम्रो गीतहरु बढी गुञ्जिन्छन्। मूल्यको कुरा गर्ने हो भने डान्स बारको दर जस्तो नै हो।

काठमाडौँमा क्लबहरु धेरै छन्। एउटा कुनै क्लबमा छिर्न पनि सुरुमा पेसा तिर्नुपर्छ, एक हजारदेखि दुई हजारसम्म। खानु न पिउनु सुरु मै पैसा तिर्नु पर्ने कस्तो नियम हो ? नत्र बाहिर बस्ने सेक्युरिटी गार्डलेभित्र छिर्न दिँदैन। क्लब छिर्न उमेर हद तोके पनि पैसा कमाउन कम उमेरको बालकलाई पनि भित्र छिराउँछन्। क्बलमा जुनै पनि सामानको मूल्य निकै महँगो हन्छ।

महंगो, बालकबालिका छिराउने, नेपाल प्रहरीमाथि हातपात, झगडा गर्ने र अन्य कार्यहरु हुने ठाउँको लागि समय थप्नु गलत हो। प्रजिअ उपाध्यायले यसलाई रोक लगाउनुपर्छ। रातिको समय थप गर्नु हुँदैन, यसलाई झन् घटाउनुपर्छ।

जाँडरक्सी खाएर हाेहल्ला गर्नेलाई किन र कसरी सुरक्षा दिने ? अहिले पनि अधिकांश डान्स बार, दोहारी साँझ, क्लबहरु बाहिर नेपाल प्रहरी खटाइएको हुन्छ। सञ्चालन गर्ने समय कम गरियो भने यस्तो ठाँउहरुमा नेपाल प्रहरी त खटाउनु त पर्दैन। खोइ त सरकारको घैंटाेमा घाम लागेको ?

नेपाल प्रहरीको काम यस्तो ठाँउहरुमा गएर कुर्ने हो ? अझै जँड्याहरुले कतै सुरक्षाकर्मीलाई नै हातपात गरेका छन्। सरकारले कडा कानुन बनाउँदा यी क्षेत्रमा भएका विकृतिहरु कम हुने थिए।

जति पनि अपराधजन्य घटना घटेको छन् तीमध्ये अधिकांश जाँडरक्सीले गर्दा नै हो। जाँडरक्सीकै लतका कारण घरमा झगडा हुन्छ। यस्ता घटना हुनबाट रोक्नका लागि पनि सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्छ।

प्रकाशित मिति: : 2022-12-15 20:00:00

प्रतिकृया दिनुहोस्