अमेरिकी सिरियल किलर : जाे मानिसकाे हत्या गरेर बर्गरमा मासु राखेर बेच्थे

Photo: Agency
Photo: Agency

तपाईंहरूले विभिन्न थरीका सिरियल किलरकाे बारेमा त सुन्नुभएकै हाेला? तर के यस्ताे सिरियल किलरकाे बारेमा सुन्नुभएकाे छ? जाे मानिसकाे हत्या गरेर मानिसकाे मासु बर्गरमा राखेर बेच्थे। उनी हुन्, जोसेफ रोय मेथेनी।

जोसेफकाे जन्म सन् १९५५ मार्च २ मा अमेरिकाकाे मेरिल्याड राज्यकाे बाल्टिमोर सहरमा भएकाे थियाे। जोसेफ बाल्यकालदेखि नै पढाइमा निकै तेज थिए। उनी पढाइमा तेज भएपनि राम्राेसँग पढ्न पाएनन्। उनका बुबा सधैँ रक्सीकाे नशामा हुन्थे। बुबाकाे यस प्रकारकाे बानीले जोसेफलाई निकै दुःख दिने गर्दथे।

उनी ६ वर्षको हुँदा बुबाकाे निधन भयाे। बुबाकाे निधनले उनी विक्षिप्त बने। किनकि, आमासँग जोसेफकाे खासै कुरा मिल्दैनथ्यो। तर उनले आफ्नो पढाइ जारी राखे। जब उनी १८ वर्षको भए, तब उनी अमेरिकी फौजमा भर्ना भए।

सन् १९७३ मा अमेरिकी सेनामा भर्ती भएपछि उनको पोस्टिङ भियतनाममा भएको थियो। भियतनाममा बस्दा फौजीमा काम इच्छा मर्दै गयाे। त्यसैले केही वर्षपछि अमेरिका फर्केका उनी सेनामा कहिल्यै फिर्ता भएनन्।

त्यसपछि उनकाे धेरैजसो समय नशामै झुलेर बित्न थाले, ड्रग्स लिन थाले। उनकाे हिमचिम ठुला-ठुला अपराधीदेखि यौनकर्मीसँग हुन थाल्याे। यसै क्रममा उनकाे भेट एक युवतीसँग भयाे र उनी त्यही केटीसँग बस्न थाले। जोसेफले त्यतिबेला घरको खर्च चलाउनका लागि ट्रक चलाउँथे। यसरी समय बित्दै जाँदा उनीहरुकाे छोरा पनि जन्मियो।

केही समयपछि जोसेफ ट्रक लिएर धेरै दिन बाहिरै बसे। घर फर्किँदा प्रेमिका र दुई छोरा घरमा थिएनन्। उनले श्रीमती र छाेराहरूकाे धेरै खाेजी गरे तर कतै भेटाउन सकेनन्। पछि उनले थाहा पाए कि उनकी श्रीमती छोराहरू लिएर अरु नै केटासँग भागेकी रहिछन्। उनलाई त्यतिबेला लाग्यो, ‘कतै मेरो बच्चालाई गलत मानिससमक्ष सुम्पिने पो हो कि?’ त्यसैले उनीहरुको खोजीमा हरेक व्यक्तिसँग सोधपुछ गर्न थाले, जसले उनकी श्रीमतीलाई चिन्दथे।

उनले श्रीमतीकाे खाेजी गर्न हरप्रयास गरे। एक वर्षपछि सन् १९९४ मा एक दिन उनले एउटा पुलको किनारामा दुई जना मानिसलाई भेटे। जसले उनकी श्रीमतीलाई चिन्दथे। तर उनीहरुबाट पनि श्रीमतीबारे केही जानकारी पाउन नसकेपछि रिसमा हथौडाले हानेर उनीहरुको हत्या गरे। हत्यापछि ती दुईको शव त्यही नदी नजिकै फ्याँकिदिए। तर यो पूरा घटना त्यहाँका एक माझीले पनि देखेका थिए। त्यसैले उनको पनि हत्या गरेर शव र हत्यामा प्रयोग भएका हथौडा पनि फ्याँकिदिए।

ती दुई व्यक्तिहरू गायब भएको थाहा पाएपछि प्रहरीले छानबिन सुरु गर्न थाल्याे। प्रहरीले अनुसन्धान गर्दै जाँदा यस घटनामा जोसेफकाे हात रहेकाे आशंकामा पक्राउ गर्यो। जोसेफमाथि दुई व्यक्तिको हत्या गरेको मुद्दा पनि चल्यो तर त्यसमा प्रमाण भने भेटिएन। न हत्या भएकाे भनिएका मानिसकाे शव फेला पर्याे, न त हत्यामा प्रयोग भएका हतियार नै। त्यसैले उनी केही महिनापछि जेलबाट छुटे।

जब उनी जेलबाट छुटे, उनलाई झन् धेरै रिस उठ्न थाल्याे। उनले याे पनि थाहा पाए कि, यदि हत्या गरिएकाे शव र हत्या गर्न प्रयोग गरिएको हतियार भेटिएन भने अपराधीबारे पत्ता लागाउन सकिँदैन।

त्यसपछि उनी सिरियल किलर बने। उनको निशानामा ती त्यस्ता व्यक्ति थिए, जो उनलाई छोडिसकेकी श्रीमतीकाे पहिचानमा थिए वा उसको पेशासँग सम्बन्धित थिए। मिडिया रिपोर्टका अनुसार जोसेफलाई लाग्थ्यो, उनकाे श्रीमतीकाे गलत पेशाका कारण छोरा पनि उनीबाट टाढा भए। उनी छोराहरूबारे सोचेर भएपनि ती सबैलाई मार्न चाहन्थे।

उनले विशेषगरी रेड लाइट एरियाका युवतीलाई भेट्न बोलाउँथे र यौन सम्बन्ध स्थापित गरेपछि हत्या गर्थे। उनले रेड लाइट एरियाका धेरै व्यक्तिकाे यसरी नै हत्या गरिसकेका थिए। स्थिति यस्तो आइसकेको थियो कि, बाल्टिमोर सहरबाट मानिसहरु लगातार गायब हुन थालेका थिए। उनीहरुको शव पनि भेटिरहेको थिएन।

यस्तैमा एकदिन सडक सफा गर्दै जाँदा सफाइकर्मीले एउटा बाकस भेटिन्। त्यहाँ एउटा युवतीकाे कंकाल थियाे। उनी यौनकर्मी क्याथी थिइन्। जसकाे सम्बन्ध जाेसेफकी श्रीमतीसँग थियाे। क्याथी लामो समयदेखि हराइरहेकी थिइन् तर हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको थिएन। त्यसकाे केही महिनापछि पुनः अर्की युवतीको शव पनि उस्तै बाकसमा भेटियो। उनी पनि यौनकर्मी नै थिइन्। तर मार्ने व्यक्तिबारे पत्ता लाग्न सकेको थिएन।

उता, जोसेफ कहिलेकाहीँ ट्रक चलाउँथे भने कहिले सडकको किनारामा ठेला राख्थे। जहाँ उनी बर्गर र स्यान्डविच बेच्थे। बिफ स्यान्डविच र पोर्क बर्गरको माग निकै थियो। जोसेफलाई राम्राेसँग थाहा थियो कि यदि हत्या गरेपछि आफूलाई जोगाउनु छ भने प्रमाण मेट्नुपर्छ। त्यसैले उनले हत्या गरेपछि मानिसहरुको शरीर टुक्रा पारेर मासु निकाल्न थाले। मासु निकालेपछि शवको बाँकी टुक्रालाई बाकसमा बन्द गरेर वा अन्य तरिकाले प्याकेटमा हालेर कतै फ्याँकिदिन्थे। त्यसपछि त्यही मान्छेको मासुलाई भुटेर आफैँ पनि खान्थे र बर्गर तथा स्यान्डविचमा पनि राखेर बेच्थे। यो सिलसिला निकै लामो समयसम्म चलिरह्यो। उनी विशेषगरी यौनकर्मीलाई निशानामा पार्थे र उनीहरुलाई घरमा बोलाएर हत्या गर्थे।

एकदिन यसैगरी जोसेफ ट्रक लिएर आफ्नो शिकारको खोजीमा निस्किएका थिए। उनको भेट यौनकर्मी रिटा क्याम्परसँग भयो। उनले रिटालाई ट्रकमा लिफ्ट दिएर ड्रग्स दिए। त्यसपछि जाेसेफले उनलाई एउटा कारखानामा लिएर गए, जहाँ उनी बस्दथे। रिटालाई फरक महसुस भएपछि उनी त्यहाँबाट भाग्न खोजिन्। तर जाेसेफले उनलाई रोके र बलात्कारको प्रयास गरे। उनले रिटामाथि कुटपिट पनि गरे। त्यसपछि गला दबाएर मार्ने कोसिस गरे। तर रिटाको हात ट्रकमा राखिएको एउटा हथौडामा पर्यो। त्यही हथौडाले जाेसेफमाथि हमला गरेर उनी त्यहाँबाट भागिन्। भागेर उनी सिधै प्रहरी स्टेशन पुगिन् र उनीविरुद्ध उजुरी दर्ता गराइन्। प्रहरी तुरुन्त घटनास्थल पुग्यो, तर त्यतिबेलासम्म जोसेफ त्यहाँबाट फरार भइसकेका थिए।

त्यसपछि प्रहरीले अनुसन्धानकाे दायरा बढाउँदै लग्याे। बलात्कार तथा हत्या प्रयासको आरोपीको स्केच तयार गर्याे अनि जाेसेफकाे खोजी कार्य तीव्र पारियो। तर कुनै सुराग भेटिएन। सन् १९९६ काे अगस्ट १५ मा एक फोनमार्फत् प्रहरीले संदिग्ध जोसेफ मेथेनीबारे जानकारी प्राप्त गर्याे। प्रहरीले जोसेफलाई तुरुन्त पक्राउ गर्याे। साथै, हत्यामा प्रयोग गरिएको हथौडा पनि बरामद गरे।

प्रहरीको सोधपुछमा जाेसेफले १० युवतीसहित १३ जनाको हत्या गरेको कुरा स्वीकार गरे। उनले प्रेमिकाले धोका दिएपछि आफू यस्तो बनेको प्रहरीलाई बताए। गिरफ्तारीपछि जोसेफ आफैँले अदालतमा मृत्युदण्डको सजाय माग गरे, उनलाई मृत्युदण्डकाे सजाए पनि सुनाइयाे। तर सन् २००० मा मृत्युदण्डको सजाय जन्मकैदमा बदलियो। करिब २१ वर्ष जेल बसेपछि ५ अगस्ट २०१७ मा जासेफ मेथेनीको मृत्यु भयो।

जेलमा उनको मृत्युको कारण हृदयाघात बताइयो तर थुप्रै मिडिया रिपोर्टमा कैदीले कुटीकुटी उनको हत्या गरेकाे भन्ने आयो। मृत्युको वास्तविक कारण कहिल्यै सार्वजनिक भएन। तर बाल्टिमोरमा डरको दोस्रो नाम बनिसकेका यी सिरियल किलरको अन्त्य अहिले पनि रहस्यमयी बनेकाे छ।

एजेन्सी सहयाेगमा

प्रकाशित मिति: : 2022-12-16 12:07:00

प्रतिकृया दिनुहोस्