‘पैसा कमाउन नसकेपनि श्रीमती र छोरालाई सुखमा राखेको छु’
काभ्रेका सिताराम रसाइली पढेर जागिरे हुन चाहन्थे। धेरै पढेर गाउँकै सरकारी स्कुलमा मास्टर हुने उनको ठूलो सपना थियो। सात वर्षकै उमेरदेखि सपना बुन्न थालेका सितारामको रुचीको विषय नै पढाई थियो।
स्कुलका आफ्ना दौतरीहरु खेलकुदमा रमाइरहँदा उनी भने गृहकार्य गर्नमा व्यस्त रहन्थे। त्यसैले त उनी स्कुल गएको दुई महिनामै कक्षाका ‘जान्ने’ विद्यार्थीका रुपमा परिचित भइसकेका थिए।
तर विस्तारै भविष्यमा शिक्षक बन्ने उनको सपना चुडि्न थाल्याे, जब बाआमाले पढाउन नसक्ने कुरा सितारामलाई बतायाे। सानै उमेर भएपनि बुझकी स्वभावका उनले बाआमाको कुरालाई स्वीकार्दै पढाई त्याग्ने निधो गरे। पढाईलाई विश्राम दिएपछि उनले खेतीपातीको काम गरेर पैसा कमाउन थाले।
‘त्यतिखेर काम गरेको ज्याला एक रुपैयाँ दिन्थे’ उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘त्यो रुपैयाँ मैले बाआमालाई दिन्थे, उहाँहरुले पनि मलाई एक सुक्का पैसा दिनुहुन्थ्यो। त्यहीँ पैसाले म सितलगेडी चकलेट किनेर खान्थेँ। रमाउथेँ।’
पढाई छाडेर गाउँघर डुल्दै दिन बिताउन थालेका सितारामलाई गाउँले काकाले भन्न थाले, ‘गाउँ बसेर केहीँ काम छैन केटा। सहर हिँड् काम सिकाउँछु।’
काकाको कुरा सुनेर उनले काठमाडौं जाने सोच बनाए। ‘गाउँमा त्यति धेरै काम हुँदैन थियो, कहिकाहीँ मात्र हुन्थ्यो’ उनी भन्छन्, ‘त्यसैले पैसा कमाउने उद्देश्य काठमाडौं आएँ।’
१३ वर्षका उमेरमा काठमाडौं आएका उनी पाटनमा बस्न थाले। पाटन आएपछि उनले लक्ष्मीथानमा हस्तकलाका काम सिक्न थाले। उनको काम थियो, पित्तललाई पगालेर लकेट र मूर्ति बनाउनु।
‘सहरमा काम गरेर पैसा पाउँछु भनेर सोच्दा रमाइलो लागेको थियो’ पहिलो अनुभव सुनाउँदै उनले भने, ‘काम सिक्न सजिलो त कहाँ हुन्छ र?’ सुरुवाती दिनहरु काम सिक्दै गदाए सितारामको हातमा पग्लिएको पित्तल खस्यो। जसकारण उनी घाइते भए।
‘आगोको काम हो, हातमा चोट लाग्नु त स्वभाविक नै थियो’ उनले भने, ‘तर काम गर्न छोड्निँ।’ काम सिक्नका लागि उनी ८ महिना त्यहीँ ठाउँमा बसे। ‘बिना पैसा काम गरियो’ विगतका कुरा स्मरण गर्दै उनले भने, ‘कपडा च्यातिएको लगाएर काम सिकेँ। कपडा किन्ने पैसा माग्दा साउले दिँदैन थियो।’
पाटनमा वर्षदिन काम गरिसकेपछि उनी गाउँ फर्किए। सहर बसेर काम गर्ने बानी बसालिसकेका उनी महिना दिन गाउँमा बिताएर पुनः काठमाडौं हानिए।
‘छोरालाई मास्टर बनाउँछु’
गाउँबाट सहर आएपछि उनले पाटनमै एउटा सटर भाडामा लिए। त्यसपछि आफूले सिकेकाे कामलाई उनले निरन्तरता दिन थाले। आफ्नै पसल खोलेर पनि सितारामले सुख पाउन सकेनन्।
‘सुरुमै पसल ग्राहक कोही थिएनन्। त्यसैले काम गरेर पैसा कमाउनु पनि मुश्किल थियो’ उनी सुनाउँछन्, ‘पहिलो पटक पसल खोलेर पैसा नकमाउँदा भोकै पनि सुतेको छु।’
पसल थापेकाे महिना दिनपछि उनलाई कामकाे अर्डर आउन थाले। जसबापत उनको पसल पनि सप्रिदै जान थाल्याे। पसल व्यवस्थित भइसकेपछि उनले २२ वर्षको उमेरमा काभ्रेकी अम्बिकासग विवाह गरे। परिवारको सहमतिमै विवाह गरेका सितारामले श्रीमतीलाई अम्बिकालाई काम काम सिकाउन थाले।
‘बूढाबूढी मिलेर काम गरे हामीलाई फाइदा हुन्छ भनेर श्रीमतीलाई पनि काम सिकाएँ’ उनले भने, ‘अहिले मेरी श्रीमतीले मैले जत्तिको काम जानिसकेकी छिन्।’
श्रीमतीसँग मिलेर काम गरिरहेका सिताराम हिजोआज निकै खुसी छन्। दुई दशक बढीदेखि ढाल्ने काममा लागेका सितारामले पैसा बचत गर्न सकेनन्। तर श्रीमती र छोरालाई सुखमा राखेका छन्।
छोराको उज्वल भविष्यका लागि दिनरात नभनी काममा खट्ने रसाइली दम्पतिको अब एक मात्र चाहना छ, छोरालाई धेरै पढाएर मास्टर बनाउने।
ढाल्ने कामका लागि के–के चाहिन्छ सामग्री ?
ढाल्ने काम गरेर जीविकाेपाजन गरिरहकेका रसाइली दम्पत्तिले दिनकाे दुई हजार कमाउँछन्। जसमध्ये सामान खर्च उनीहरूले हजार रूपैयाँ छुट्याउने गरेका छन्।
‘अहिले सबै कुरामा महँगी बढेको छ। त्यसैले कमाएको पैसा खाएर लगाएर नै ठिक्क हुन्छ’ उनी भन्छन्, ‘यो कामको लागि ग्याँस, माटो, चकको मिठो र पित्तल चाहिन्छ, जसको मूल्य पहिलेको भन्दा अहिले बढेर आकाशिएको छ।’
आफ्नो मेहनत अनुसारको पारिश्रमिक नपाएको उनको गुनासो छ। ‘हामीले यहाँ बनाएका लकेटहरु सय रुपैयाँ पर्छ भने ठमेलमा लगेर यसलाई दोब्बर भाउमा बेच्छन्’ आफूले बनाएको लकेट देखाउँदै उनी भन्छन्, ‘यहाँबाट सामान किनेर लगेका व्यापारीहरुले हामीले भन्दा धेरै नाफा खान्छन्।’ मेहनत गरेकाहरूकाे अहिले अस्तित्व नभएकाे बताउँदै उनले भने, ‘संसार यसरी नै चलिरहको छ।’