प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ।
'किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ', किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, 'यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ।'
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो।
बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा–पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।
सबै तस्विरः शनि शाक्य, बिएल नेपाली सेवा