गठबन्धनकाे बैठकमा छिर्नुअघि प्रचण्डले भेटे नेपाल र ओलीका दूत !

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिलो गरी सुरू भएको हो।

निर्वाचनपछि पहिलो पटक सत्तारुढ दलको बैठक बसेको हो। आजको बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनको विषयमा छलफल गर्ने मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन्।

बालुवाटार बैठकमा जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। दुवैबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ।

यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गरेका छन्। महासेठ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

केही दिनअघि ओलीले फोन गरी प्रचण्डलाई सांसद जितेकोमा बधाई दिँदै सहकार्यको प्रस्ताव गरेका थिए। त्यसपछि एमाले र माओवादीबीच फेरि सत्ता समीकरणको चर्चा सुरु भएको हो।

बालुवाटार बैठकमा जानुअघि प्रचण्डको माधव नेपाल र रघुवीर महासेठबीच भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: : 2022-12-05 16:35:00

प्रतिकृया दिनुहोस्