नुवाकोटका चेकनाथ ढकाललाई अहिले काठमाडौँ नै आफ्नो घर लाग्न थालेको छ। नलागोस् पनि कसरी? उनको जिउने साहरा नै बनेको छ, काठमाडौं।
उनी काठमाडौं मलको सडक पेटीमा पानी बेच्ने गर्छन्। त्यही पानी बेचेर आएकाे पैसाले उनले जीविकोपार्जन गरिरहेका छन्। चाउरिएका गाला र मैलाे दाैरा सुरूवाल लगाएर पानी बेच्ने उनलाई धेरैले साेध्ने गरेकाे प्रश्न हाे, ‘बूढा मान्छे भएर किन यसरी भुइँमा बसेर काम गरेकाे? गाउँ कहाँ हाे? तपाईंको छाेराछाेरी छैनन् बा?’
पानी किन्न आउनेहरुले गाउँ र छोराछोरीको बारे त्यसरी सोधिरहँदा ८२ वर्षका उनी चुपचाप बस्छन्। किनकी उनी गाउँ जान चाहँदैनन्। गाउँ छाडेर दशक बढीदेखि काठमाडाैंमा डेरा लिएर बसिरहेका उनी भन्छन्, ‘मेराे गाउँ भएपनि गाउँका मान्छे आफ्नो होइनन्।’
गाउँ जाँदा विगतका पीडादायी घटनाहरु बल्झिने डरले आफू गाउँ जान नचाहेको उनी बताउँछन्। ‘म गाउँ जाँदा खुसी हुने मान्छे कोही छैनन्’ बिएल नेपाली सेवासंग दुख पोख्दै उनले भने, ‘म गाउँ किन जानू, कसको लागि जानू र? बरु गाउँ गइनँ भने वेदनाहरु बर्सिन थाल्छु।’
आफू दुखमा हुँदा गाउँले कसैले साथ नदिएको उनकाे गुनासाे छ। ‘आफ्ना मान्छे सबै जना सुखमा मात्र आफ्नो साथमा हुन्छन्, दुख पर्दा कसैले पनि साथ दिँदैनन्’, उनी भन्छन्, ‘हामी जस्तो गरीब दुखीका लागि कोही आफ्नो हुँदैन। गरीब हुनु नै पाप रहिछ।’
‘गाउँकाे नाम सुन्न चाहँदिन’
घरलाई बिर्सिर काठमाडौंमा रमाइरहेका उनी गाउँ फर्कन चाहँदैनन्। ‘मैले मेरो घर बिर्सिसकेको छु। म अब त्यहाँ जान चाहन्न’, गहभरि आँसु बनाउँदै उनले भने, ‘मेरो परिवार सबै जनालाई मैले पोलिसकेको छु।’
आफ्नो ६ जनाको परिवार भएपनि अहिले आफू एक्लै भएको उनी सुनाउँछन्। उनका ४ जना छोराछोरीले सानै उमेरमा संसार त्यागे। अनि श्रीमतीले पनि उनलाई बीचबाटोमै छाडेर गइन्।
छोराछोरी र श्रीमतीलाई रोगले लगेको बताउँदै उनी भन्छन्, ‘दुई हात जाेड्न त हम्मेहम्मे हुन्थ्यो। मैले कहाँबाट ल्याउन सक्थेँ र छाेराछाेरीकाे उपचार गर्ने रुपैयाँ?’
सन्तान बिरामी हुँदा उनले छरछिमेकलाई गुहारे तर कसैले उनलाई सहयोग गरेनन्। बरु उल्टै छिमेकीले उनलाई भने, ‘तिमीहरुसँग मुखमा माड हाल्ने पैसा त हुँदैन, हाम्रो पैसा कहाँबाट ल्याएर फिर्ता गर्छौ? पैसा भएपनि तिमीहरुलाई पैसा दिनौँ।’
कसैले उपचार खर्च नपत्याएपछि उनको आँखै अगाडि एकाएक गर्दै उनका छोराछोरीको निधन भयो। ‘सायद मसँग पैसा हुँदो हो त आज म एक्लै हुँदिन थिएँ होला’, विगत सम्झँदै उनले भने, ‘तर के गर्नु र पैसा नै सबथोक रहिछ।’
गरिबीको कारण छोराछोरीलाई गुमाएका उनले ४५ वर्षको उमेरमा श्रीमतीलाई पनि गुमाए। श्रीमती गुमाएपछि उनले एक्लै बाँच्ने निधाे गरे।
‘एउटीलाई पाल्न सकिनँ, त्यसैले दाेस्राे विवाह गरेर अर्काकाे छाेरीलाई दुख दिन मन लागेन। विवाह गरेकाे भएपनि मैले श्रीमतीलाई खुसी राख्न सक्दिन थिएँ’, उनले भने।
गाउँमा सबै परिवारलाई गुमाएपछि उनी आफैँसँग गाउँ नफर्किने वाचा गर्दै काठमाडौं हानिए।
‘भोकभोकै हिँडे, सडकपेटीमा सुतेँ’
वि.स. २०३७ सालमा उनी काठमाडौं आए। पहिलोपटक काठमाडौं आएका उनीसँग न खाना खाने पैसा थियो, न त डेरा लिएर बस्ने नै। उनी काठमाडौंको सुन्धारामा भोकभोकै हिँड्थे र रात परेपछि सडकपेटीमै सुत्थे।
काठमाडौं आएको साता दिनपछि उनले भारी बोक्ने काम गर्न थाले। बालुवा बोकेरै उनले आफ्नो गुजारा चलाउन थाले। भारी बाेकेरै खान पुर्याएका उनमा विस्तारै पसल खाेल्ने साेच आयाे। र नभन्दै उनले काठमाडाैं आएकाे पाँच वर्षपछि नै भुइँ पसल खाेले।
पाँच हजार रुपैयाँ लगानी गरेर उनले फुटपाथमा व्यापार सुरू गरे। उनले मास्क, धुपलगायत विभिन्न खुद्रा सामान बेच्न थाले।
न्यूराेडबाट किनेर ल्याएका सामान उनले दुई/चार रुपैयाँ आफूलाई राखेर बेच्न सुरू गरे। त्यहीँबाट आएको फाइदाले उनले छाक टार्न थाले।
फुटपाथकाे व्यापारबाट कमाएकाे पैसाले खान लगाउन राम्रोसँग पुगेकाे बताउने उनी भन्छन्, ‘दिनको पाँच सय कमाउथेँ तर सबै रक्सी र चुरोटमै बगाउँथेँ। मेरो को नै छ र, पैसा बचाएर राख्नलाई? बरु बाँचुन्जेल खाएर सक्काउँछु।’
सडकमा त्रिपाल ओछ्याएर सामान बेचेर गुजारा चलाइरहेका ढकालको दिनचर्या राम्रोसँग बितिरहेको थियो। तर काठमाडौं महानगरपालिकाले एकाएक भताभुङ्ग बनाइदियो। काठमाडौंलाई सफा बनाउने उदेश्यले मेयर बालेन शाहले फुटपाथका सबै व्यापार हटाउन थाले।
‘मेयर साबले हामी फुटपाथ व्यापारीहरुलाई उठिबास लगाउनुभयो’, मेयरले गरेको कामले दुख दिएको बताउँदै उनले भने, ‘उहाँले हाम्रो लागि सोच्नुपर्ने थियो।’
महिनाैँअघि महानगरले फुटपाथको व्यापार हटाउन भनिरहँदा उनी सडकमै बसेर व्यापार गरिरहेका हुन्थे। तर चार महिनाअघि महानगरले पार्किङ गर्ने ठाउँमा पसल चलाएको भन्दै काठमाडौं मलमा बनाइएको संरचना भत्कायाे। त्याे दिन महानगरले अवैध संरचना मात्र हाेइन, ढकालकाे पसल पनि उठाएर लगिदियाे। ‘आठ हजारको सामान थियो, सबै खेर गयो’, उनले भने।
फुटपाथको व्यापार हटेपछि उनले पानी बेच्न सुरु गरे। त्यसैले हिजाेआज उनी बिहान १० बजेदेखि उनी साझँ ४ बजेसम्म पानी बेचिरहेका हुन्छन्।
१७० रुपैयाँमा किनेको पानीको बन्डल उनी ३६० मा बेच्छन्। फुटपाथको व्यापार छोडेर पानी बेच्न थालेका उनी भन्छन्, ‘महानगरले अब पानी बेच्न दिएन भने मागेर खान्छु।’