‘लैंगिक हिंसा अन्त्यकाे लागि सर्वप्रथम आफैंमाथि भएकाे हिंसाविरुद्ध बाेलाैँ’

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको छैठौं दिन बुधबार पर्साको ठोरी गाउँपालिकामा एकदिने अन्तरक्रिया तथा र्‍याली कार्यक्रम सम्पन्न गरिएकाे छ।

‘दलित महिला केन्द्र नेपाल’को आयोजना तथा ठोरी गाउँपालिका र ‘आसमान नेपाल’को सहकार्यमा भएको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष, महिला सदस्यलगायत स्थानीय महिला तथा पुरुषकाे सहभागीता रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला पुरुषमाथि हुने विभेद मात्र नभई लिङ्गकाे आधारमा महिला पुरुष तथा तेस्रो लिङ्गी जो कोहीलाई पनि हुने गरेको बताइन।

‘कहिले काहीँ हामी अज्ञानतावस आफूले आफैंमाथि पनि हिंसा गरिरहेका हुन्छौँ,’ उनले भनिन,‘हिंसा न्यूनिकरण गर्न सर्वप्रथम हामीमाथि भइरहेको हिंसाविरुद्ध आवाज उठाएर समाजमा परिवर्तन ल्याउन सक्छौँ।’ उपाध्यक्ष रेग्मीले हिंसा मात्र कुटपिटको घटना नभई हामीमाथि शारिरिक मानसिक, समाजिक, राजनीतिक, धार्मिक तथा जातीय रङ्ग/रुप छुवाछुतको विभेदहरु हुनु पनि हिंसा भएको बताइन।

‘राजनीतिककै कुरा गर्नु पर्दा अहिले ५२ प्रतिशत महिलाको संख्या रहेको हाम्रो देशमा ३३ प्रतिशत कोटा दिएको मा पनि हामी महिला पूर्णरुपमा सहभागी हुन सकेका छैनौँ,’ उनले भनिन,‘अहिले प्रदेश तथा प्रतिनिधि सभाको चुनावलाई पनि हामीले प्रत्यक्ष उदहारणको रुपमा हेर्न सक्छौँ।’

उपाध्यक्ष रेग्मीका अनुसार छोराछोरीको शिक्षामा लिङ्गको आधारमा गरिने विभेद, भ्रुणहत्या, वैदेशिक रोजगारीमा कमाउन गएका श्रमानको पैसा लिएर श्रीमतिले अन्त्यै दोस्रो विवाह गर्नु, तेस्रो लिङ्गिलाई घोचपेपच गर्नुजस्ता विकृति रोक्नुपर्ने अवस्था देखिन्छ।

नेपालमा लैङ्गिक हिंसा विरुद्धको अभियानको सुरुवात भएको १६ वर्ष पूरा भएको र यसप्रति सचेत गराउन राज्य तथा अन्य संघ संस्थाबाट हरेक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना हुँदै आएको दलित महिला केन्द्र नेपालकी लैंगिक विमर्शकर्ता निला रामले बताइन्। उनले शिक्षित समुदायमा पनि विभेद हुने गरेको बताइन। धनी गरिब, रङ्ग/रुपको आधारमा दाइजो लेनदेन गर्ने, आफूभन्दा तल्लो तहको कर्मचारीलाई हेप्ने गाली गर्ने जस्तो विभेद हुने गरेको बताइन। यसलाई कम गर्नका लागि सबै एक हुनुपर्नेमा उनले जाेड दिइन।

कतिपय छोरी आफ्नै घर भित्रबाटै हिंसाको सिकार भइरहेको आसमान नेपालकी सहजकर्ताको रुपमा कार्यरत किशोरी मोनिका गतानेले बताइन।

‘छोरीलाई भनिन्छ, ऊ त माटोको भाँडो हो, उसलाई घरमै राख्नुपर्छ। छोरा जता गए पनि फरक पर्दैन,’ उनले भनिन,‘तर, यस्तो सोचलाइ हरेक अभिभावकले बदल्नुपर्छ र छोरीलाई जस्तै छोरालाई पनि अन्य चेलिबेटीसँग गरिने असल व्यवहारको बारेमा शिक्षा दिनुपर्छ अनि मात्र बलात्कार तथा अन्य दुर्व्यहारका घटनामा कमी आउँदै जान्छ।’

निर्मलठोरी उपभोक्ता समितिकी सपिका मगरले महिलाहरुले गर्भदेखि नै हिसांको सिकार हुनु परेको बताइन। महिलालाई हरेक क्षेत्रमा कामको अवसर पाइने भएकाेले अरुको कुरा सुनेर खुम्चिनुभन्दा डटेर अगाडि बढे समाजमा परिवर्तन ल्याउन सकिने सपिका मगरले बताइन।

दलित महिला सदस्य वृतमाया विकले हिंसा सम्बन्धीको आवाज अहिले १६ दिन मात्र नभई वर्षको ३ सय ६५ दिन नै उठाए मात्र यसबाट उन्मुक्ति पाइने बताइन। राज्यले न्यायमा पनि सबैको पहुँच बराबरी गर्न जरुरी रहेको उनको भनाइ थियो।

आशिष समाजिक सेवा नेपालका रोशन सुनारले महिलाले पनि सहेर बस्दा यस्ता समस्याहरु भोग्नु परेको बताए। उनले महिलामाथि पुरुषले मात्र नभई महिलामाथि महिलाले पनि हिंसा गरिहेकाले यस्तो बदलाव आफूबाटै गर्नुपर्नेमा जोड दिए।

सो कार्यक्रमको सहजीकरण आसमान नेपाल ठोरीका पालिका संयोजक धर्मेन्द्र चौरसियाले गरेका थिए। अन्तरक्रिया कार्यक्रम पछि निकालिएको र्‍याली वडा नं. ३ को महिला विकासको भवनबाट विभिन्न नारा लेखिएका प्लेकार्डसहित गाउँ परिक्रमा गरी वडा कार्यालयमा पुगेर समापन गरिएकाे थियाे।

प्रकाशित मिति: : 2022-12-01 10:19:00

प्रतिकृया दिनुहोस्