महिना दिनअघि प्रतिष्ठित टाइम म्यागजिनले मध्यपूर्वको मरुभूमिमा आप्रवासी कामदारले भोगेको दुःखबारे एउटा लामो रिपोर्ट प्रकाशित गर्यो। टाइमले कतार विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्दा ज्यान गुमाएका परिवारका पीडा, त्यहाँ काम गर्दा अंगभंग भएका व्यक्तिको कष्टसाध्य जीवनशैली र घरपरिवारको पीडा समेटेको छ।
लगत्तै अर्को अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले पनि नेपाली कामदारको कतारमा भएको शोषणबारे एक लेख प्रकाशित गर्यो। 'वासिङ्टन पोष्ट, सीएनएन, फाइनान्सियल टाइम्स, गार्जियन' लगायतका संसारभरका अखबार अहिले कतारभन्दा नेपालको रिर्पोटिङमा व्यस्त छन्। यी अखबारले कतारभन्दा नेपाली कामदारले भोगेको पीडालाई प्राथमिकतामा राखेका छन्।
खाडीको तातो घाममा 'रगत, पसिना र आँसु' बगाएका हजाराैँ नेपालीहरू आज पनि 'कतारी अत्याचार' सम्झेर रोइरहेका छन्। नेपाली कामदारहरू कतारबाट पीडित छन्। लाखाैँ आप्रवासीका सपना चकनाचुर भएका छन्।
'कतार उत्सव'अघि नेपाली कामदारहरू त्यहाँबाट खेदिएका छन्। तर, नेपाली सरकारी र नीजि क्षेत्रका सञ्चारमाध्यमले भने यसबारे खासै चासो दिएनन्। नेपाली नागरिकले कतारमा भोगेको कहालीलाग्दाे पीडा उजागर गर्नुकाे सट्टा उल्टै 'मूलधारे मिडिया' कतारको गुणगानमा लागे।
'कतारी अत्याचार'विरूद्ध कलम चलाउन आँट नगरेका नेपाली मिडियामाथि आक्रोश पाेखिएकाे छ। आफूलाई 'मूलधारे मिडिया'का ठालू ठान्ने सम्पादक जमातको व्यापक आलोचना भइरहेकाे छ। खासगरी नेपाली सम्पादकको एउटा सामूहिक तस्विर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयाेगकर्ताहरू मिडिया र सम्पादकमाथि खनिएका छन्।
कतारी राजदूत यूसुफ बिन मोहम्मद अल हैलले कैयौं नेपाली सम्पादकलाई दूतावासमै बाेलाए। त्यहाँ एउटा रात्रिभाेजकाे आयाेजना गरिएकाे थियाे। भोज खाएपछि कतारी राजदूतलाई बीचमा राखेर 'एकहुल' सम्पादकले 'बल' उचाल्दै फुटबल मोडलिङ गरेको देखिन्छ। फाेटाे सेसनका कारण आलोचित भइरहँदा पनि नेपाली सम्पादकले हालसम्म लज्जित महसुस गरेका छैनन्।
कतारी दूतावासकाे रात्रिभाेजमा सम्पादक दिलभूषण पाठक (कान्तिपुर) भूषण दाहाल (एपीवान), तीर्थ कोइराला (नेपाल नेटवर्क), राजेन्द्र बानियाँ (हिमालयन), टीकाराम यात्री (एपीवान), गुणराज लुइँटेल (नागरिक दैनिक) पुगेका छन्। त्यस्तै, समीरमणि दीक्षित (ग्यालेक्सी), बबिता बस्नेत (घटना र विचार), अखण्ड भण्डारी (अन्नपूर्ण दैनिक), सुरजसिंह ठकुरी (कान्तिपुर), शिव भट्टराई (गाेरखापत्र) र कोषराज कोइराला छन्।
तर, कन्तिपुरका सम्पादक सुधीर शर्मा, काठमाण्डौं पोष्टका सम्पादक विश्वास बराल, नेपाली टाइम्सका कुन्द दीक्षित, हिमालखबरका सम्पादक रवीन गिरी, देशसञ्चारका सम्पादक युवराज घिमिरे, अनलाइनखबरका सम्पादक शिव गाउँले भोजमा सहभागी नभएको देखिन्छ।
राजनीतिक नेतृत्वका गलत कदमविरूद्ध बारम्बार औँला ठड्याउने उनै सम्पादक यतिबेला आफैँ कठघरामा छन्। विदेशीसामु लम्पसार परेको टिप्पणी गर्ने सम्पादक यतिबेला आफैँ एउटा कठिन प्रश्नकाे सामना गरिरहेका छन्।
लेखक तथा पत्रकार विजयकुमार पाण्डेले दूतावास पुगेर फाेटाे सेसन गरेका सम्पादक र सवालकर्तामाथि ट्विटरमा गहकिलाे टिप्पणी गरेका छन्।
'सञ्जालमा व्याप्त यो तस्विरमा भकुण्डो समात्ने मिडियाका मित्रलाई, मिडियाकै अरू मित्रलगायत केहीले सवाल र गाली गरेका छन्। के यीनीहरूले कतारी दूतको निवासमा भकुण्डो उचालेर गल्ती गरेका हुन्,' उनी सामाजिक सञ्जालमा लेख्छन्, 'के यिनीहरूले संयुक्त वा एकल जवाफ दिएर, प्रश्न सोध्नेको मुखमा बुझो लगाउलान्? वा आत्मालोचना गर्लान्?'
फुटबल जगतमा नयाँ इतिहास रच्नका लागि कतारले नेपाली कामदारकाे 'रगत, पसिना र आँसु' लुटेकाे छ। कतिपय नेपाल फर्केर नयाँ जीवनका लागि संघर्ष गर्दैछन्। विश्वकप आयोजना गर्नुपूर्व कतारले देखाएको अमानवीय हर्कत विश्वसामु उदाङ्गाे भएको छ।
कतारमा रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाएका हजाराैँ नेपाली कामदारको विदेशी मिडियाले खबर प्रकाशित गरेपनि नेपाली सम्पादक बेखबर भएकाे भन्दै चारैतिर आलाेचना भइरहेकाे छ।
द न्यूयोर्क टाइम्सका पत्रकार भद्र शर्माले नेपाली मिडियाले प्रयाप्त मात्रामा नेपाली कामदारकाे आवाज नउठाएकाे भन्दै ट्विटरमा गुनासाे गरेका छन्। कतारबाट फर्केका दर्जनाैं नेपालीलाई भेटेर टाइम्सका लागि रिपाेर्टिङ गरेका उनी नेपाली सम्पादकको एउटा समूह कतारी राजदूतद्वारा आयाेजित रात्रिभाेजमा रमिते देखिएकाे टिप्पणी गर्छन्।
'नेपाली कामदार कतार रंगशालामा मरे। मृतकका परिवार पीडामा छन्। बालबालिकाहरू विद्यालयबाट बच्चित छन्। राष्ट्रिय मिडियाले उनीहरूकाे आवाज उठाएनन्,' शर्मा लेख्छन्, 'तर अहिले नेपाली सम्पादकको एउटा समूह कतारी राजदूतले गरेकाे रात्रिभाेजमा रमिते छ।'
अन्तर्राष्ट्रिय मिडियामा उल्लेख भएअनुसार रंगशाला निर्माणका क्रममा १५ सयभन्दा बढी नेपालीको मृत्यु भएको दाबी छ। तर, कतार सरकार भने आफ्नो कुकर्मबाट भाग्दै आएको छ। मृत्युवरण गरेका कामदारलाई 'अज्ञात र हृदयघात' वा 'प्राकृतिक मृत्यु' भनेर पन्छिरहेको छ।
कार्यक्षेत्रमा मृत्युवरण गरेका हजारौँ नेपाली कामदार र परिवारमाथि नेपाली सम्पादकले भद्दा मजाक गरेकाे खोज पत्रकार प्रमोद आचार्यले उल्लेख गरेका छन्।
'झण्डै एक वर्षदेखि कतारमा मृत्यु भएका श्रमिक र तिनका परिवारको बारेमा रिर्पोटिङ गर्दा मैले देशभर जे देखेको छु, त्यसमाथिको भद्दा मजाक जस्तो लाग्यो यो फोटो। तपाईहरूलाई साँच्चै थाहा छ कतार विश्वकपको मानवीय क्षति?,' आचार्य प्रश्न गरे।
पत्रकार आचार्यले 'बीबीसी, सिएनएन, फाइनान्सियल टाइम्स, द गार्जियन, द टाइम्स'मा कतारमा नेपाली कामदारको भोगाइँ र नेपालमा परिवारको वास्तविक अवस्थाबारे थुप्रै खोज समाचार प्रकाशित गरेका छन्।
त्यस्तै, द काठमाण्डू पोष्टका पूर्वसम्पादक अखिलेश उपाध्याय ट्विटरमा लेख्छन्, 'नेपालीले तपाईहरूको यस्तो कामलाई कसरी हेर्छन्, तपाईलाई राम्रोसँग थाहा छ। हामीलाई माफ गर्नुहोस् भन्नुस्।'
आप्रवासी कामदारमाथिको 'कतारी अत्याचार'लाई नेपाली सम्पादकहरू फुटबल उपहारमा भुल्दैछन्। नेपाली कामदारले पाउनुपर्ने तलब पाएका छैनन्। तर नेपाली 'मूलधारे मिडिया'का सम्पादक मौन रहेकाे एक पत्रकार बताउँछन्।
सम्भवतः त्याे सम्पादक जमात कतारी दूतावासकाे आर्थिक सहयाेगमा दाेहा उड्दैछ। ती पत्रकार भन्छन्, 'नेपाली कामदार मारमा छन्। विवादास्पद देशकाे दूतावास पुगेर हाम्रा सम्पादकहरू रमाउँछन्। मालिक रिझाउन माहिर उनीहरू किन दूतावास नपुग्थे।'