दोलखाको विकासको निम्ति अलिकति पनि तल/माथि नगरी काम गर्नेछु: बालकृष्ण सिवाकोटी (अन्तर्वार्ता)

ममता आचार्य

काठमाडौं
BreaknLinks
BreaknLinks

दोलखा जिल्लाबाट नेकपा (एमाले)का प्रतिनिधि सभा उम्मेदवार हुन्, बालकृष्ण सिवाकोटी। उनी ०३८ सालदेखि एमालेबाट सक्रिय राजनितीमा छन्। ४१ वर्षदेखि पार्टीमा रहेर काम गर्दै आएका उनलाई हाल पार्टीले प्रतिनिधि सभाका लागि टिकट दिएको छ।

उनी पेसाले युवा व्यवसायी पनि हुन्। उनले समाजसेवाको क्षेत्रमा पनि धेरै उदाहरणीय कामहरु गरेका छन्।

चुनावी अभियानमा सक्रिय रहेका उनै  बालकृष्ण सिवाकोटीसँग निर्वाचन केन्द्रित रहेर ममता आचार्यले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत:


निर्वाचन नजिकिँदै छ, तयारी कस्तो हुँदैछ ?

प्रचारप्रसारको काम हामीले सकिसक्यौं। अहिलेसम्म मतदाताबाट राम्रो प्रतिक्रिया पनि पाएका छौं। चुनाव जित्ने तयारीमा पुगेका छौं।

व्यवसायमा लाग्नु भएको व्यक्ति किन राजनितिमा प्रवेश गर्नुभयो ?

म व्यवसाय मात्र गरेको मान्छे होइन। ०३८ सालदेखि राजनीति गर्दै आएको छु। मैले राजनीतिलाई पूर्णगामी सदस्यका रुपमा मात्र काम नगरेको हो। ४१ वर्षदेखि पार्टीमा रहेर काम गर्दै आएको हो।

मेरा प्रतिवादीहरुले पनि व्यवसाय गरेको मान्छे हो भनेर अघि लिएर आएका छन्। तर, मैले व्यवसायसँगसँगै राजनिती पनि गर्दै आएको छु।

तपाईं के प्रतिबद्धता लिएर आउनु भएको छ?

मुख्य त दोलखाको विकास र सम्वृद्धिको लागि आवश्यकता काम, जनताको आकांक्षा के-के छन्, त्यो पूरा गर्ने प्रतिबद्धता लिएर आएको छु। संविधानमा उल्लेख भएका, कानुन कार्यान्वयन गराउने कुराहरु र नैतिकताका काम जुन मेरो जिम्मेवारीमा पर्छ त्यो सबै पूरा गर्नेछु।

तपाईंको प्रतिबद्धताप्रति मतदाताको प्रतिक्रिया कस्तो आएको छ ?

एकदम राम्रो पाइरहेको छु। किनभने, उहाँहरुलाई थाहा छ कि अब मुलुकलाई समृद्ध बनाउन, मानिसका रोजगारीको समस्या समाधान गर्न र दोलखालाई विकास नगरी हुँदैन। त्यो एजेन्डा कसले बोक्छ भने पार्टीमा नेकपा एमाले र दोलखामा बालकृष्णले बोक्छ भन्ने आम मतदातालाई थाहा छ।

तपाईंको प्रतिस्पर्धीमा गठबन्धनका र अन्य दलका उम्मेदवार छन्, आफूले जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ?

म पूर्णरुपमा ढुक्क छु। गठबन्धन केही होइन, बलियो हुन्छ भनेको हुनाले मात्र गरेका हुन्। मैले जित्नुको आधार भनेको राजनीतिक व्यवस्था परिवर्तन भइसके पछाडि मान्छेले समृद्धि खोज्छ। समृद्धिलाई मैले नै बोक्न सक्छु भनेर पार्टीले मलाई उम्मेदवार बनाएको हो। 

दोलखावासीको चाहना पनि बालकृष्णलाई उम्मेदवार दियो भने युवाले चाहेको कुरा पनि संबोधन हुन्छ र काम पनि गर्न सक्छ भन्ने उहाँहरुलाई लागेको छ। गठबन्धनका उम्मेदवारले राजनीतिलाई व्यवसाय मान्नु हुन्छ तर म राजनीतिलाई समाजसेवा मान्छु।

अहिलेकाे आवश्यक भनेको मुलुक समृद्ध बनाउने हो। समृद्ध बनाउन भाषण र कुरा मात्र गरेर जनताले पत्याउँदैनन्। काम गर्न सक्छ सक्दैन, कामकै आधारमा मुल्यांकन गर्छन्। मैले काम गर्न सक्छु भन्ने आम मतदातालाई विश्वास छ। एमालेले काम गर्न सक्छ भनेर काँग्रेस, एकीकृत समाजवादी र माओवादीलाई पनि लागेको छ। धेरै आधार भएको हुनाले मेरो जित पक्का छ।

अन्तिममा तपाईंको भनाइ के छ ?

आम दोलखावासीहरुले एमालेको सूर्य चिन्हमा मतदान गरी मलाई अत्याधिक बहुमतले विजय गराइदिनुस्। मैले दोलखाको विकासको निमित्त अलिकति पनि तलमाथि नगरी काम गर्नेछु।

प्रकाशित मिति: : 2022-11-17 22:00:00

प्रतिकृया दिनुहोस्