बझाङ्गीकाे दु:ख-पीडालाई काठमाडौँ लगेर फुकाउन सक्छु : ऐन महर (अन्तर्वार्ता)

ममता आचार्य

काठमाडौं

देश यतिबेला निर्वाचनकाे माहाेलले तातिरहेकाे छ। यही निर्वाचनकाे सन्दर्भमा रहेर प्रतिनिधि सभा सदस्यकाे लागि नेकपा (एमाले)बाट बझाङमा उम्मेदवारी दिएका युवा नेता ऐन महरसँग बिएल नेपाली सेवाका लागि ममता आचार्यले गरेको कुराकानीको सम्पादित प्रस्तुत अंश :


चुनावकाे तयारी कसरी गरिरहनुभएकाे छ ?

चुनावी तयारी तिब्र अवस्थामा छ। जनताको घर-घरमा जाने र भेटघाट गर्ने क्रम जारी छ। भोलिबाट मौनअवधि सुरु हुन्छ, घरदैलोमा पुग्न अझै बाँकी छ। त्यसकारण निकै व्यस्त छौँ।

बझाङजस्तो जिल्लामा मतदाताको घर-घर पुग्न कत्तिको सहज छ ?

एकदमै गाह्राे छ। सबैभन्दा ठुलो भूगोल छ। समय असाध्यै छोटो भएको कारण कतिपय ठाँउमा पुग्न सकेका छैनौँ। बझाङका हरेक वस्तीमा पुग्न त ६ महिना लाग्छ। बाटोको सुविधा भएको क्षेत्रमा गाडीमा र नभएको ठाउँमा हिँड्दै जनतामाझ पुगिरहेका छौँ।

बझाङको मुहार फेर्न के कस्ता एजेण्डा बनाउनुभएकाे छ ?

हामीले ठुला एजेण्डा देखाएर बझाङका मतदातालाई आशा देखाउने काम गर्दैनौँ। हाम्रा एजेण्डा यस्ता ठुला पनि छैनन्, बझाङका दुर्गम ठाउँहरुमा आधारभूत आवश्यकता पूरा गर्ने पहिलो लक्ष्य रहेको छ। जस्तैः खानेपानी र सिँचाइको व्यवस्था, प्रत्येक घरमा बिजुली र बाटोको सुविधा।

दोस्रो, पर्यटनसँग सम्बन्धित शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था, यहाँ रहेका प्राकृतिक स्रोत साधनको उजागर गर्ने,  युवालाई रोजगारीकाे सुनिश्चितता गर्ने, जलविद्युतको धेरै सम्भावना छ, ती आयोजनालाई अघि बढाउने, कृषिमा आधुनिकरण गर्ने। पाङ्लाकोट नाकालाई हामीले खोल्न सके त्यहाँबाट सुन बनाउन सकिन्छ। यसले दुईवटा काम गर्छ: हिन्दू तीर्थालु र धार्मिक पर्यटनहरुको ठुलो सुविधा पुर्‍याउँछ र अर्को भनेको ठुलो व्यापारिक मार्ग बन्छ। जसले गर्दा यहाँ धेरै राजश्व सङ्कलन हुन्छ र रोजगारी पनि बढाउँछ।

तपाईंकाे प्रतिद्वन्द्वीकाे रुपमा पूर्व एमाले नेता गठबन्धनकाे साथमा प्रतिस्पर्धामा हुनुहुन्छ, यस्ताे अवस्थामा जित्छु भन्नेमा कत्तिकाे ढुक्क हुनुहुन्छ ?

मेरो जित एकदमै सुनिश्चित छ। गठबन्धन जसले गरे त्यसको कुनै औचित्य छैन। जनताले गठबन्धनलाई अस्वीकार गरिसके। जनताले नयाँ प्रकारको गठबन्धन गरेका छन्। बझाङको दु:ख पीडालाई पोको पारेर काठमाडौँ लगेर फुकाउन सक्ने खोजेका छन्। त्यसका लागि ऐन महर नै उत्तम विकल्प हो भन्नेमा जनता ढुक्क छन्।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

मंसिर ४ गतेको निर्वाचनमा सबैजना सहभागी हुनु सूर्य चिन्हमा भोट हाल्नुहाेला।

प्रकाशित मिति: : 2022-11-17 19:15:00

प्रतिकृया दिनुहोस्