प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन ३ दिन मात्रै बाँकी हुँदा राजनीतिक दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन्। मतदातालाई आफ्नो पक्षमा पार्न दलहरू अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा गरिरहेका छन्।
दलहरूलाई चुनावी माहाेलले छाेइरहँदा मजदुरहरू भने रातदिन नभनी छाक टार्नका लागि मजदुरीमै व्यस्त छन्। दिनभर काम गरेर बेलुका छाक टार्ने धरहराका मजदुरलाई चुनावकाे कुनै उत्साह छैन। उनीहरुलाई चुनावकाे भन्दा पनि कसरी छाक टार्ने भन्नेकै चिन्ता छ।
‘जुन जोगी आएपनि कानै चिरेको’ भनेझैँ उनीहरु जसले जिते पनि आफूहरुको लागि केही नगर्ने भएकाले भाेट नहाल्ने पक्षमा रहेकाे बताउँछन्।
नुवाकोट तारकेश्वर गाउँपालिका-७ का सुमन तामाङ विगत दुई वर्षदेखि काठमाडौंमा ज्याला मजदुरी गर्दै आइरहेका छन्। उनी दिनभर काम गरेर बेलुका छाक टार्ने गर्छन्। चुनाव हुन केही दिन मात्रै बाँकी छ तर उनलाई चुनावको कुनै वास्ता छैन।
चुनावको समयमा नेताहरूले घर घरमा आएर आश देखाउने र चुनाव जितेर गएपछि फर्केर नआउने हुँदा कसैलाई पनि भोट नहाल्ने पक्षमा छन्, उनी।
दिनभर मरीमरी काम गर्दा पनि परिवारलाई राम्राेसंग खाना दिन नसकेकाे उनी बताउँछन्। ‘दिनभर अरुको ज्याला-मजदुरी गर्यो, भरे के खाने भन्नेकै पिर हुन्छ। पहिलेको चुनावमा पनि हामी आफ्नै ठाउँमा रोजगारी दिन्छौँ भनेपछि भोट हालेँ, तर पछि काम माग्न जाँदा विदेश जाउ भन्यो। त्यसकारण म कसैलाई पनि भोट हाल्दिनँ।’
विगत १० वर्षदेखि घर बनाउने काम गर्दै आएका सुमनलाई आफ्नाे देशमा राम्राे जागिर गर्ने इच्छा छ। ‘विदेश जाउँ भने धेरै पढेकाे लेखेकाे छैन, आफ्नै देशमा काम गरूँ नेताका आसेपासेले मात्रा जागिर पाउँछन्। मलाई नेपालमा नै राम्राे काम गरेर परिवार पाल्ने इच्छा छ’, उनी भन्छन्।
यसैगरी सिराहका प्रेमकुमार सदाईले काठमाडौँको धरहरा क्षेत्रमा काम गरेको पनि चार वर्ष बितिसक्यो। तर उनलाई देशमा के भइरहेको छ भन्ने चासो राख्नसमेत फुर्सद छैन। उनी बिहान ७ बजेदेखि बेलुका आँखा देखुञ्जेलसम्म काम गर्छन्। ताकि पैसा जम्मा गरेर घर पठाउन सकियाेस्, बिरामी आमाकाे उपचार गर्न सकियाेस् तर पैसा नभएर बिरामी आमालाई समेत भेट्न जान नपाएकाे उनकाे गुनासाे छ।
‘बिरामी आमालाई उपचार गराउने पैसा जम्मा गर्न आएकाे छु, त्यही भएर दिनभर खटिएर काम गर्छु’, उनले भने, ‘मलाई चुनावकाे कुनै चासो छैन। काम नगरी खान पाइँदैन। एकदिन काम गरिएन भने खान पुग्दैन। खाना खाने समेत पैसा नभएको बेला कसरी भोट हाल्न जानु।’
यस्तै बर्दियाका राजु चाैधरीले पनि धरहरा क्षेत्रमा काम गरेको चार वर्ष भइसक्यो। वर्षाैँदेखि ज्याला-मजदुरी गर्दै आएका उनलाई छोराछाेरीलाई राम्रो स्कुलमा पढाउनु छ। त्यसकारण त उनी बिहानदेखि अबेर रातसम्म काम गर्छन्। उनलाई न चुनावकाे ध्यान छ, न त उम्मेदवारकाे खाेक्राे भाषणतिर नै।
नेताहरूले भाेट माग्न आउँदा विभिन्न आश देखाउने तर पुरा गर्ने समयमा फर्केरै नआउने भएकाले भाेट नहाल्ने उनी बताउँछन्।
‘भाेट माग्न आउँदा याे गर्छाैँ, त्याे गर्छाैँ, राेडकाे विकास गछाैँ भनेर भाेट माग्छन्। तर चुनावपछि गरीबकाे कुरा सुन्दै सुन्दैनन्। काम त गर्छु भन्छन् तर कहिल्यै पनि काम गरेकाा छैनन्’, उनी भन्छन्, ‘हामीले नै भाेट दिएर जितेका नेताहरूले हाम्राे समस्यालाई कहिल्यै पनि बुझेनन्। त्यसकारण म भाेट हाल्दिनँ।’
‘०७४ मा भाेट माग्न आउँदा हामी तपाईंहरूकाे गाउँमा सडककाे विकास गर्छाैँ भनेका थिए, भाेट मागेपछि तपाईंहरूकाे समस्या बुझन आउँछु भन्ने नेताहरू कता हराउँछन्’, उनी भन्छन्, ‘नेतालाई चुनावको बेला हाम्रै भोट चाहिन्छ तर हामीलाई आपतविपत् पर्दा कसैले हेर्दैनन्।’