कहिले नेपाली कांग्रेसले जित्यो, कहिले नेकपा एमालेले जित्यो, कहिले माओवादी केन्द्रले जित्यो त कहिले अन्य विभिन्न पार्टीहरुले जित्याे। तर सधैं कसले हार्यो त? तिमीले? मैले? या यो देशले? राजनीतिक दलहरुले त जितिरहेका छन्, तर हाम्रो देशले कहिले जित्ने?
यतिबेला देशलाई चुनावी माहोल तताइरहेकाे छ। चोक-चोकका साना चिया पसलदेखि ठुला बार वा होटलहरुमा सबैले चुनावी बहस गरिरहेकै हुन्छन्। गाउँदेखि सहरसम्म चुनावी अभियानले तीव्र गति लिइरहेकाे छ। गाउँघरका आकाशमा सधैंभरी देखिने चराचुरुङ्गीको सट्टा आजभोलि ठुला उम्मेदवारका हेलिकप्टर देखिन्छन्।
देशको विकास गर्न र अन्य व्यस्तताका कारणले होला सायद चुनाव जितेर गएपछि एकपटक पनि आफूले जितेको ठाउँलाई नहेर्ने नेताहरु आजभोलि फुर्सदिला भएका छन्। गाउँ, सहर अनि बस्ती-बस्तीमा विकासको मुल फुटाउँछौँ भनी उही पुराना एजेण्डा बोकेर आमसभा गर्दै ठुलै तामझामका साथ नेताहरू उही पुराना सहयोगीका साथ लामालस्करका साथ भोट माग्दै हिँडिरहेका छन्।
जब चुनाव आउँछ नि यी र यस्तै कुराले मेरो दिमाग र तनमनले एउटै कुरा सम्झिरहन्छ। फेरि पनि शिक्षित र विकसित प्राणीहरुले विकास गर्न सक्ने, क्षमतावान, भिजन भएका, त्यो विषयमा जानकार भएको व्यक्तिलाई नहेरी पार्टी र गुटका पहिले दोहोरिएका पार्टी र अनुहारलाई त जिताउने होलान्।
अहिलेसम्म केही पनि काम गर्न नसकेका नेताहरुलाई त जिताउने होलान् नि। उही आफू हेलिकप्टरमा विलासी यात्रा गर्ने, गरीब दुःखी जनताहरू बिरामी पर्दा हस्पिटलसम्म गाडी पुग्ने बाटो बनाउन पहल गर्न पनि नसक्ने र गरिहाले पनि कमिसन खान खोज्ने नेतालाई त जिताउने होलान्।
गाउँको अन्धकार नबुझी सहरको झिलिमिलीमा रमाउने नेतालाई त जिताउँछन् होला। उही गाउँमा जनताले पानी नपाएर छटपटाई रहेको बेला आफू डलरौँ पर्ने ब्राण्डेड विदेशी बोतलका पानी पिउने नेताहरुलाई त जिताउँछन् होला। दुःखी जनताको दुःख न बुझ्ने सुखी साथ जीवन बिताउन चाहने नेतालाई त जिताउँछन् होला।
मलाई लाग्छ- चुनाव आउनु भनेको नयाँ शासन प्रणाली परिवर्तन हुनु होइन, पार्टीका कार्यकर्ता र आसेपासेलाई दसैं आउनु सरह हो। अरू देशमा चुनाव विकासमुखी नेता छानेर देशको मुहार फेर्ने गरी आउँछ। अफसोच, हाम्रो देशमा चुनाव उही जोश, जाँगर र बुद्धि नभएका बुढा-पाकालाई अझै धनी र शक्तिवान बनाउनलाई आउँछ।
जे जस्तो भएपनि चुनावले एकै हप्ता भएपनि ठुलाबडा पार्टी र नेताका सहयोगीहरुले रोजगार पाउने छन्। गरीबको घरमा एकदिन भएपनि मिठो मसिनो पाक्ने छ। सधैं चियापसल र भट्टीमा धाउनेहरू चौतारामा भेटिने छन्।
एकैपटक भएपनि गरीब आमाबुवा, दाजुभाइ, काकाकाकी, मामामाइजूका काम गर्दै खिइएका हातमा हात मिलाउँछन्। उनीहरूसंग शिक्षित भनाउँदो समाजले ठुलै मानेका सजिसजाउ, बाजा गाजा गरी आएका नेताले खेत बारीमा दुःख गर्दै गरेका जनतालाई भेटेर भोटको लागि हारगुहार गर्ने छन्।
हो मेरा प्यारा आमाबुवा, दाजुभाइ, काकाकाकी, मामामाइजूका त्यसै बेला हजुरहरुले सम्झिनु अनि आफू र आफ्नो स्वार्थ लुट्ने बेला कसरी देखावटी संस्कार देखाउँछन् नेताहरुले भनी। त्यही बेला सम्झनु एउटा सिटामोल नपाएर भौतारिँदै आफन्त गुमाएको दिन, बाटो नभएर समयमै हस्पिटल पुर्याउन नपाउँदै आफन्तहरुको बाटोमै मृत्यु भएको दिन, गाउँका दाजुभाइ मुग्लान पसेको दिन।
सम्झिनु बत्ती नआएर झरो र टुक्की को भरमा आँखा पोल्दै कटाएका ती रात, तिर्खा लाग्दा नजिकै पानी नभएर आकुल व्याकुल हुँदै पानीको खोजीमा निस्किएको त्यो दिन, आफ्ना आफन्तहरुको हालखबर बुझ्नलाई अग्ला अग्ला डाँडाको टुप्पोमा गएका ती दिन, बालबच्चाले पढ्न लेख्नलाई कपी कलम नपाएको त्यो दिन, अनि अन्ततः सम्झिनु खाने चामल र नुन लिन जाँदा पनि नेताकै हस्ताक्षर नपाएर रितै घर फर्किएको त्यो दिन।
हो, जब तपाईंहरुले यी यस्ता कुराहरू प्रत्येक चुनावको बेला भोट हाल्नु अगाडि सोच्नु हुन्छ नि त्यसै बेलादेखि हाम्रो घर, समाज र राष्ट्रले एक अब्बल नेता पाउने छ। भनिन्छ नि '१००० जना जनता गलत भए पनि केही फरक पर्दैन, तर एउटा मात्र खराब नेता भए घर, समाज र राष्ट्रको लागि घातक हुन्छ।'
आफूले पाएको अधिकारको सही सदुपयोग गरौं। हाम्रोलाई होइन, यो पटक राम्रोलाई जिताउँ। हामीले देखेकै छौं सधैं एउटै पार्टी र नेतालाई जिताउँदा हाम्रो र हाम्रा भावी सन्ततीको हालत कस्तो बनाइराखेका छन्।
अब सोच्ने बेला आएको छ। गाउँघर, सहर बाजारमा को कसले के कति विकास गरे त्यसको मूल्यांकन गरी मात्र कसलाई भोट दिँदा भविष्यमा आफूले दिएको भोट सही व्यक्तिलाई दिएछु भनी आत्मसन्तुष्टि मिल्छ, त्यही व्यक्तिलाई दिनुहोला।
उम्मेदवारले दिएका १/२ हजारमा तपाईंको अमूल्य भोट खराब विचार भएका उम्मेदवारलाई नदिनु होला। अघिल्लाे चुनावभन्दा पहिले जे जस्तो भएतापनि तपाईंले दुःख पाए तापनि तपाईंका बालबच्चा र भावी सन्ततीले दुःख नपाउने मेलोमेसो गर्दिनुहोला।
उम्मेदवारका मीठा प्रवचनमा यो पटक नपर्नु होला। जस्तो सुकै ठुला विकासका गफ गरे पनि, कालान्तरमा खराब छवि भएका उम्मेदवारलाई जिताउनु भयो भने अझै हामीले दुःखको बाटो हिँड्नुपर्छ।
हामीलाई ठुलै विकास गर्ने उम्मेदवार पनि चाहिएको होइन। भएका विकासका योजनाहरुलाई जति सक्दो चाँडो राम्रो बनाएर देखाउने, बनेका बाटोघाटोलाई सुविधायुक्त बनाउने, समाजमा सधैंदेखि रहेका समस्यालाई समाधान गर्न सक्ने र जनतालाई आफ्नै गाउँठाउँमा आत्मनिर्भर बनाउन सक्ने उम्मेदवारलाई जिताउनु पर्छ।
बुढा बा र आमालाई वृद्ध भत्ता दिएर भोट किन्ने परिपाटी देशमा निकै चलेको छ। 'तपाईंका प्यारा सन्ततीलाई देशभित्रै आमाबुवा आफन्तसँग बसेर केही काम गर्छु भनी सरकारसँग ऋण माग्दा नदिएर तपाईंबाट छुटाएर परदेशको बाटो समात्न बाध्य बनाउने उम्मेदवारलाई तपाईंले वृद्ध भत्ताको लोभ या प्रलोभनमा परी भोट नदिनु होला। तपाईंको स्वास्थ्य, सम्पत्ति भनेकै तपाईंका सन्तानहरू हुन्। त्यसैले जसले समाज र राष्ट्रलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने जस्तो लाग्छ यो पटकको भोट उसैलाई दिएर विचार गर्नु होला।
हामी कसैका सहयोगी र कामदार होइनौँ, जसले जे भन्यो त्यही मान्ने। आफ्नो स्वाभिमान खेर नफालौँ, मतको सही सदुपयोग गरौँ। वर्षौंपछि आएको चुनावमा हामी खुसीका साथ सहभागी बनौं!