प्रचण्डका प्रतिद्वन्दी भन्छन्: भात खाँदै थियाैँ कुटिकुटी लखेटे (अन्तर्वार्ता)

सुदिप बराल

काठमाडौं

गोरखा क्षेत्र नं. २ मा नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अब्दुस मियाँको प्रचार टोलीमाथि आइतबार आक्रमण भएको छ। पालुङ्टार नगरपालिका– ६ मा पर्ने च्याङ्लीस्थित म्याङ्गो होटलमा बेलुकी खाना खाने क्रममा मियाँको प्रचार टोलीमाथि आक्रमण भएको हाे। आक्रमणमा परेर एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्ले घाइते भएका छन्।

यसै विषयमा बिएल नेपाली सेवाकाे लागि सुदिप बरालले मियाँसँग गरेकाे कुराकानी प्रस्तुत छ:


तपाईंहरुमाथि कसले गर्‍याे आक्रमण ?

अब कल्ले आक्रमण गर्‍याे भनेर हामीलाई थाहा छैन हेर्नुस्। अब प्रहरीले अहिले अनुसन्धान गर्दैछ। दुई जनालाई पक्राउ गरेकाे छ। तीन जना फरार छन्, अब अनुसन्धानपछि थाहा होला।

आक्रमण चाहिँ कसरी भएकाे हाे त ?

हाम्रा ‘क्याम्पेन’ टिमका साथीहरु भर्खर ‘क्याम्पेन’ सकेर खाना खाँदै हुनुहुन्थ्यो। त्यसैबेला पाँच जनाको समूह प्रवेश गरेर नाम लिँदै तँ को होस् भन्दै आएर सिधै आक्रमण गरेछन्। लफडा छुट्याउन खोज्ने पार्टीका गण्डकी प्रदेशका सचिवालय सदस्य हरि काफ्लेमाथि एकदमै नराम्रोसँग उहाँहरुले आक्रमण गर्नुभएछ लखेटिलखेटी। उहाँको टाउकोमा ठुलो चोट लागेको छ। सात वटा टाँका लगाएर प्राथमिक उपचार गराएर उहाँलाई हामीले काठमाडौं पठाएका छौं।

तपाईंहरुलाई आक्रमण हुनसक्छ भनेर केही पूर्व जानकारीहरु पाउनुभएको थियो कि ?

पहिलादेखि भन्दा पनि अस्ति बिहानदेखि हाम्रो सचिवालयमा विभिन्न किसिमका ‘थ्रेटकल’हरु, तिमीहरुमाथि आक्रमण हुनसक्छ भन्ने किसिमका कलहरु चाहिँ हामीले ‘रिसिभ’ गरिराथ्यौं। तर, हामीले त्यसलाई ‘सिरियस्लि’ लिएनौँ। आजको यस्तो ‘ओपन सोसाइटी’मा पनि यस्तो किसिमका ‘फिजिकल’ आक्रमणै हुन्छ भन्ने परिकल्पनै गरेका थिएनौं।

एमाले कार्यकर्ताहरु त माओवादी कार्यकर्ताले आक्रमण गरेको भनिराछन् नि ?

अब ठ्याक्कै यही भन्ने स्थिति त छैन। म चाहिँ अहिले कसैलाई आरोप लगाइहाल्न सक्दिनँ। किनभने, प्रहरीले अनुसन्धान पछाडि को–को व्यक्तिहरु संलग्न छन्, कसको योजना छ यो सबै निकालिसकेपछि बल्ल थाहा हुन्छ। हामी अब हिजोको आक्रमण पछाडि त्यहाँबाट जोगिएर बसेर फेरि आज बिहानदेखि अर्को चुनावी अभियानमा छौँ, घरदैलोमा हिँडिसक्यौं। मैले त्यो घटनाबारे थप ‘अपडेट’ लिएको छैन। प्रहरीले मलाई त्यसपछि कुनै जानकारी दिएको छैन। बेलुकासम्म सम्भवत फरारहरु पनि पक्राउ पर्छन् होला। अनुसन्धान पछि थाहा हुन्छ।

अब्दुस मियाँले सस्तो लोकप्रियता र चुनावी खपतका लागि आफैंले आक्रमण गराएको भन्ने पनि छन् नि ?

अब यस्तो वाहियात कुरालाई त मेरो अब कुनै टिप्पणी छैन।

अब आक्रमणपछि तपाईंहरुको अगाडिका योजना के छन् त ?

हाेइन, अब कुकुरले टोक्यो भनेर कुकुरलाई टोक्ने कुरा आउँदैन। अब यो सुरक्षाको प्रत्याभूति दिलाउने, यो सबै काम गर्ने सुरक्षा निकायको हो। उहाँहरुले अब हिजो चाहिँ कम्तिमा हाम्रा साथीहरुलाई सुरक्षा सदन सक्नुभएन। मलाई के लाग्छ भने नेपाल प्रहरीलगायत जति पनि सुरक्षा अङगहरु छन्, उनीहरुको प्रस्तुति, उनीहरुको जिम्मेवारी चाहिँ फितलो भएको कारणले यस्तो भएको हो। अब हामी जोगिने त कुरा छँदैछ तर सुरक्षा निकायले पनि आफ्नो ध्यान सही लगाओस् भन्ने अपेक्षा छ।

प्रकाशित मिति: : 2022-11-14 16:18:00

प्रतिकृया दिनुहोस्