बुटवललाई विकास सिक्न आउने शहर बनाउँछौँ : पौडेल

पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ र नमुना अभ्यासको थालनी बुटवलबाट हुने बताएका छन्।

एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन्।

रुपन्देहीको सैनामैनाका विभिन्न वडाका घरदैलको कार्यक्रममा मतदातासँग अन्तरक्रिया गर्दै पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने दाबी गरेका थिए।

रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए।

प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पलाउन थालेको सुनाए।

नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्न सक्ने अवस्थाको विकास भएको उल्लेख गरे।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए।

दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौं भनी जनतासामु ग्यान्टी गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2022-11-14 13:29:00

प्रतिकृया दिनुहोस्