खल्तीबाट उदाराे मन्त्री बाँडेर मतदाता झुक्याउँदै प्रचण्ड

File Photo
File Photo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का विशेष दुत बनेर जुम्ला पुगेका एक नेताका अनुसार कर्णालीका तीन जिल्लाका उम्मेदवारले हार्ने सम्भावना बढेकाे छ। गठबन्धनबाट कालिकोट, जुम्ला र हुम्लामा उम्मेदवार बनेका माओवादी नेताहरु रेड जाेनमा छन्।

कालिकाेटमा पार्टीकै बागी उम्मेदवार, हुम्ला र जुम्लामा कांग्रेसका बागी उम्मेदवार हुँदा गठबन्धनभित्र इमान्दारिताकाे खडेरी पर्ने सम्भावना बढेकाे छ। माओवादी आफ्नाे भाग परेका ठाउँमा कुनै पनि हालतमा हार्न नपरोस् भन्ने मनस्थितिमा छ। तर उम्मेदवार हार्न सक्ने प्रारम्भिक अध्ययन भएपछि प्रचण्ड आफैँ ती जिल्लामा आश्वासनका पाेका लिएर पुगेका छन्।

एउटा कम्युनिष्ट पार्टीमा कमिटीकाे निर्णयलाई महत्वपूर्ण मानिन्छ। कमिटी बेगरकाे निर्णय हुँदा नेतृत्व तानाशाही भएकाे आराेप लाग्ने गरेका छन्। तर माओवादी अध्यक्ष प्रचण्ड एकल निर्णय गर्छन्। अन्य नेताहरु छलफल र बहसभन्दा पनि ताली बजाउने बाहेक अरू गर्दैनन्। त्यसैले यतिबेला उनी बगलीमा मन्त्री पद बाेकेर जनतालाई झुटा आश्वासन दिँदै हिँडरिहेका छन्।

उनले मंगलबार मात्रै कर्णालीका तीन जिल्लाका तीन माओवादी उम्मेदवार जितेपछि मन्त्री बनाउने उदाराे वचन दिए। सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवाद चुलिएपछि बागी उम्मेरदवारबाट खतराकाे घण्टी बजिरहेको छ। त्यसैले कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालिकोटमा उनले मन्त्री पदकाे आश्वासनलाई अन्तिम अस्त्रकाे रुपमा प्रयाेग गरेका छन्।

प्रचण्डले गठबन्धनका तर्फबाट जुम्लाका प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार गोमा कुँवर, हुम्लाका छिरिङ दम्डोल लामा (कार्चेन) र कालिकाेटका महेन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।

संविधानमा बढीमा २५ जनाको मात्र मन्त्रिपरिषद् बनाउन पाउने व्यवस्था छ। यस्ताे अवस्थामा माओवादीकाे भागमा बढीमा आठदेखि दश जना मन्त्री पर्छन्। जसमध्ये साविककाे कर्णालीबाट मात्रै तीन जनालाई मन्त्री बनाउने हुन भने बाँकी प्रदेश कसरी चुप लागेर बस्लान्? त्यसमाथि माओवादी भित्र सधैँ शक्तिमा रहन चाहनेलाई कसरी व्यवस्थापन गर्लान्? कर्णालीकै जनार्दन शर्मा र शक्ति बस्नेतकाे भूमिका के हाेला?

यी प्रश्नहरुले माओवादी अध्यक्षकाे बाेली कति हदसम्म गहिराइकाे हाे भनी थप प्रश्नहरु उब्जाइरहेकाे छ। उनले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भावी मुख्यमन्त्री र कालिकोटका हिक्मतबहादुर बिष्टलाई कर्णाली प्रदेशको क्याविनेट मन्त्री बनाउने घाेषणा गरेका छन् भने यसअघि नै ओनसरी घर्तीलाई मन्त्री बनाउने भनिसकेका छन्।

मन्त्री पदसँगै विकास र बजेटकाे पाेकाे बाेकेर हिँडेका उनले विजयी भएर संसदमा पुग्नेकाे भूमिका र उनीहरुले निर्माण गर्ने नीति नियमभन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सत्ताेसरप गरेर सहानुभूति लिने काेसिस गरिरहेका छन्।

महंगो एयर डाइनेष्टी हेलिकोप्टरबाट हिमाली जिल्लामा एक फन्काे लगाएका प्रचण्डले उत्पादन बढाउन कस्ता उपाय अवलम्बन गर्ने? उत्पादन सम्बन्ध कस्ताे हुने? अर्थतन्त्रलाई कसरी मजबुत र आत्मनिर्भर बनाउने लगायतका विषयमा समय खर्चिनुभन्दा पनि चास्नी पाेतेकाे गुलियो बाँढेर मतदाता झुक्याउने विषयलाई प्राथमिकता दिए।

प्रकाशित मिति: : 2022-11-09 11:28:00

प्रतिकृया दिनुहोस्