नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनपछि प्रदेश १ मा सुविधाजनक बहुमतका साथ एमालेको सरकार बन्ने बताएका छन्।
प्रदेशका १४ वटै जिल्लाको वस्तुगत अध्ययनपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै बरालले प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे।विगतमा पार्टी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरूको प्रभावसँगै राष्ट्र निर्माणमा एमालेले अघि सारेका कार्ययोजनाबाट प्रभावित भई प्रदेशका मतदाताले एकपटक एमालेको एकल नेतृत्वको सरकार बनाउन चाहेको उनको भनाइ छ।
नेकपा एमालेको राष्ट्रिय चुनावी घोषाणपत्र र प्रदेशस्तरीय प्रतिवद्धता पत्रमा उल्लेखित कार्ययोजनाप्रति जनताको आकर्षण रहेको बताउँदै बरालले प्रदेशमा प्रत्यक्षतर्फ कम्तिमा ४० सीट एमालेले जित्ने दाबी गरे।
त्यस्तै समानुपातिक तर्फ पनि सोही अनुपातम जित्न सफल हुने बरालको आँकलन छ। प्रदेश १ को प्रदेश सभामा ९३ सदस्यहरू रहनेछन्।तीमध्ये ५६ सदस्यको प्रत्यक्ष र बाँकी ३७ सदस्य समानुपातिकबाट चयन हुनेछन्। २८ संघीय निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशमा एमालेले प्रत्यक्षतर्फ कम्तीमा १६ सिटमा विजयी हुने अपेक्षा नेता बरालको रहेको छ।
सोही अनुपातमा समानुपातिकतर्फको विजयात्राले संघीय सरकार निर्माणमा पनि १ नम्बर प्रदेशको प्रभावकारी भूमिका रहने बरालले बताए । सरकार बनाउनका लागि निर्वाचनमा सहकार्य गरेका शक्तिहरू पनि सहयोगी हुने उनले बताए।
समकालीन नेपाली राजनीतिमा सर्वाधिक लोकप्रिय नेता, पार्टी अध्यक्ष केपी ओलीको ओजपूर्ण नेतृत्वको प्रभावसँग जोडिएको यो निर्वाचन अभियानले कम्तिमा अझै एकपटक केपी ओलीले राष्ट्रको नेतृत्व गर्नुपर्ने जनचाहना रहने नेता बरालको बुझाइ छ। यही रापतापमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारमा सार्थक तुल्याउन पार्टीका तमाम कार्यकर्ता र आममतदाताले यसपटक एमालेको बहुमतको सरकारको चाहाना राखेको बरालको दावी छ।
के हुन् त प्रदेशमा सुविधाजनक वहुमतको सरकार बनाउने आधारहरू ?
नेकपा एमालेको नेतृत्वको अघिल्लो प्रदेश सरकारले गरेका जनप्रिय कार्यक्रमहरू, एमाले पार्टी नेतृत्वको संघीय सरकारले गरेका लोकप्रिय कार्यक्रम तथा भावी कार्ययोजना साथै प्रदेशस्तरीय प्रतिवद्धताहरू एमालेले चुनाव जित्ने र सुविधाजनक वहुमतको सरकार बनाउने आधार रहेको नेता बरालको दावी छ।
एमालेले अघि सारेका प्रदेशस्तरीय प्रतिवद्धताको सार ‘आत्मनिर्भर प्रदेश, समृद्ध देश’ भन्ने नाराका साथ एमालेले एक नम्बर प्रदेश विकासका लागि तय गरिएका कार्ययोजनामा प्रदेशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अठोट पूरा गर्ने उद्देश्य राखेको छ।
प्रदेशको नामाकरणसँगै भौतिक संरचनाको विकास, शासनमा सुशासन, औद्योगिकरण, क्षेत्रगत अवधारणाका आधारमा विकास, निर्माण, पर्यटक क्षेत्रको विकास, वातावरण संरक्षण लगायतका एमालेले अघि सारहेका दूरगामी कार्ययोजना हुन्।
प्रदेश प्रतिवद्धता पत्र मार्फत एमालेले पहाडी व्यापारिक केन्द्रहरू स्थापना गरी निर्यातयोग्य सामग्रीको उत्पादन र बजारीकरणका माध्यमबाट वृहत रुपमा रोजगारीको क्षेत्र विस्तार गर्ने भएको छ। प्रदेशको आर्थिक विकासको लागि कृषि र उद्योगको उत्पादन वृद्धि गर्दै गरिवी निवारणमा भरपर्दाे कार्ययोजना बनाउने एमालेको प्रदेशस्तरीय प्रतिवद्धता रहेको छ
पर्यटन प्रवद्र्धन अन्तर्गत एमालेले प्रदेश अन्तर्गतका विभिन्न ठाउँहरूमा प्राकृतिक, धार्मिक, साँस्कृतिक लगायतको उन्नयनमार्फत स्थानीय तहमै आर्थिकस्तर विकास गरी गरिवी निवारणका लागि वैज्ञानिक कार्ययोजना सारेहो छ। प्रदेशको जलस्रोतको समुचित उपायोगमार्फत जनतालाई अधिकतम लाभ हुने कार्यक्रमहरू सञ्चालन गर्ने एमालेको प्रतिवद्धता रहेको छ।
किसानका लागि आवश्यक सिँचाइ प्रबन्ध र आम उपभोक्ताका लागि स्वच्छ खानेपानीको उचित प्रवन्ध एमालेको प्राथमिकतामा परेको छ। एमालेले प्रदेश एकालाई मुलुककै प्रवेश द्वारका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
जस अन्तर्गत छिमेकी मुलका नाका व्यवस्थापन, विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थन निर्माण, किमाथाङ्का जोगवनी सडक सञ्चालन लगायतका कार्यक्रमहरूमार्फत प्रदेशका जनताको जीवनस्तर सुधारमा तीव्रता ल्याउने कुरामा एमालेले प्रतिवद्धता व्यक्त गरेको छ । त्यसैगरी प्रदेशको समग्र विकास र उन्नतिका लागि आवश्यक पर्ने पूर्वाधारमा एमालेले विशेष ध्यान पु¥याउने छ।
विगतमा सञ्चालन भई स्थगनमा परेको विराटनगरबाट पहाडी जिल्लाहरूमा हवाई सेवा सञ्चालनमा नियमितता कायम गर्ने, तराई र पहाड जोड्ने प्रदेश अन्तर्गतका विभिन्न सडकलाई सुविधायुक्त बनाउने कार्यक्रमलाई एमालेले प्राथमिकतामा राखेर सञ्चालन गर्नेछ। गरिवी निवारण कार्ययोजना अन्तर्गत गरिवीका रेखामुनि रहेका नागरिकलाई परिचय पत्र वितरण गर्ने एमालेको अर्काे नवीन कार्ययोजना रहेको छ।
अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय आदिको सर्वाङ्ण विकास गर्ने दूरगामी महत्वका कार्यक्रमह सञ्चालन गर्ने योजनाले एमालेप्रतिको आकर्षण वृद्धि गराएको छ। डिजिटल साक्षरता शैक्षिक विकास एवं स्तर उन्नतिका लागि एमालेले गुणस्तरीय प्रौद्योगिक शिक्षालय सञ्चालन गर्ने भएको छ।
समग्रमा गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक, प्राविधिक एवं उद्यमशिलता प्रवद्धर्न गर्ने शिक्षा नीति एमालेले चुनाव जित्ने आधारका रुपमा लिइएको छ। त्यसो त एमालेले आफ्नो प्रतिवद्धता पत्रमा मानव संसाधन विकास बैंक स्थापना गर्ने, विपन्न वर्गका परिवारका छोरीको निरन्तर शिक्षाको लागि ‘छोरी शिक्षा बीमा’ नवीन आयामको रुपमा एमालेले आफ्नो प्रतिवद्धता पत्रमा समेटेको छ।
आर्थिक एवं औद्योगिक विकासको अर्काे महत्वपूर्ण कार्ययोजना क्लियरिङ सहितको सिमेन्ट करिडोर विकास र वहुमूल्य पत्थरमा आधारित जेम्सस्टोन उद्योग सञ्चालन रहेको छ। यसले प्रदेशमा रहेका विभिन्न खानी उद्योग स्थापना र सञ्चालनका लागि आधार निर्माण हुने एमालेको अपेक्षा छ । एमालेले प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न सभागृह निर्माण गर्ने सोच बनाएको छ। आवास सुविधाविहीन आधारभूत वर्गका लागि विशेष आवाज योजना सञ्चालन गर्ने एमालेको लक्ष्य रहेको छ।
प्रदेश अन्तर्गतका विभिन्न नदीहरूमा ग्रीन इन्जिनियरिङ प्रविधिबाट तटवन्ध निर्माण गर्नुका साथै नदी नियन्त्रण तथा सौन्दर्यकरणका प्रभावकारी कार्ययोजना एमालेको प्रतिवद्धता पत्रमा समेटिको छ । एमालेले कृषिको समग्र विकासमा प्राथमिकता दिएर कार्ययोजना बनाएको छ, जसको प्रभावकारी कार्यान्वयनबाट यस क्षेत्रका कृषहरूको जीवनस्तरमा आमूल परिवर्तन हुने एमालेको दावी छ।
पार्क निर्माण, सडक तथा यातायात व्यवस्थापन सहजताको समुचित प्रवन्धन, यातायातको विकासका सन्दर्भमा एमालेले सडक र पेट्रोलियम इन्धनको विकल्पका मार्ग तथा इन्धनको उपयोगमा पनि आफ्नो ध्यान पुर्याएको छ। जसमा रज्जुमार्ग, जलमार्ग तथा विद्युतीय इन्धनको प्रयोगबाट सञ्चालन हुने सवारी साधनको उचित व्यवस्थामा पनि एमालेले आफ्नो विशेष ध्यान पुयाएको छ।
खेलकूद, भाषा तथा कला सँस्कृतिको विकास र प्रवद्र्धनमा पनि एमालेले नवीन र वैज्ञानिक कार्ययोजनाको परिकल्पना गरेको छ। उद्योग स्थापना, जीर्ण उद्योगको मर्मत सम्भार र विभिन्न प्रकृतिका निर्यातयोग्य तथा घरेलु कच्चा पदार्थबाट सञ्चालन हुने विभिन्न उद्योग स्थापना र सञ्चालन कार्यलाई एमालेले आफ्नो प्रतिवद्धताको प्राथमिकतामा समेटेको छ।
एमालेले जनताको स्वास्थ्य, सरसफाई, शान्ति सुरक्षा जस्ता विषयलाई नैसर्गिक अधिकारको रुपमा लिएर समय सापेक्षा सुविधासम्पन्न, सरल–सहज र प्रभावकारी बनाउने कार्ययोजना बनाएको छ। विज्ञान तथा प्रविधिको सामयिक विकास, जलवायु तथा वातावरण संरक्षणका कामलाई प्रभावकारी र परिणाममुखी बनाइने एमालेको कार्ययोजना रहेको छ। प्रभावकारी राजश्व परिचालन नीति पनि एमालेको प्रतिवद्धताभित्र समेटिएको छ।
आम प्रदेशवासी नागरिकको प्रत्यक्ष जीवनपद्दतिसँग जोडिएका उपर्युक्त कार्ययोजनाले एमालेको विजययात्रालाई सुनिश्चित गरेको एमालेको बुझाइ रहेको छ।