जनता मलाई जिताउन आतुर छन्: विनोदकुमार खड्का (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

नेकपा (एमाले)को तर्फबाट सिन्धुली क्षेत्र नं. २ ‘क’बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन्, विनोदकुमार खड्का। उनी यसअघिदेखि नै सिन्धुलीमा जनताको सेवक भएर काम गरिसकेका व्यक्ति हुन्।

जनतासँग हातेमालो गरेर समाजका थुप्रै कामहरु पूरा गरेको अनुभव छ उनीसँग। ५ वर्षको कार्यकालमा सडक, सिँचाइ, पुल र कृषिका कामहरुमा सक्दो जोडबल गर्ने उनी साे क्षेत्रका प्रभावशाली व्यक्ति हुन्।

विगत झैँ अहिले उनी शिक्षा, स्वास्थ्य, महिला र युवाहरुलाई नेपालमै रोजगारीसँगै सिन्धुलीलाई पर्यटकीय क्षेत्र बनाउने याेजनासहित अगाडि बढिरहेका छन्। उनै विकासप्रेमी नेता विनोदकुमार खड्कासँग बिएले नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


फेरि पनि तपाईंको उम्मेदवारी किन ?

सुरुमा ०७४ सालको निर्वाचनमा मेरा क्षेत्रका मतदाताहरुले धेरै भोट दिएर जिताएकोमा धन्यवाद व्यक्त्त गर्न चाहन्छु। मेरो प्रतिद्वन्दीभन्दा झण्डै दोब्बर मत दिएर विजय गराउनुभयो। पाँच वर्षको कार्यकालमा मैले धेरै काम पूरा गरेँ। अझै सडक, पानी, पुल, सिँचाइलगायतका काम सक्न बाँकी छ। मेलै अघिल्लो वर्ष थालेका केही आधा–अधूरा कामहरु छन् भने केही नयाँ कामहरु पनि गरेर देखाउनु छ, त्यसैले फेरि पनि उम्मेदवारी दिएको हुँ।

तपाईंका एजेण्डाहरु के–के हुन् ?

मैले राष्ट्रियभन्दा पनि स्थानीय एजेण्डालाई प्राथमिकता दिएको छु। मेरो क्षेत्रका केही गाउँबस्तीमा सडक पुगेको छैन, त्यसलाई विस्तार गर्नु छ।

अहिले ५० बेडको अस्पताल छ, त्यसलाई सय बेडको बनाउँछु। नयाँ प्रविधिबाट स्वास्थ्य क्षेत्रमा जनताहरुलाई सेवा दिनु छ। सिन्धुलीबाट उपचार गर्न काठमाडौँ आउनुपर्ने बाध्यता हटाउन चाहन्छु।

जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनभएको छ त ?

निःशुल्क सेवा दिनु एक कोणबाट ठिकै पनि हो। तर, सबैलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न सकिँदैन्। तर, विपन्न असहाय वर्गका व्यक्तिहरुलाई भने निःशुल्क सेवा दिने वातावरण बनाउँछु। अनुदानको व्यवस्था गर्नुपर्छ। सिन्धुली अस्पताल थप निर्माण गर्ने काम भइरहेको छ। सिन्धुली अस्पतालमा पहिला ५० बेड थियो भने अहिले सय बेडको लागि काम अगाडि बढेको छ।

शिक्षा क्षेत्रको लागि के–के योजना अगाडि सार्नुभएको छ ?

मेरो निवार्चन क्षेत्रमा ४ वटा क्याम्पस छन्। ४ वटा क्याम्पसमा राम्रो पठनपाठन भइरहेको छ। तर, अझै पनि शिक्षाका लागि काठमाडौं आउने क्रम रोकिएको छैन्। किनभने, हाम्रो जिल्लामा भएका क्याम्पसहरुमा चाहिने जति विषयमा पढाइ नभएर हो। यस समस्याको समाधान गर्छु। मेलै यो सँग सँगै प्राविधिक शिक्षा भित्र्याउन आँटिरहको छु। यो दुई कुरा पूरा गर्ने बित्तिकै शिक्षा क्षेत्रमा ठुलो कायापलट हुन्छ।

युवाको हकमा के सोच्नुभएको छ ?

युवाको हकमा भने विदेश जानेहरुको सङख्या निकै धेरै छ। म यसलाई रोक्न सिन्धुलीमा युवा रोजगार कार्यक्रम चलाउँछु। सिन्धुलीमा युवालाई हुने रोजगारी पनि प्रशस्तै छ। युवाले पनि देशमा नै केही गर्न सकिन्छ भनेर काम गर्नुपर्छ। सिन्धुलीमा युवाले कृषि, पशुपालन र खेतीमा राम्रोसँग काम गर्छन् भन्ने आश गरेको छु। प्रदेश सरकारले अनुदान दिने व्यवस्था गरेको छ। थुप्रै युवा कृषिमा आबद्ध भएका छन्। आफ्नाे क्षेत्रका जनतालाई जसरी भए पनि कृषिसँग जोड्नु छ।

तपाईंका चुनाव जित्ने आधार के–के हुन् ?

विगत पाँच वर्षको कार्यकालमा मेलै गरेको काम र जनतासँगको सम्बन्ध नै मलाई जित दिलाउन पर्याप्त छ। पहिलाका जनप्रतिनिधिले जनतालाई झुक्काए तर मेलै मेरो कार्यकालमा प्रत्यक्ष काम गरेँ। मेलै सिन्धुलीमा १५ वटा पक्की पुलको योजना अगाडि बढाएको थिए, जसमा पाँच वटाको काम सम्पन्न भइसकेको छ भने १० वटा पुलको काम भइरहेको छ। बाटोको हकमा भने भित्री सडकको निर्माणको काम गर्नु छ। ठुलो सडकको भने लगभग कामहरु भइरहेको छ।

गठबन्धनसँग कत्तिको डर लागेको छ ?

यो गठ हो बन्धन होइन्। अहिले कसैलाई निर्देशन दिने बित्तिकै मत हाल्दैनन्। पार्टीका व्यक्तिको जनतासँगको साथ हेर्छन्। मेरो निवार्चन क्षेत्रमा व्यक्तिले गरेका काम हेर्छन् भन्ने मेलै आशा गरेको छु। जनताले हामी पार्टी हेर्दैनाैँ भनेर स्पष्ट रुपमा भनेका छन्। हाम्रो लागि काम गर्ने उम्मेदवार चाहिन्छ भन्ने उहाँहरुको धारणा छ। जनताले मेलै गरेको काम हेरेर सही ठाउँमा मत हाल्छन्। मेलै धेरै काम गरेँ र अपूरा काम पूरा गर्न प्रयास पनि गरेको छु। जनता मलाई जिताउन आतुर हुनुहुन्छ।

महिलाको हकमा रोजगारीको व्यवस्था कसरी मिलाउनुहुन्छ ?

महिलाले सानो–सानो लगानीमा कामहरु गरी नै रहनुभएको छ। जुन गतिमा हुनुपर्ने हो त्यो भएको छैन। महिलाले पनि कृषि, पशुपालनलगायतका काममा संलग्न हुनुहुन्छ। महिलाले अहिले सहकारीबाट पैसा निकालेर सानो व्यवसाय गर्न थाल्नुभएको छ। यसमा प्रदेश सरकारले गर्नुपर्ने सहयोग रहन्छ। अनुदान र कृषि तालिमको व्यवस्था मिलाउन हामी पहल गरिरहेका छाैँ।

अन्त्यमा, तपाईं आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?

विगतमा जस्तो यो वर्ष पनि म जनताकै साथमा छु। म निर्वाचित भएपछि जनताबीच नजाने प्रतिनिधि होइन्। अझै पनि मेलै अपूरा कामहरु पूरा गर्नु छ र मलाई स्थानीय बासिन्दाहरुले साथ दिनुहुन्छ भन्नेमा कुरामा म निर्धक्क छु। म जनताको शासक होइन सेवक बन्न चाहन्छु। त्यसलै मलाई फेरि एकपटक यहाँका मतदाताहरुले जिताएर अपूरा कामहरु पूरा गर्न दिनुहुन्छ भन्नेमा विश्वस्त छु।

प्रकाशित मिति: : 2022-11-08 21:50:00

प्रतिकृया दिनुहोस्