झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेसनलिस्ट पिपुल्स पार्टीको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका युवा उम्मेदवार राजन चुँडालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४५ हजार मतअन्तरले जितेर देखाउने बताएका छन्।
उनले नाती पुस्तालाई पालो दिनुपर्ने बताउँदै हजुरबुबाहरुले आराम गर्नु पर्ने उल्लेख गरे। 'मंसिर ४ को निर्वाचनमा ४५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुन्छु, लेखेर राख्नुहोस्',उनले भने।
लाटेकोसेरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका चुँडालले झापा क्षेत्र नं ५ मा आफ्नो बलियो उपस्थिति रहने दावी गरेका हुन्। उनले आफूलाई सबैतिरबाट भोट आउने बताए।
‘मलाई सबैतिरबाट भोट आउँछ’, पत्रकारसङ्गको कुराकानीमा उनले भने, ‘कांग्रेस, एमाले, राप्रपा, माओवादी, आदिवासी, मधेसी, उद्योगी, व्यवसायी, बुद्धिजीवि, संचारकर्मी, कलाकारलगायत सबैले मलाई सहयोग गर्छन्।’
उनले पद र शक्तिको दुरुपयोग नगर्ने, विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने, कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने बताए।
चुँडालले सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सधैँ खबरदारी गर्ने, लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहने, राष्ट्रिय स्वाधीनता, देशको अखण्डता र राष्ट्रिय सुरक्षाको विषयमा अविचलित भई उभिने, नैतिकतामा प्रश्न उठे राजीनामा दिने र छानबिनका लागि सहयोग गर्नेसमेत दाबी गरे।
भूमिहीन किसान, पिछडिएको वर्ग र समुदायको हितलाई प्राथमिकतामा राख्ने, सन्तुलित विकासको पक्षमा उभिने, निःशुल्क स्वास्थ्य र शिक्षा दिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रयत्न गर्ने, आयात प्रतिस्थापन गर्ने विधिका पक्षमा बोल्ने ,व्यापार घाटा घटाउन सहयोग गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने प्रयत्न गर्नेलगायतका प्रतिवद्धता उनले जनाएका हुन्।
‘म जनताका लागि भएको, हिजो पनि जनताको बीचमा थिएँ, आज पनि जनताको सेवामा छु, भोलि पनि सक्रिय हुनु मेरो कर्तव्य हुनेछ’, उनले भने। ‘मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमान्दारिता सँधै जाँच होस्।’
पूर्वाधार र प्रचारप्रसारको माध्यमबाट पर्यटक भित्रएर स्थानीयबासीलाई आयआर्जनको अवसर सिर्जनाका साथै रोजगारी सिर्जना गराउन सकिने उनले बताए। 'जलविद्युत् र पर्यटनको विकासबाट स्थानीयवासीका साथै तीन तहका सरकारलाई पनि रोयल्टी आम्दानी हुन्छ', उनले भने। यहाँ जडिबुटीको पनि प्रशस्त सम्भावना छ।
व्यवसायिक जडिबुटी खेती, पशुपालन र कृषि लक्षित कार्यक्रम भित्र्याउने योजना छ। त्यस्ता कार्यक्रमलाई वास्तविक कृषकको पहुँचमा लैजान र उपलब्धिमूलक बनाउन व्यवहारिक तथा सरल नीति बनाउनुपर्ने छ। ग्रामीण र दुर्गम क्षेत्रका नागरिकहरूले सार्वजनिक सेवाका लागि पाउँदै आएको दुःख र झञ्झटलाई न्यूनीकरण गर्न सेवा प्रवाहमा प्रविधिको प्रयोगका साथै सुधारका लागि नीतिगत पहल गर्ने चुँडालको प्रतिबद्धता छ।
सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार गर्दै पहुँच वृद्धि गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, भौतिक र सामाजिक विकास गर्ने, आधुनिक कृषि प्रणालीको विकास, पर्यटन प्रवर्द्धन गर्ने, खेलकुदको विकास, उत्पादनमा जोड, संस्कृति संरक्षणका मुद्दालाई उनले जोड दिएका छन्।
उनले भिजन बोकेका युवालाई मौका दिनुपर्ने बताउँदै मतदातालाई पछि ५ वर्षसम्म नपछुताउन आग्रह गरे।