सांसद भएपछि राज्यबाट पाउने तलब सुविधा लिन्नँ : सुनिल शर्मा (भिडियोसहित)

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेदवार डा. सुनिलकुमार शर्माले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिने घोषणा गरेका छन्।

निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाई सम्बाेधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफू समाज र राष्ट्रलाई सेवा दिनका लागि मात्र उम्मेदवार भएको बताए। उनले भने, 'सांसद भएपछि सेवा लिने भन्दा पनि यो समाज र राष्ट्रलाई के बढी दिन सकिन्छ, मेराे ध्यान त्यसमा बढी छ।'

भ्रष्टाचार गर्नु वा घुस खानु आफ्नाे लागि आमाको रगत खाए समान हुने भन्दै शर्माले राज्यकोषबाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन्।

यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जनचाहाना पूरा हुन नसकेको शर्माको भनाइ थियो।

शर्माले भने, 'कसरी घुस खाने, कसरी भ्रष्टाचार गर्ने भन्ने तिर ध्यान भएकाहरुले निर्वाचित भएपछि कसरी देश र समाजको विकास हुन्छ भन्नेमा ध्यान दिँदैनन्? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिएर केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु।'

'यो निर्वाचन भ्रष्टाचार गर्ने र नगर्नेहरुबीचको लडाइँ हो, अब सार्वभौम जनताले कसलाई सांसद बनाउने फैसला गर्नुपर्छ', शर्माले भने। आज देशले भाेगिरहेकाे अधिकांश समस्याको मुल कारण भ्रष्टाचार भएको भन्दै भ्रष्ट राजनीतिक नेतृत्वलाई पराजित गर्न पनि शर्माले सबैलाई आग्रह गरे।

यहाँ जनता रोग र भोकले छट्पाइरहेका बेला पनि कमिसन खानेहरु छन्, तिनैले देश बर्बाद पारे, अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सबैभन्दा ठुला न्यायधीश भएकाले अब जनताले भष्टहरुलाई चोट दिएर आफूलाई भोट गर्नुपर्ने शर्माको भनाइ थियो।

प्रकाशित मिति: : 2022-11-08 14:49:00

प्रतिकृया दिनुहोस्