पुरानो युग धार्मिक सत्ता अर्थात् सांस्कृतिक राष्ट्रहरूको थियो । तर, एउटै राज्यमा बहुसांस्कृतिक र बहुजातीय उपस्थितिका कारण नयाँ खालको बहुराष्ट्रिय राज्य आवश्यक भयो । पुराना राष्ट्रहरू एकल धार्मिक सांस्कृतिक राज्य भएकाले निश्चित एकल धार्मिक प्रथा र मिथकीय नैतिकताले सञ्चालित हुने गथ्र्यो । नयाँ राज्यहरू बहुधार्मिक बहुसांस्कृतिक राज्यलाई एकल धार्मिकताले सञ्चालन गर्नु सम्भव थिएन । ऐतिहासिक क्रममा अनेक सामाजिक अन्तर्संघर्ष र अन्तर्सम्बन्धको बीचबाट मानवीय र सामाजिक हितका आधारमा साझा समझदारीको विकास भयो । यो ‘राजनीति’ थियो ।
मानवीयता, धर्मनिरपेक्षता समानता र स्वतन्त्रतामा आधारित यस समझदारीले समुदायमा रहेको व्यक्तिको निजी धार्मिक र सांस्कृतिक आस्थाको सम्मान त गथ्र्यो, तर राज्यलाई सबै धार्मिकता र सांस्कृतिकताबाट निरपेक्ष मान्थ्यो । यसलाई तपाईं पुरानो मिथ चेतनाअनुकूल धर्मनिर्देशित सांस्कृतिकताको विकल्पमा नयाँ ऐतिहासिकबोधबाट विकसित वैज्ञानिक चेतनाअनुकूल मानवीयता निर्देशित नयाँ राजनीतिक सांस्कृतिकता पनि भन्न सक्नुहुन्छ । यस नयाँ चेतना तथा इतिहासबोधबाट प्रेरित भएर आर्थिक, सांस्कृतिक र शासकीय शोषणबाट मुक्त हुन विगत तीन सय वर्षमा विश्वमा अनेकौँ सामाजिक आन्दोलन जनसंघर्ष, विद्रोह र क्रान्ति भएका छन् ।