चुनाव लड्नकै लागि चन्दा माग्दिनँ : विशाल भट्टराई (अन्तर्वार्ता)

ममता आचार्य

काठमाडौं
BreaknLinks
BreaknLinks

मंसिर ४ गते हुने निर्वाचनका लागि खाेटाङबाट एमालेले प्रतिनिधि सभा सदस्यका लागि विशाल भट्टराई उम्मेदवार बनाएकाे छ। एमालेका प्रभावशाली नेताका रूपमा स्थापित भट्टराईले खाेटाङबाट पटक–पटक निर्वाचन जित्दै आएका छन्।

उनी यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामकुमार राईसँग कडा प्रतिस्पर्धा हुने देखिएकाे छ। सत्ता गठबन्धनसँग एक्लै चुनावी मैदानमा उत्रिएका भट्टराईलाई यसपकट चुनाव जित्न कति सहज छ ? उनी मतदाताकाे बिचमा कसरी गइरहेका छन् ? लगायतका विषयमा रहेर बिएल नेपाली सेवाले गरेकाे कुराकानीकाे संपादित अंश प्रस्तुत छ:


तपाईंलाई खोटाङका जनताले किन भोट हाल्ने ?

नेकपा (एमाले)को तर्फबाट खोटाङको एक मात्र निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवारको रुपमा म खडा भएको छु। खोटाङमा बिगत २५ वर्षदेखि विशाल भट्टराई जनताको दु:ख/सुख, सेवा, सुविधा, विकास, राजनीतिसँग कुनै न कुनै रुपमा जोडिदै आएको छ। हामीले सुरु गर्दा यहाँको विकास धेरै नै पछि परेको अवस्थामा थियो। हामी पार्टी र जनप्रतिनिधितोमा हुँदा मात्र होइन नहुँदा पनि काम गरियाे। केन्द्रदेखि विभिन्न निकायबाट हामीले यहाँको विकासमा पहलकर्मी ल्यायौं, जसले गर्दा खोटाङ अहिले मध्यमस्तरको विकास भएको जिल्लाकाे रुपमा अगाडि आएको छ। मानवीय विकासको सूचाङ्कमा, शिक्षा र लोकसेवाको क्षेत्रमा पनि खोटाङले राम्रो गर्दै आएको छ।

जति पनि एमालेका राष्ट्रिय एजेण्डा घोषणापत्र छन् ती सबैलाई खोटाङमा लागू गर्नकाे लागि मैले जित्न जरुरी छ। त्यो एजेण्डा म आफैंले बोकेर पनि हिँड्छु। ६३५ मेगावाटको दूधकोशी खोला जलविद्युत् आयोजना, पक्कीसडक बनाउने, बिजुली पुग्न बाँकी भएका ठाउँमा बिजुली पुर्याउने र पानी अभाव भएका ठाउँमा पानीको सिँचाइ पूर्ति गर्ने, शिक्षा र अस्पालातको क्षेत्रमा तत्काल विकास गर्न आवश्यक छ। यी सबै काम पूरा गर्नकाे लागि मलाई भाेट दिनुपर्छ।

दुई-दुई पटक निर्वाचन जितिसक्नुभयो ? आफ्नो दुई कार्यकालमा खोटाङमा के–कस्ता कामहरु गर्नुभयो ?

मैले खोटाङमा ०७० मा क्षेत्र नं २ बाट विजय हासिल गरेको थिएँ। मेरो मुख्य काम भनेको संविधान निर्माणको काम हो। त्यो प्रारम्भ गर्नुको सँग सँगै जनताले हामीलाई त्यो समयमा दिएको मतादेश जनादेश पनि पूरा गर्याैँ। धेरै ठाउँमा बिजुली, मोटर बाटो, खानेपानी र सिँचाइको विकास पनि गरेका थियौं।

०७४ को निर्वाचनमा जनताले फेरि पनि अनुमाेधन गर्नुभयो। प्रतिनिधि सभातर्फ एउटा मात्र क्षेत्र थियो, त्यहाँबाट मैले नै जितेँ। त्यो समयमा खोटाङले विकास निमार्णको क्षेत्रमा धेरै फड्को मारेको अनुभव हामीले गरेका छौँ।

पटक-पटक किन तपाईं मात्र उम्मेदवार बन्नुहुन्छ ? के खोटाङमा एमालेका अरु योग्य नेता छैनन् ?

यसको जवाफ मैले नै दिन त्यति सान्दर्भिक नहोला तर म यो कुरामा गर्व गर्छु। पटक–पटक टिकट पाउँदै आउँदा कहिले जित त कहिले हार व्यहेरेको छु। यहाँ अरु पनि थुप्रै नेताहरु हुनुहुन्छ नभएको होइन तर यहाँको विकासमा मैले निकै महत्तवपूर्ण भूमिका खेलेको कारण मैले टिकट पाएको हुँ।

राजनीतिमा पुस्तान्तरणको मुद्दा पनि व्यापक छ, तपाईं पुस्तान्तरण गर्ने कुरामा कत्तिको सकारात्मक हुनुहुन्छ ?

म सकारात्मक छु। हाम्रो पार्टीले जिम्मेवारीको लागि ७० वर्षे प्रावधान राखेको छ। यो राख्नमा मेरो पनि भूमिका रहेको थियो। आगामी दिनमा नि यो राख्ने छौँ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आम रुपमा सत्य हो। तर, नयाँ पुस्ता सबै राम्रा हुन्छन् र पुराना सबै गलत छन् भन्ने चाहिँ एकदम गलत छ। म पनि खोटाङको नयाँ पुस्ता नै हुँ।

‘खोटाङ जिल्ला किराँतहरुको किल्ला’ भनेर पनि चिनिन्छ, त्यसमाथि अहिले त वाम लोकतान्त्रिक गठबन्धन पनि छ यस्तोमा तपाईं जित्नेमा कतिको ढुक्क हुनुहुन्छ ?

गठबन्धन बनेकै एमालेको हाउगुजिले हो। यदि एमाले कमजोर थियो भने गठबन्धन बन्ने थिएन। एमालेको डरले नै बनेको हो, हामीले यो बिर्सनु हुँदैन। त्यसैले एमालेले यसलाई जसरी पनि भत्काउनपर्छ। देश भित्रका सबै पार्टीहरु यहाँ छन्। बाँकी कुनै रहेको छैन। यो गठबन्धनलाई परास्त गर्न एमाले काफी छ। जनताले गठबन्धन हेर्दैनन् व्यक्ति हेर्छन्। त्यसैले मेरो जित सुनिश्चित छ। मैले अवश्य जित्छु।

निर्वाचन लड्नका लागि आर्थिक चलखेल धेरै हुन्छ भन्ने सुनिन्छ, खोटाङतिर के छ र तपाईंले चुनावी खर्च कहाँबाट जुटाउनु भएको छ ?

म पृथक धारबाट राजनीति गर्दै आएको मान्छे हुँ। ०७० मा मैले ७ लाखबाट निर्वाचन जितेको थिएँ। ०७४ खासै खर्च नै गरिनँ, हामीसँग पैसा नि थिएन खर्च नगरी जितेँ र अहिले पनि सामान्य पर्चाकाे लागि मात्र खर्च गरेका छौँ। सहकर्मीले र साथी–भाइबाट आएको सहयोगबाहेक हामीले चन्दा मागेर चुनाव लड्ने छैनाैँ।

खोटाङका मतादाता तपाईंको एजेण्डाप्रति कतिको सकरात्मक छन् ? मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मूल रुपमा एमालेका राष्ट्रिय एजेण्डाप्रति जनताहरुको धारणा सकरात्मक छ। साथ साथै खोटाङको एजेण्डाप्रति पनि मतदाता सकरात्मक छन्। यहाँका जनताले एमालेलाई नै जिताउने छन्। एमालेको सरकार बनाउन हामी पहल गर्ने छौँ।

अन्तिममा मतदाताहरुलाई के भन्न चाहन्नुहुन्छ ?

यो गठबन्धन आत्मासमर्पणवादी हो। यसले अर्थतन्त्रलाई चौपट बनाएको छ। केपी शर्मा ओलीकाे पालामा अर्थतन्त्रका जे जस्ता सुसंस्कार थिए, सबै ध्वस्त बनाएका छन्। हामीले यो सबैलाई सुधार्ने छौँ। विकास निमार्णमा सधैं अघि नै हुने छौँ।

प्रकाशित मिति: : 2022-11-05 21:40:00

प्रतिकृया दिनुहोस्