रवि लामिछानेको स्वतन्त्र पार्टी र स्वतन्त्रको अर्थ

BreaknLinks
BreaknLinks

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछाडि लोकतान्त्रिक पद्धति र प्रक्रियाको अत्यन्त धेरै प्रयोग र व्याख्या हुँदै आएको छ। लामो समयसम्म निरंकुश व्यवस्थाले पुस्तौँ पुस्तामाथि शासन गरेको अवस्थाले आमनेपाली जनताहरुमा पूर्णरुपमा राजनीतिक अन्धोपना ल्याएको स्थिति थियो।

खासगरी आधुनिक नेपालको निर्माणपछि करिब २५० वर्षसम्म शाहवंशको राजतन्त्रात्मक शासन व्यवस्था चल्यो। त्यसैबीच शाहवंश र राणाहरुको द्वन्द्वात्मक वातावरणमा करिब १०४ वर्षसम्म राणा शासन पनि चल्यो। जसलाई हुकुमी शासन पनि भन्ने गरिन्थ्यो। हुकुमको आधारमा शासन गर्नु हुकुमी शासन हो। शासक वर्ग र शाेषित वर्गमा देश विभाजित थियो नै। यसैबीच पटक–पटक हाम्रा अग्रजहरुले प्रजातन्त्रका लागि रगत बगाएर अन्ततः २०६५ साल जेष्ठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो।

यस घोषणा सँग सँगै संविधान सभाको निर्वाचनबाट संविधान तयार गरी यस राज्य व्यवस्थालाई वैधानिकता दिइयो। यद्यपि आजसम्म पनि केही आन्तरिक असन्तुष्टिहरु बाँकी नै रहेका छन्। तर, जब देशमा लोकतन्त्र जन्मियो, त्यसपछि हजारौँ राजनीतिक शक्तिहरू पनि जनस्तरबाट जन्मिन थाले र आजसम्म पनि त्यसप्रकारका राजनीतिक शक्तिहरु जन्मिरहेका छन्, हुर्किरहेका छन् र बढिरहेका छन्। त्यसैको फलस्वरुप सञ्चारकर्मी रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिन सकिन्छ।

व्यक्तिगत रुपमा रवि लामिछानेलाई टिकाटिप्पणी गर्नुभन्दा पनि राजनीतिक दल नै खोलेर राजनीतिमा होमिइसकेका लामिछानेलाई हाल राजनीतिक पक्षबाट नै टिप्पणी गर्नु उचित हुन्छ भन्ने लाग्छ। लामो समय सञ्चार क्षेत्रमा प्रख्याती प्राप्ती गरेरै कार्य अगाडि बढाएका उनले यतिबेला निर्वाचनमा प्रत्यक्ष भाग लिने गरी नयाँ पार्टी दर्ता गराएर राजनीतिक तवरबाट समाजमा आफ्ना गतिविधि बढाइरहेका छन्। मिति २०७९ साल असार २ गते बिहीबार अर्थात् जुन १६ तारिख सन् २०२२ मा पत्रकारिता छोडेर नेपाली राजनीतिको मुलप्रवाहमा जोडिएका रवि लामिछानेले राजनीतिक दल बनाउन र निर्वाचनमा जान नपाउने भने पक्कै होइन।

हो, यसैलाई भनिन्छ, लोकतन्त्रको सुन्दर फूलबारी भनेर देशमा हजारौं सहिदहरुले आफ्नो प्राण त्यागेर लोकतन्त्र नल्याई दिएका थिए भने रवि लामिछानेजस्ता पत्रकारले, रवीन्द्र मिश्रजस्ता व्यक्तिले वा बालेन साह र हर्क साम्पाङ्गजस्ता युवाहरुले राजनीतिमा सहजै प्रवेश गर्न पाउने थिए कि थिएनन होला तर आज आएर जोस र जाँगर हुने र रहर र आँट हुने जति सबै व्यक्तिहरुले राजनीति गर्न पाउने, दल खोल्न पाउने, निर्वाचनमा भाग लिन पाउने, निर्वाचित भएर जनताको सेवा गर्न पाउने भएका छन् र धमाधम राजनीतिक क्रिायाकलापहरु गरिरहेका छन्।

प्रश्न के हो भने प्रत्येक नागरिकलाई राजनीतिक अधिकार हाम्रो संविधानले नै दिएको अधिकार त हो तर राजनीति मौसमी बाली होइन, फले खाऊँ, नफले नखाऊँ भन्ने। केही प्राविधिक उपलब्धीहरु त होलान् तर जस्तो मौसम आयो त्यस्तै राजनीति पनि गर्दै र गराउँदै जाने हो भने चाहिँ स्थिरताभन्दा बढी अस्थिरता र दीर्घकालिनभन्दा बढी अल्पकालिन राजनीतितिर जान सक्छ। जस्तो कि हालसालै रवीन्द्र मिश्रले पार्टी र विचारलाई जीवन दिन नसक्दा रा.प्र.पा.जस्तो पुरातन, पश्चगामी पार्टीलाई साथ दिनुपर्ने र आड लाग्नुपर्ने स्थिती आएको हामी सबैले देखिरहेका छौ। के रा.प्र.पा.मा जानका लागि रवीन्द्र मिश्रले हजारौँ युवाहरलाई बेकुव बनाएका थिए त ? या माथि उल्लेख गरिए झैँ मौसमी फल टिप्नका लागि राजनीतिमा होमिएका थिए ? प्रसङ्घमा रवि लामिछानेको झण्डै झण्डै रवीन्द्र मिश्रसँग तुलना गर्न मिल्छ नै होला भन्ने लाग्छ।

रवि र रवीन्द्र दुवै पत्रकारिता पेसाबाट राजनीतिमा प्रवेश गरेका व्यक्तिहरु हुन्। एकताका रवीन्द्र पनि चर्चित र सक्षम पत्रकार थिए र रवि पनि चर्चित र सक्षम पत्रकार थिए र हाल समकालीन राजनीतिमा पनि सँग सँगै देखिन्छन्। संविधानले दिएको अधिकार हरेक सक्षम नागरिकले सदुपयोग गर्न पाउँछ तर भनिन्छ, संसारको सबैभन्दा जटिल कार्यहरुमध्ये एउटा राजनीति पनि हो। राजनीति एउटा ऊर्जा हो, राजनीति त्याग हो, तपस्या हो, बलिदानी हो, समर्पण हो, लगाव हो र कठोर आत्मनिर्णय हो। ठोस परिस्थितीको ठोस विश्लेषणसहितको दीर्घकालिन रणनीनि हो। यो एक पुस्ता र एक मौसमसँग तुलना गर्न नमिल्ने प्रक्रिया हो। त्यो सँगै रहर पनि हो र कहर पनि हो। राजनीतिमा प्रत्येक क्षण, प्रत्येक परिस्थिती उतिकै महत्वपूर्ण र निर्णायक हुन्छन्।

हुनतः दुनियाँमा असम्भव भन्ने चीज नै छैन भनिन्छ तर पनि असम्भव भित्रकै सम्भावनाको खेल राजनीति हो। यसको तात्पर्य रवि लामिछाने अयोग्य र असक्षम भन्न बिल्कुल मिल्दैन कि संवैधानिक अधिकारले नै हरेक नागरिक राजनीतिक रुपमा योग्य र आवश्यक छ। तर, के आजको सहज र सरल समयमा राजनीतिलाई जसरी अहिलेको पुस्ताले सजिलो कोणबाट व्याख्या गर्दछन र प्रयोगमा हाम फाल्दछन्, विगतको राजनीतिक इतिहास त्यतिकै दर्दनाक, जटिल र चुनौतिपूर्ण थियो। हुनतः ती वीरवीरङ्गनाले आजको दिन नल्याई दिएका थिए भने रवि, बालेन, हर्क वा रवि लामिछानेजस्ता व्यवसायीक व्यक्तिहरुले पनि मुलधारको राजनीतिमा प्रवाह हुन सक्ने थिएनन नै, त्यसकै लागि पनि हामीले सहिदहरुलाई पहिलो प्राथमिता दिएर अभिनन्दन गर्नै पर्छ।

आजको कथा रवि लामिछानेसँग सम्बन्धित छ कि स्थानीय तहको निर्वाचन २०७९ मा काठमाडाैँमा बालेन साह, धरानमा हर्क साम्पाङ्गलगायत स्वतन्त्र व्यक्तिहरुले चुनाव जिते भन्दैमा प्रदेश र संघीय संसदको निर्वाचनमा पनि स्वतन्त्र उमेदवारहरुले नै जित्छन त ? के देशभर राजनीतिक दलहरुप्रति वितृष्णा पैदा भएकै हो त ? राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति जनताहरुको भेदभाव पैदा भएकै हो त ? के कारण र आधारबाट नेपाली जनता यति धेरै आक्रान्त छन् त ? दलीय व्यवस्थाप्रति आक्रान्त हुन कि दलका भ्रष्ट नेता कार्यकर्ताप्रति ? अबका दिनमा राजनीतिक दलका प्रतिनिधि भन्दा स्वतन्त्र प्रतिनिधि बढी हुँदै गए यसको परिणाम के होला त ? के साँच्चै नेपाली जनताले विकल्प खोजेकै हुन त ? यदि त्यसो हो भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर चर्चामा रहेका रवि लामिछानेको पार्टी र उनीले माथिका सवालको सम्बाेधन गर्न सक्छन त ?

हो, रवि र रविको पार्टी माथिको यक्ष प्रश्न भने यो हो। स्वतन्त्र नाम धारण गर्ने वित्तिकै नेपालजस्तो देश र नेपाली समाजमा पूर्ण स्वतन्त्र छु, कसैले भन्छ भने त्यो आधा पनि सत्य नहुन सक्छ। वास्तविकता यो हो कि स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारले जित हासिल गरेकै कारण अबको निर्वाचनमा पनि स्वतन्त्रकै जित हुन्छ र स्वतन्त्र घोषणा गरौं भन्ने अभिप्रायले खोलिएका स्वतन्त्र पनि आन्तरिक रुपमा स्वतन्त्र छैनन्।

स्वतन्त्र भनेको के हो ? स्वतन्त्र कसलाई भन्ने ? र स्वतन्त्र कसरी हुन्छ ? भन्ने महत्वपूर्ण सवालहरुको जवाफ आज कसैले दिनुपर्छ भने त्यो स्वतन्त्रवालाले नै दिनुपर्छ। बहुदलीय प्रतिस्पर्धाको व्यवस्था रहेको मुलुकमा स्वतन्त्र शब्दको बढी प्रयोग र प्रचार हुनु पनि अन्ततः प्रतिगामी हुन सक्छ, किनकी दलहरुको समर्थन बिना स्वतन्त्र हुन्छु भन्नु बहुदलीय व्यवसथाको विपरीत हुन जान्छ।

तसर्थ, दलहरुको अकर्मव्ययता र अदुरदर्शीताका कारण फेरि मुलुकमा स्वतन्त्र पार्टीको नाममा प्रतिगमनकारी शक्ति नै जन्मिदैछ भन्ने पुष्टि हुँदै गइरहेको छ। पहिलो तथ्य रवि लामिछानेको स्वतन्त्र पार्टी जब राजनीतिक दलको रुपमा स्थापित भयो वा वैधानिक रुपमा दर्ज भयो तब त्यो स्वतन्त्र भन्ने रहेन, त्यो पनि अन्य दलहरुजस्तै दलहरु मध्येको एक दल भयो। पार्टीको नाम घोषणा गर्ने अनि हामी स्वतन्त्र हौ भनेर सिधा जनतामाथि कति घोर बिठ्याइ गर्ने हो त महाशय रवि लामिछानेको पार्टीले। अन्य दलका नेता कार्यकर्तालाई दवाव दिने, चुनौती दिने अनि फेरि आफूले पनि त्यही बाटो समाउने ?

सिधा कुरा जनतासँग कार्यक्रम चलाएर रविले जुन छवि बनाएका थिए, राजनीतिमा प्रवेश गरेर त्यतिकै सफलता प्राप्त गर्न निक्कै गाह्रो छ। बहुदलीय प्रतिस्पर्धामा पनि एकात मानिसहरुले स्वतन्त्रमा उम्मेदवारी दर्ता गर्ने, एक्लै भएपनि निर्वाचनमा जाने, स्वतन्त्रको पहिचान बनाउने अभियानहरु यसभन्दा पहिलैदेखि पनि चलेकै हुन तर यसपटक नेपाली राजनीतिमा स्वतन्त्रको बढी व्याख्या र चर्चा हुनुका पछाडि चाहिँ आवश्यकताभन्दा बढी चर्चा बढाउनु पनि हो। रवि लामिछानेको स्वतन्त्र पार्टी सरसर्ती हेर्दा स्वतन्त्र नभई मिसनमा उत्पादन भएको स्वतन्त्र नाम धारणा गरेको संस्था जस्तो लाग्छ। राजनीतिक रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेर कोही पनि सिधा नेपालीलाई सेल सेल सेल भनेर थोत्राे कपडा बेच्दैमा स्वतन्त्र हुन सक्दैन। स्वतन्त्र हुनलाई कुन–कुन शर्तहरु पूरा गर्नुपर्छ भन्ने पनि थाहा नहुने व्यक्तिले बजारमा आएको फेसनलाई पछ्याउनु एउटा राजनीतिक सामाजिक, वैचारिक रुपमा परिपक्व व्यक्ति र संस्थाको लक्षण होइन। स्वतन्त्र कुन ठाउँमा लागु हुन्छ र कुन समयमा प्रयोग गर्नुपर्छ भन्ने पत्तो नपाउने व्यक्तिहरुले किरा परेको पापड बेचे सो सरह स्वतन्त्र शब्द बेचिरहेको देख्दा उद्येक लागेर आउँछ।

हरेक परिस्थितीहरु जन्मिन्छन् आउँछन, जान्छन् त्यो सबै समयको उपज हो तर एकपटक राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि सडकमा नमस्कार गर्दै जाँदा पनि यसरी नै मानिसले जयजयकार गरेका थिए। यद्यपी, नेपालका राजनीतिक दलले जनतालाई जनस्तरबाट सजग गराएर गणतन्त्र घोषणा गराए भने आज रविजस्ता व्यक्ति र स्वतन्त्र शक्तिहरु बुरुकबुरुक उफ्रिनुमा पनि कतै अराजनीतिक तत्वले राजनीतिक रसायन त फालिरहेको त छैन।

अहिले नेपालमा स्वतन्त्रका नाममा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ। २/४ भोट आउँछ कि आउन्न स्वतन्त्र भई दिने जनता तर्साउने, स्वतन्त्र भइदिने शक्ति थर्काउने, यो गलत पद्धतीको विकास भई राखेको छ। जसले वास्तवमै स्वतन्त्र शक्ति होइन, अन्ततः छुट्टै योजना साकार गर्ने र गराउनेसम्म पुग्न सक्छ। हाम्रो देशका प्राय: सबै राजनीतिक दलहरु निष्कलङ्क रहन सकेनन् न त तीनका कार्यकर्ता नै रहे जसका कारण पनि आज जनताहरु वाक्कदिक्क भएर विकल्पपट्टी सोच्न बाध्य भएका हुन तर जनप्रतिनिधिहरु र राजनीतिक दलहरु बेलैमा सच्चिएर जनता माँझमा आए भने जनताले दलहरुको विकल्प सोच्ने छैनन नत्र यही समयमा प्रतिगमनकारी शक्तिले पनि भित्र भित्रै तानतुन गरिरहेको पनि हुन सक्छ।

अतः जन्मदै अस्वन्तत्र भएर जन्मेको संस्थामा आवद्ध व्यक्तिहरु कुनै हालतमा स्वतन्त्र हुन सक्दैनन्। नाङलो ठटाएर हामी तर्सिने कल्पना गर्नु उपयुक्त छैन।

प्रकाशित मिति: : 2022-11-04 21:30:00

प्रतिकृया दिनुहोस्