आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मत कम गर्न मोरङमा नमुना मतदान सुरु भएको छ। बुधबार विराटनगर महानगरपालिका– ९ बुधहाट चाेकमा नमुना मतदान गरिएको हो।
धेरै मतदातले मतदान गर्दा मत बदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए।
महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको अधिकारीले जानकारी दिए।
नमुना मतदान कार्यक्रममा मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र स्थानीय सर्वसाधारणहरूले मतदान गरेका थिए।
जिल्लाका १७ वटै स्थानीय तहहरूमा नमूना मतदान गराउने निर्वाचन कार्यालयले जनाएको छ।