जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पुनः सप्तरीबाट चुनावी मैदानमा उत्रनुभएको छ। २०६४ सालमा मोरङ, २०७० मा सुनसरी र २०७४ मा सप्तरीको क्षेत्र नं. २ बाट उहाँ निर्वाचित हुनुभएको थियो। यसपल्ट, उहाँ पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ। यसपटक उहाँ निर्वाचन क्षेत्र परिवर्तन गर्नुभएन।
आफ्नो क्षेत्रका मतदातामाथि विश्वास वा प्रत्येक निर्वाचन क्षेत्र परिवर्तन गर्दा व्यक्तित्वमा समेत असर पर्ने देखेर पुनः सोही क्षेत्रमा उठ्नुभएको बुझिन्छ। उहाँको यो निर्णय स्वागतयोग्य छ। उहाँले आफ्ना आलोचकको तत्काल मुख बन्द गर्नमा सफल हुनुभएको छ। निर्वाचन क्षेत्र वा जिल्ला परिवर्तन गरेको भए उहाँले हारको डरले भागेको आरोप लाग्ने थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छोडेर गोरखा पुग्नुभयो। जेजस्तो तर्क दिएपनि सर्वसाधारणको नजरमा उहाँ चितवनमा आपूmलाई असुरक्षित महशुस गरेपछि गोरखा सर्नुभएको हो। सो कारणले उहाँको आलोचना पनि भइरहेको छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. शेखर कोइराला, रामचन्द्र पौडललगायत कतिपय नेता पूर्ववत क्षेत्रबाट चुनावमा होमिएका छन्।
यतिखेर, जनता समाजवादी पार्टीका अध्यक्ष यादवका साथै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवार बनेपछि सो क्षेत्र बढी चर्चामा छन्। डा. राउत पहिलो चोटी प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ। यसअघि, २०७४ को निर्वाचनमा उहाँले मतपत्रको कोठाको बाहिरी भागमा छाप लगाउन आह्वान गर्नुभएको थियो। उक्त निर्वाचनलाई बहिष्कार गरेको रुपमा सम्झनु पर्दछ।
विगत पाँच वर्षको अवधिमा पार्टी दर्ता गरी स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएको थियो। डा. राउत पनि मधेसलाई आधार बनाएर राजनीति गर्नुहुन्छ। मधेसमा आफ्नो पकड बनाउनु छ र संसद्मा मधेसको हकहितका लागि आवाज उठाउने उद्देश्यका साथ निर्वाचनमा सक्रियताका साथ जुटेका छन्।
अर्कोतर्फ, सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुर पनि छन्। लोसपा पनि मधेस केन्द्रित राजनीति गर्छन्। समग्रमा भन्नुपर्दा तीनजना प्रतिस्पर्धीहरुका राजनीतिक आधार मधेस नै हुन्। उपेन्द्र यादव, डा. राउत र ठाकुरबीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसो त सो क्षेत्रबाट १७ जना चुनावी मैदानमा छन्। प्रत्येक उम्मेदवारले आफू जित्ने दावी गरिरहेका छन्।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिकासमेत समावेश सो क्षेत्रबाट अहिलेसम्म कुनैपनि निर्वाचित सांसद दोहाेर्याएर जित्ने शौभाग्यबाट बञ्चित छन्। कोही पनि दोहाेर्याएर नजितेकाले के उपेन्द्र यादवले जितेर नयाँ इतिहास रच्ने हो कि दोहाेर्याएर नजित्ने उम्मेदवारको सूचीमा समावेश हुने हो भन्ने विषयमा गन्थनमन्थन सुरु भएकाे छ।
राजविराज नगरपालिका समेटेर बनाइएका सो क्षेत्रबाट २०४८ सालमा काँग्रेसबाट हरिप्रसाद राय, २०५१ सालमा नेपाल सद्भावना पार्टीबाट अनिस अन्सारी, २०५६ सालमा राप्रपाबाट रेणुकुमारी यादव, २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना पार्टीबाट महेश यादव, २०७०मा माओवादी उम्मेदवारको रुपमा उमेश यादव र २०७४को निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट हाल (जसपा) उपेन्द्र यादव निर्वाचित हुनुभएको हो।
उहाँहरुमध्ये श्रीमती रेणुकुमारी यादव सप्तरीको अर्को क्षेत्रबाट निर्वाचित हुनुभएको छ भने अन्य कोही पुनः सांसद बन्न नसकेको हो। यसले के सन्देश दिन्छ भने जनतासमक्ष खरो उत्रन नसकेका दल वा निर्वाचित व्यक्तिलाई सो क्षेत्रका मतदाताले पुनः जित्ने मौका प्रदान गरेको देखिएन।
उपेन्द्र यादव एक सशक्त उम्मेदवार मात्रै होइन कि जसपाको अध्यक्ष पनि हुनुहुन्छ। उहाँ मधेस आन्दोलनको नेतृत्वकर्ता पनि हुन्। मधेस आन्दोलनको उपलब्धि कति भयो/भएन भन्ने विषयमा बहस आफ्नो ठाउँमा छ। तर, उपेन्द्रप्रति सर्वसाधारण जनताको हेराइ अहिले पनि सकारात्मक नै देखिन्छ। केही असन्तुष्टि पनि देखिएको छ। यसलाई चिर्नमा उहाँ कति सफल हुने हो, त्यो त निर्वाचनको परिणामबाट स्पष्ट हुन्छ।
तराईका जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा पार्टीको सङ्गठनभन्दा जातीय सङ्गठनले नै निर्णायक भूमिका खेल्दै आएको देखिन्छ। त्यसकारणले प्रायः सबै पार्टीले जातीय प्रभाव र आर्थिक रुपले अतिसम्पन्न व्यक्तिलाई उम्मेदवार बनाउँछन्। सप्तरीको क्षेत्र नं. २ पनि सो जातीय प्रभावबाट अछुतो छ भन्न मिल्दैन। सो क्षेत्रमा यादव जातिको बाक्लो उपस्थिति छ। उपेन्द्र पनि सोही जातिको हुनुहुन्छ। तर, यादव जातिकै महेश यादव र उमेश यादव दोहाेर्याएर नजितेको विषयलाई बिर्सनु हुँदैन।
जातिगत मत एकपटकको लागि हो भनेर विश्वास गरेपनि पुनः निर्वाचित हुनका लागि व्यक्तिको व्यवहार र कार्यकुशलताको आधारमा जनताले मतदान गर्छन्। यसपल्ट, जातिगत आधारमा मत खोज्ने उम्मेदवारलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ।
खासगरी सप्तरीमा बहुसङ्ख्यक जातिका मत गोलबद्ध हुनासाथ अल्पसङ्ख्यक जातिहरु पनि गोलबद्ध भएर मतदान गरेको विगतमा पनि देखिएको छ। यो एक किसिमको विकृति नै हो। मतदातालाई जातपातबाट माथि उठेर स्वच्छ छविका व्यक्तिलाई जिताउनका लागि गोलबद्ध हुनुपर्ने आजको आवश्यकता हो।
राजनीतिक दृष्टिकोणले परिभाषित गर्दा सप्तरीका बासिन्दाहरु धेरै बढी सजग छन्। कुन उम्मेदवारको जित्ने सम्भावना बढी छ, त्यसतर्फ तटस्थ मतको झुकाव हुने गर्दछ। कतिपय सर्वसाधारणहरु विभिन्न चोक चौराहा हुने गरेका तर्कवितर्कलाई गहरिएर सुन्ने गर्छन्। त्यसपछि कसलाई मतदान गर्दा उपयुक्त हुन्छ भनेर निर्णय गर्ने मतदाताहरु पनि छन्।
के अवस्था छ उपेन्द्र यादव को?
उपेन्द्र यादवले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी गठजोड गरेपछि चुनावको गणित फेरिएको छ। एमालेसँग गठजोडबाट स्वयं उपेन्द्र यादव कति लाभान्वित हुने विषयमा अहिले आँकलन गर्नु उचित हुँदैन। तर, २०७४ को निर्वाचनमा काँग्रेसको समर्थन पाएपछि उहाँका लागि जित धेरै सहज भएको थियो।
उपेन्द्र यादवले करिब २२ हजार मत पाउनुभएका थिए भने उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव ११ हजारको हाराहारीमा मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले साढे नौ हजार मत पाएका थिए। ठाकुर सत्ता गठबन्धनको समर्थनमा लोसपाका उम्मेदवार हुन्। उहाँ तेस्रो पटक चुनावी मैदानमा उत्रुभएकाे हाे।
स्थानीय तहको निर्वाचनको मतको आधारमा जसपा र एमालेको तुलनामा गठबन्धनतर्फ मत सङ्ख्या दोब्बर देखिन्छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पाएका मतमध्ये अधिकांश मत व्यक्तित्वको आधारमा पाएका हुन्छन्। तसर्थ, स्थानीय तहको आधार विश्लेषण गर्नु उचित होइन।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रका उमेश यादवले पाएका ११ हजार मतमध्ये अधिकांश मत उनको व्यक्तित्वको आधारमा पाएका मतको रुपमा हेरिन्छ। उमेशको सो मतमध्ये कति मत लोसपाका ठाकुरले पाउने हो भन्ने प्रश्न महत्वपूर्ण छ। उमेश यादव आफू प्रदेशसभामा उठेका छन्।
अर्कोतर्फ, उपेन्द्र यादवले पाएको मतमध्ये लोसपा र काँग्रेसको मत घट्ने सम्भावना छ। यी मतहरुमध्ये ठाकुर र डा. राउतले आफूतिर कति मत तान्नमा सफल हुने हो वा उपेन्द्रले विगतको मतमाथि कतिको पकड राख्न सक्छन्। यी कुराहरुको गहिरो विश्लेषण हुनु आवश्यक छ। यसो हेर्दा मत असन्तुलित अवस्था छ। त्यसकारण कुन उम्मेदवार जितको नजिक छ भन्न गाह्रो छ।
मधेस केन्द्रित नेताहरुमध्ये उपेन्द्र यादव र महन्थ ठाकुरप्रति मधेसी समुदाय बढी सकारात्मक दृष्टिकोण राख्छन्। उहाँसँग बढी आशामा पनि राख्नु स्वभाविक पनि हो। तर, वितेको पाँच बर्षको अवधिमा मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आचरण ढुलमुल अवस्थाको रह्यो।
केपी ओलीको कट्टर आलोचक मानिएका उपेन्द्र २०७४ को निर्वाचनपछि केपी ओलीको नेतृत्वमा गठित सरकारमा सहभागी हुनु, एक वर्षपछि मन्त्री पदबाट राजीनामा गर्नु, ओलीलाई प्रतिगमनकारीको संज्ञा दिनु, पाँच दलीय गठबन्धनमा सामेल हुनु र सो गठबन्धन छोडेर निर्वाचनमा केपी ओलीसँग चुनावी तालमेल गरेपछि कतिपय मधेसका बौद्धिकवर्ग अलमलमा पर्यो।
वास्तवमा उपेन्द्र यादव एक साहसिक एवम् अडान लिने व्यक्ति हुन्। पार्टीलाई समेटेर लग्ने क्रममा कहिलेकाहीँ नचाहेर पनि विवादित निर्णय लिनुपर्ने बाध्यता हुन्छ। अहिले पनि मधेसी समुदायमा उपेन्द्रको छवि उच्च नै देखिन्छ। उहाँले राष्ट्रियस्तरमा एक स्थापित नेताको रुपमा पहिचान बनाउनुभएको छ।
डा. सिके राउतले किन क्षेत्र नं. २ रोजे?
संविधान निर्माणको क्रममा मधेसीहरुका लागि ‘स्वराज’को माग राखेर मुलुकमै एक किसिमले भुइँचालो नै ल्याउने व्यक्ति हुन्, डा. सिके राउत। कहिले गोप्य त कहिले खुल्ला ढङ्गले आफ्ना अभिव्यक्ति स्पष्ट रुपमा राख्ने डा. राउत अन्तोगत्वा विधिवत रुपमा संविधानलाई स्विकार्दै जनमत पार्टीको स्थापना गर्नुभयो। बडो तडकभडकका साथ पार्टी स्थापना गरेपछि किसानको माग राखेर सडक आन्दोलन र भ्रष्टाचारी कर्मचारीविरुद्ध अभियानमा पनि सञ्चालन गरेको थियो।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आशातित सफलता पाउन नसकेका सो पार्टी यतिखेर प्रतिनिधिसभाको निर्वाचनमा सक्रियताका साथ जुटेका छन्। सिके राउत पनि मधेस समुदायका लागि तर्कसङ्गत ढङ्गले जोडदार रुपमा आवाज उठाइरहेका छन्। आर्थिक, सामाजिक एवम् राजनीतिक क्षेत्रमा मधेसी समुदायको उत्थान र वास्तविक हक पाउनका लागि जनमत पार्टी नै मुख्य दलको रुपमा अग्रसर रहने उहाँको बचनबद्धता छ।
सप्तरीको क्षेत्र नं–२बाट उहाँले उम्मेदवारी दिएपछि सो क्षेत्रमा चुनावी वातावरण तात्तिएको छ। डा. राउत स्वच्छ छविका साथै विद्वान व्यक्ति हुन् भन्ने विषयमा दुई मत छैन। तर, पहिलोपल्ट चुनावमा उत्रेका डा. राउतलाई उपेन्द्र यादवका साथै गठबन्धन समर्थित लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
डा. राउतको विद्वता र बोल्ने शैलीबाट जनतालाई आकर्षित पार्ने क्षमता राख्छ। सो क्षेत्रका मतदाताको नजरमा नयाँ अनुहारको फाइदा पाउने सम्भावना पनि छ। तर, निर्वाचित हुनका लागि बालेनजस्तै लहर ल्याउनुपर्ने हुन्छ। मधेसी मतदाता भावनात्मक रुपमा उहाँसँग जोडिएपछि मात्र जित सहज हुने देखिन्छ।
डा. राउत उपेन्द्र यादवसँग प्रतिस्पर्धामा किन उत्रेको भन्ने सन्दर्भमा चर्चा परिचर्चा हुनु स्वाभाविक हो। डा. राउतलाई मधेसमा आफ्नो पकड बनाउनु छ। यस कार्यमा उहाँले सबैभन्दा ठुलो बाधा अड्चनको रुपमा उपेन्द्र यादवलाई नै हेर्छन्, जस्तो बुझिन्छ। उपेन्द्र यादवलाई पराजित गर्न सक्यो भने मधेसमा आफ्नो दलको प्रभुत्व कायम गर्नमा बल पुग्ने उहाँको रणनीति देखिन्छ।
अर्कोतर्फ, राष्ट्रियस्तरका पार्टीका अध्यक्षसँग प्रतिस्पर्धा गर्दा पराजित भएपनि खासै छवि असर नपर्ने सोच पनि हुन सक्छ। सप्तरी वा अन्य क्षेत्रबाट सामान्य उम्मेदवारसँगको प्रतिस्पर्धामा कतै पराजित भए भने छविमा धक्का लाग्ने डर पनि हुन सक्छ। सप्तरी क्षेत्र नं.२ कै स्थायी बासिन्दा भएकाले डा. राउतलाई लाभ प्राप्त हुनेछ।
सत्तारुढ दल समर्थित लोसपाका जयप्रकाश ठाकुर पनि चर्चित व्यक्ति हुन्। उहाँ तेस्रोपटक निर्वाचनमा सहभागी भएको छ। प्रत्येक निर्वाचनमा उहाँको मतमा बढोत्तरी भएको छ। यसपल्ट माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीको पनि समर्थन रहेकाले सशक्त उम्मेदवारमा देखिन्छ।