बुधबार, २२ अप्रिल २०२६

इरान युद्धको असरः आकाशिने भयो कण्डमको भाउ

बिएल संवाददाता

बिएल संवाददाता

क्वालालम्पुर, मलेसिया
News Image
• • •

विश्वकै सबैभन्दा ठूलो कण्डम उत्पादक ‘कारेक्स’ले अमेरिका–इजरायल र इरान जारी युद्धका कारण कच्चा पदार्थको आपूर्ति प्रभावित भएपछि आफ्ना उत्पादनको मूल्य ३० प्रतिशतसम्म बढाउने तयारी गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोह मिह कियटलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै युद्धपछि उत्पादन लागत उल्लेखनीय रूपमा बढेको बताए। उनले आवश्यकता अनुसार मूल्य ३० प्रतिशतभन्दा पनि बढ्न सक्ने संकेट गरेका छन्।

मलेसियामा आधारित यस कम्पनीले वार्षिक पाँच अर्बभन्दा बढी कण्डम उत्पादन गर्दै आएको छ। कम्पनीले ड्युरेक्स र ट्रोजन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूका साथै बेलायतको एनएचएस जस्ता सरकारी निकायलाई पनि आपूर्ति गर्दै आएको छ।

इरानले अमेरिकी र इजरायली आक्रमणको प्रत्युत्तरमा स्ट्रेट अफ होर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई लक्षित गर्ने चेतावनी दिएपछि विश्वव्यापी तेल आपूर्ति प्रभावित भएको छ। उक्त जलमार्ग अवरुद्धजस्तै हुँदा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा ठूलो असर परेको छ। यता अमेरिकाले पनि होर्मुजमा नाकाबन्दी गरेको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले उद्योगहरूमा लागत वृद्धि गराएको छ। कण्डम उत्पादनमा प्रयोग हुने अमोनिया र सिलिकोन जस्ता पदार्थ तेलबाट प्राप्त हुने भएकाले उत्पादन खर्च थप बढेको कम्पनीले जनाएको छ।

यस वर्षकण्डमको माग करिब ३० प्रतिशतले बढेको छ भने ढुवानी खर्च र आपूर्ति ढिलाइले बजारमा अभाव देखिएको छ।

यसैबीच, युद्धका कारण अन्य उपभोग्य वस्तुहरूको मूल्यसमेत बढ्ने संकेत देखिएको छ। हवाई भाडा महँगिएको छ भने मल, हिलियम तथा बोतलको पानी उत्पादनमा पनि असर परेको छ। संयुक्त राष्ट्रसंघले चिनी, दुग्धजन्य पदार्थ र फलफूलको मूल्यसमेत बढ्न सक्ने चेतावनी दिएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई वार्ता अघि बढेसम्म लम्ब्याउने बताएका छन्। यद्यपि शान्ति वार्ताको अवस्था अझै स्पष्ट भइसकेको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!