अमेरिकी मध्यावधि निर्वाचनमा सराहना र ह्यारी: यो मन त हो नेपाली

अमेरिकामा आगामी नोभेम्बर ८ मा हुने मध्यावधि निर्वाचनमा दुई नेपाली मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट डा. ह्यारी भण्डारी र न्युयोर्क डिस्ट्रिक्ट १०३ बाट सराहना श्रेष्ठ हाउस अफ एसेम्बेली मेम्बरका उम्मेद्वार रहेका छन् । जीत नजिक पुगेका उनीहरूको उम्मेद्वारीसँगै अमेरिकाको नेपाली समुदायमा चुनावी चासो र जिज्ञासा पनि बढेको छ ।

डा. भण्डारी २०१८ मा मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट विजयी भएर पहिलो नेपाली-अमेरिकी राज्य विधायकको इतिहास बनाएका व्यक्तित्व हुन् । उनी दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन् । श्रेष्ठ भने पहिलोपटक उम्मेद्वार बनेकी छिन् । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका दुबै यसअघि भएको अन्तरपार्टी चुनाव भनिने प्राइमरी प्रतिस्पर्धा छिचोल्दै उम्मेद्वार बनेका हुन् । प्राइमरीमा भण्डारी अनअपोज्ड (निर्विरोध) रहेका थिए भने श्रेष्ठले तीनदशकदेखि विधायक रहेका आफ्नै पार्टीका भेट्रन प्रतिस्पर्धीलाई पाखा लगाएकी थिइन् ।

दुबै डेमोक्रेटिक पार्टीका उम्मेद्वार भए पनि व्यक्तिगत रूपमा डा. भण्डारी पार्टीको मध्यमार्गी धारको र श्रेष्ठले उदारवादी धारको प्रतिनिधित्व गर्छन् । गत राष्ट्रपतिको निर्वाचनमा भण्डारीले जो बाइडनको पक्षमा 'बाइडेन फर नेपाली' भन्ने चुनावी क्याम्पेन चलाएका थिए भने श्रेष्ठ बर्नी स्याण्डर्सको चुनावी क्याम्पेनमा सत्तिसालझै उभिएकी थिइन् ।

दुबैको निर्वाचन क्षेत्रको राजनीतिक चरित्र र भूगोल पनि फरक छ । डा. भण्डारी पर्पल कलर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन् । यसको अर्थ यो क्षेत्रमा नीलोले जनाउने डेमोक्रेटिक पार्टी र रातोले जनाउने रिपब्लिकन पार्टीमध्ये कुनै एकको वर्चश्व छैन, यहाँ मिश्रित निर्वाचन परिणाम आउँछ । यस क्षेत्रबाट निर्वाचित हुने तीनजना हाउस अफ एसेम्बेली सदस्यमध्ये एक डेमोक्रेटिक र एक रिपब्लिकन पार्टीले जित्छन् भने तेस्रो सिटमा भने प्राय: आलोपालो जीत हुने गरेको पाइन्छ । २०१४ मा डेमोक्रेटिक पार्टीबाट पहिलोपटक उम्मेद्वारी दिएका डा. भण्डारी पराजित भएका थिए भने २०१८ मा त्यो हारको बदला लिदैं विजयी भएका थिए।

उता, श्रेष्ठ उम्मेद्वार रहेको न्युयोर्क डिस्ट्रिक्ट १०३ भने गाढा नीलो निर्वाचन क्षेत्र हो । यहाँ वर्षौदेखि डेमोक्रेटिक पार्टीले जीत निकाल्दै आएको छ । यसअघि डेमोक्रेटिक पार्टीको मध्यमार्गी धारले प्रतिनिधित्व गर्दै आएको यो क्षेत्र पहिलोपटक उदारवादी खेमामा गएको हो । त्यही खेमाकी श्रेष्ठले  यसपटक उम्मेद्वारी जितेकी हुन् ।

पर्वतका भण्डारी २००६ मा अमेरिका आएर २०१२ मा अमेरिकी नागरिक भएका हुन् भने २००१ मा  अमेरिका आएकी काठमाडौंकी श्रेष्ठ २०१९ मा मात्र अमेरिकी नागरिक भइन् । डा. भण्डारीले सुरूदेखि नै अमेरिकी मूलधारको राजनीतिमा नेपालीको उपस्थिति हुनुपर्छ भन्ने पैरवी गर्दै आएका छन् । यस क्रममा डेमोक्रेटिक पार्टीमा प्रवेश गरेर अगाडि बढेका उनी पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्य समेत रहिसकेका छन्।

हो, उनीहरू भगवान हैनन्, मान्छे हुन् । उनीहरूका पनि आचरणगत मानवीय कमी कमजोरी हुन सक्छन् । तिनीहरूलाई सुधार्न प्रश्न गर्न र सचेत मनले आलोचना गर्न सकिन्छ र पाइन्छ पनि । तर, त्यसका लागि उपयुक्त समय अहिले हैन, चुनाव जितेपछि समय सन्दर्भ मिलाएर गरौला । अहिले भने उनीहरूको जीतको लागि योगदान गर्ने समय हो । हामी नेपाली हौ भने जहाँ रहेर जे गर्न सकिन्छ, त्यो गरौँ ।

भण्डारी पेशाले शिक्षक हुन् भने कुनै समय वेभ डिजाइनर रहेकी श्रेष्ठ पछिल्लो समय एक सामाजिक अभियन्ताका रूपमा परिचित छिन् । उनी सामाजिक न्यायलगायतका प्रगतिशील मुद्दाहरूको पक्षमा वकालत गर्दै आएकी छिन् ।

डा. भण्डारी र श्रेष्ठको आनीबानी पनि फरक छ । डा. भण्डारीले नेपाली समुदायलाई आफ्नो साधन र स्रोतको आधार बनाएका छन् । उनको आनीबानी पनि लगभग नेपालका आमनेपाली जस्तै छ । उनका खुट्टा अमेरिकामा टेकिए पनि शीरमा नेपाली तन्तुहरूले काम गरिरहेको जस्तो लाग्छ । नेपाली लोकभाकामा रमाउने डा. भण्डारीले टिकटकमा गजबको नाँच पस्केर सयौ समर्थक बनाइसकेका छन् ।

सुरूदेखि नै मेरिल्याण्डको बाल्टिमोरलाई थातथलो बनाएका डा. भण्डारी यहाँको नेपाली समुदायसँग नजिकबाट जोडिएका छन् । यसो गर्दा उनी स्थानीय नेपाली समुदायको ‘राजनीतिक छिटा’बाट मुक्त छैनन् । फलस्वरूप समुदायमा उनका केही आलोचक रहे पनि उनले स्थानीय नेपाली समुदायलाई गरीमामय पहिचान मात्र दिएका छैनन्, लाखौ डलरको सरकारी कोष सौजन्य गरेर ठूलो गुण पनि लगाएका छन्।

डा. भण्डारीको आफूकेन्द्रित व्यवहार र मानिसलाई प्रयोग गरेर उपयोगिता सकिएपछि छोडिदिने आनीबानीलाई लिएर उनको आलोचना गर्नेको संख्या पनि बाल्टिमोरमा कम छैन । तर, उनले स्थानीय नेपाली सुमदायलाई दिएको गरीमामय पहिचान र मर्दापर्दा लगाएको गुणको सामु ती सबै फिक्का छन् ।  

यही अर्थमा उनलाई उनको निर्वाचन क्षेत्र र यस वरिपरिका नेपालीले त मन पराउँछन् नै, निश्चित दूरीमा रहेका अमेरिकाभरिका नेपाली पनि उनका ठूला फ्यान छन् । यो सत्य हो, डेलिगेट डा. ह्यारी भण्डारी मीठो बोल्छन् र अंग्रेजीमा धाराप्रवाह बोलेर पहिलो दृष्टिमै प्रभाव छोड्न सक्छन् । यही गुणले उनलाई अमेरिकाको नेपाली समुदायका सबैभन्दा ठूलो ब्राण्ड बनाएको हो । यो पनि त्यतिकै सत्य हो कि यस्तो ब्राण्ड रातारात बन्दैन । यसका लागि सम्बन्धित व्यक्तिमा निश्चित गुण त चाहिन्छ नै, त्यसको परीक्षणका लागि त्यतिकै लामो समय पनि चाहिन्छ ।

तर, सराहनाको चरित्र नितान्त फरक छ । उनलाई अमेरिकाको नेपाली सुमलायले खासै चिन्दैन । उनी नेपाली समुदायभन्दा अमेरिकी समुदायसँगै बढी उठबस र हुलमेल हुन रूचाउँछिन् । उनले स्रोत र साधन पनि अमेरिकीहरूबाटै जुटाएकी छिन् । साँचो अर्थमा उनी अथाह सम्भावना भएकी ग्रास रूट क्याम्पेनर हुन् । उनका बारेमा यहाँको नेपाली समुदायलाई लगभग केही नै थाहा छैन भने पनि हुन्छ । 

नजिकबाट हेर्दा सराहना र डा. ह्यारीको आनीबानी र चरित्र लगभग उल्टो ध्रुवजस्ता लाग्छन् । उनीहरू एक्लाएक्लै हिडेर पनि आआफ्नो गन्तव्यमा त पुग्लान् तर त्योभन्दा बढी उपलव्धी सहकार्य गरेर एक अर्कालाई कम्प्लिमेन्ट गर्दा हासिल हुन्छ । त्यसो भयो भने अमेरिकाको नेपाली समुदायका लागि मानक उपलव्धी हासिल हुन सक्छ । तर, यसपटकको निर्वाचनमा उनीहरूको खासै सहकार्य देखिएको छैन । यसका पछाडि डेमोक्रेटिक पार्टीभित्रै उनीहरूले प्रतिनिधित्व गर्ने फरक खेमा मूलकारण हुन सक्छ। यस अतिरिक्त उनीहरूको व्यक्तिगत विपरित ध्रुवको आनीबानी पनि कारण बनेको छ।

आगामी नोभेम्बर ८ मा हुने अमेरिकी मध्यावधि निर्वाचनमा दुई नेपाली डा. ह्यारी भण्डारी र सराहना श्रेष्ठ उम्मेद्वार रहेका छन्।  मेरिल्याण्ड र न्युयोर्कको हाउस अफ एसेम्बेली सदस्यमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार रहेका उनीहरूको जीतले अमेरिकामा नेपालीको पहिचान अरू स्थापित र बिस्तारित हुने छ। 

यसपटक के होला ?

अहिले दुबैजना विजयको धेरै नजिक छन् । सराहनालाई गाढा नीलो निर्वाचन क्षेत्रको फाइदा छ। यो क्षेत्रमा डेमोक्रेटिक पार्टीको वर्चश्व रहेको र यसअघि चुनाव नै नहारेको ट्रयाक रेकर्ड हेर्दा पनि उनको जीत सुनिश्चित जस्तै छ।

उता, ह्यारी भण्डारी मौजुदा डेलिगेट भएको र पहिलो कार्यकालमा राम्रै काम गरेको ट्रयाक रेकर्डले गर्दा उनको पनि जीत लगभग निश्चित छ । यस क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने तीन उम्मेद्वार निर्वाचित हुने भएकाले पनि भण्डारी पहिलो तीनमध्ये कुनै पनि स्थानमा रहेर जीत हासिल गर्न सक्छन् ।

डेलिगेट डा. भण्डारी यस क्षेत्रका एक मात्र निर्वाचित डेलिगेट पनि हुन् । उनीसँग प्रतिस्पर्धा गरिरहेका अरू प्रत्यासीमध्ये डेमोक्रेटिक पार्टीकै कार्ल ज्याक्सन मौजुदा हाउस अफ एसेम्बेलीमा डेमोक्रेटिक पार्टीले मनोनित गरेका डेलिगेट हुन् । २०१८ को आम निर्वाचनमा उनी चौथो स्थानमा रहेर पराजित भएका थिए । तर, यही वर्षको डेमोक्रेटिक प्राएइमरीमा भने ज्याक्सनले थोरै मतले भए पनि डा. भण्डारीलाई पछि पारेका थिए । यी दुई परिचित अनुहारबाहेक दुबै पार्टीका अन्य सबै उम्मेद्वार नयाँ छन् । यसको फाइदा पनि स्वभाविक रूपमा डा. भण्डारीलाई हुन्छ नै ।  

जे होस्, यसपटक अमेरिकाको नेपाली समुदायले दुई राज्य विधानसभा सदस्य पाउँने लगभग निश्चित छ । यसबाट नेपालीको पहिचान अरू स्थापित र बिस्तार हुनेछ । अमेरिकाको मूलधारमा नेपाली अरू देखिने छ र क्रमश: सुनिने पनि छ । अमेरिकाको नेपाली समुदायका लागि आफैंमा यो मानक उपलव्धी हुनेछ ।

के गर्ने नेपालीले ?

अमेरिकामा आएर कुनै नेपालीले नेपाल र नेपालीको पहिचान स्थापना र बिस्तार गर्छ भने उसलाई सघाउनु यहाँका हरेक नेपालीको कर्तव्य हुन्छ । कसैलाई बढी लाग्न सक्छ तर यो सत्य हो कि यी दुई नेपालीले अमेरिकामा सगरमाथा र वुद्धपछि नेपाललाई चिनाउने सबैभन्दा उम्दा ब्राण्डको काम गरेका छन् । त्यसैले यहाँका हरेक नेपालीले उनीहरूलाई सघाउनु पर्छ ।

उनीहरूलाई सामान्यत: तीन किसिमले सघाउन सकिन्छ,
पहिलो, सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता भए उनीहरूलाई आफूले पनि मतदान गर्ने र आफन्त तथा छिमेकीलाई पनि मतदान गर्न अभिप्रेरित गरेर
दोस्रो, सम्बन्धित राज्य वा नजिक भए चुनावी क्याम्पेनमा स्वयंसेवकका रूपमा समेत काम गरेर
तेस्रो, जहाँ भए पनि उनीहरूको चुनावी क्याम्पेनलाई यथाशक्य चन्दा दिएर

माथिका तीनबाहेक सहयोग गर्ने अर्को पनि महत्वपूर्ण तरिका हुन्छ त्यो के भने सकारात्मक वर्ड अफ माउथ दिएर । त्यस्तो वर्ड अफ माउथ सामाजिक सञ्जालमा दिन सकिन्छ, सामाजिक भेटघाट र अन्य कार्यक्रममा दिन सकिन्छ ।

यी सबै गर्न सकिदैन भने पनि उनीहरूका बारेमा नकारात्मक कुरा नगरी मौन बसेर पनि सहयोग गर्न सकिन्छ।

हो, उनीहरू भगवान हैनन्, मान्छे हुन् । उनीहरूका पनि आचरणगत मानवीय कमी कमजोरी हुन सक्छन् । तिनीहरूलाई सुधार्नका लागि प्रश्न गर्न र सचेत मनले आलोचना गर्न सकिन्छ र पाइन्छ पनि । तर, त्यसका लागि उपयुक्त समय अहिले हैन, चुनाव जितेपछि समय सन्दर्भ मिलाएर गरौला । अहिले भने उनीहरूको जीतको लागि योगदान गर्ने समय हो । हामी नेपाली हौ भने जहाँ रहेर जे गर्न सकिन्छ, त्यो गरौँ ।

उनीहरूको जीतबाट व्यक्तिगत रूपमा कसलाई के फाइदा हुन्छ भन्दा पनि समग्रमा अमेरिकामा नेपाली समुदायको पहिचान स्थापित हुन्छ, अमेरिकाको मूलधारमा नेपाली अरू देखिन्छ र सुन्न थालिन्छ । त्यसो हुँदा त्यसको 'टिकल डाउन' फाइदा स्वभाविक रूपमा अमेरिकाका सबै नेपालीलाई हुन्छ । प्रकारान्तरमा त्यसको सकारात्मक प्रभावबाट नेपाल पनि लाभान्वित हुन्छ । यति भन्नलाई चाँहि कुनै आइतबार पर्खनु पर्दैन । 

प्रकाशित मिति: : 2022-10-30 21:35:00

प्रतिकृया दिनुहोस्

    सहमत छु ! ऐक्यबद्धता प्रकट गर्न चाहन्छु ! वहाँहरु दुबैलाई विजय-श्री प्राप्त होओस् !💐🙏🙋

    • एक बर्ष अगाडि
    • Jeetendra dhakal