धादिङका किस्ने घलेले सोच्ने गर्थे, छोरीहरु नै मेरा छोरा हुन्। त्यसैले त उनी छोरीहरुलाई छोरा भनेर सम्बोधन गर्थे। गाउँभरिकै मान्छेलाई उनी छोरीहरु देखाउँदै चिनाउने गर्थे,‘मेरो जेठो छोरा, माइलो छोरा, साइलो छोरा र कान्छो छोरा।’
खेतीपाती गरेरै छोरीहरुलाई पढाएका किस्नेलाई लाग्थ्यो कि,‘छोरी नै छोरा हुन्, त्यसैले घर छाडेर कहिल्यै जादैँनन्।’ तर उनको भ्रम तब तोडियो, जब चारै जना छोरी विवाह गरेर लाखापाखा लागे।
६ जनाको परिवार दुई जनामा घटेपछि उनलाई घर बस्ने मन भएन। त्यसैले उनी काठमाडौं आउने निधो गरे। उनको लागि नयाँ सहर थियो, काठमाडौं।
‘नौलो ठाउँ ‘जान्छु’भन्दा श्रीमतीले नरोकेको पनि होइन तर उनले श्रीमतीको कुरै मानेनन्,’ उनी भन्छन्, ‘छोरीहरु नभएको घर सुन्ने लाग्यो, त्यसैले बुढीलाई छोडेर काठमाडों आएँ।’
२०५९ मा काठमाडौं आएका उनले कालीमाटीमा डेरा लिए अनि अमला बेच्न थाले। ‘मैले असनमा देखेको थिएँ, डोको–डोकोमा अमला बेच्दै हिँडेको अनि मैले पनि सोचेँ त्यसैगरी अमला बेच्ने र पैसा कमाउने’ उनले बिएल नेपाली सेवासँग भने, ‘त्यसपछि मैले पनि बसन्तपुरमा अमला बेच्न सुरु गरेँ।’
पाँच रुपैयाँदेखि अमला बेचेका उनले अहिले मानोको ३० रुपैयाँमा बेच्ने गरेका छन्। सामानको भाउ बढेकै कारण आफूले पनि अमलाको मूल्य बढाएको उनी बताउँछन्।
‘सबै कुरामा महँगी बढ्यो त्यसैले मैले पनि अमलाको दाम बढाएको हो’ उनले भने,‘काम गरेर खानु मुस्किल छ नि।’
विगतका दिनहरुमा अमला बेच्ने उनले हिजोआज कटुस, बयर र सतिबयर पनि बेच्न थालेका छन्। तिहार भएको कारण आफूले नयाँ चिज बेच्न राखेको उनी बताउँछन्।
फुटपाथमा आफूले राखेको सामान तिहारका लागि आवश्यक भएको बताउँदै उनले भने,‘पूजा गर्दा होस् या भाइटीका गर्दा नै किन नहोस् यी सामानहरु नभई हुँदैन।’
हिजो-आज धादिङबाट ६ हजारको सामान ल्याउने र त्यसलाई ८ हजारमा बेच्नु नै उनको दैनिकी बनेको छ। बाटाेमा राखिएको बोरा देखाउँदै उनले भने,‘यो सामान एकैदिनमा बिक्री हुन्छ।’
तिहारको अघिल्लो दिन घर जाने साेच बनाएका उनी अहिले सामान बेच्नमा व्यस्त छन्। उनी भन्छन्,‘यही सामान बेचेर तिहार खर्च बनाउनु छ, पैसा आउने बाटो कहीँकत्तै छैन।’
नेपालीहरको दोस्रो महान चार्ड तिहार भएपनि आफूलाई त्यतिधेरै घर इच्छा नभएको उनी सुनाउँछन्। ‘तिहार मनाउन घर जाने त्यति मन छैन तर दिदी हुनुहुन्छ, त्यसैले खर्च बनाएर टीका थाप्न गाउँ जान्छु’ उनले भने,‘तिहारको दिन घर जाँदा खल्लो महसुस हुन्छ।’
‘बा, हाम्रा भाइहरु भए, कस्तो रमाइलो हुन्थ्यो होला है’
तिहारमा किस्नेलाई घर जान मन नलाग्नुको पनि छुट्टै कहानी छ। जब तिहार आउँछ, किस्नेको मन अमिलिन थाल्छ। छोराको बुबा हुन नसकेका उनलाई नमिठो त तब लाग्छ, जब छोरीहरुले नै तिहारमा भन्ने गर्छन्, ‘बा, हाम्रा भाइहरु भए, कस्तो रमाइलो हुन्थ्यो होला है!’
छोरीहरुको दुख सुनेर भावुक बनेका उनी सम्झाउँदै भन्छन्,‘मेरो लागि छोरा भनेकै तिमीहरु हौँ, नानी!’ आफ्नो कुनै छोरा नभएको कारण छोरीहरुलाई नै छोरा बनाएको उनी सुनाउँछन्।
तिहारको दिन विवाह गरेर ससुराली पुगेका छोरीहरुहरुलाई सम्झिएर रुने गर्छन् किस्ने। जसको कारण हो, तिहारमा छाेरीहरू घर नआउनु।
उनले तिहारमा छोरीहरुलाई घर नबोलाएको पनि होइन तर छोरीहरुले नै भन्न गर्छन्, ‘घर आउँदिनँ बा, घर आएँ भने नरमाइलो लाग्छ, दाजु-भाइ नभएकोमा नमज्जा लाग्छ।’ छोरीहरु घर नआउँदा रुएरै मनाउने गरेका छन्, किस्नेले तिहार। उनी भन्छन्, ‘छोरीहरु बिना के दशैं, के तिहार ?’
दुई दशक काम गरेर कमाएको पैसा खाएरै सक्कियो
उमेर ६ दशक कटिसकेका किस्नेले पैसा नकमाएको होइन तर उनको पैैसा खाएरै सक्कियो। ‘बाटोमा कमाएको पैसा लगाएर खाएर नै सक्कियो, बचत त शून्य’ उनले भने, ‘धेरै पैसा कमाएको भए पो बचत हुन्थ्यो होला र?’
छोरीहरु पराईको घर गएपनि श्रीमतीलाई कुनै चिजको कमी हुन नदिएको उनको ठम्याइ छ। ‘मैले कमाएको पैसा श्रीमतीलाई दिँदैमा नै ठिक्क भयो,’ उनले भने,‘उनको खुसी पूरा गर्दामै कमाएका सबै पैसा सक्कियो।’
आधा जीवन परिवारलाई नै पालेर गएको बताउने घले भन्छन्,‘जबसम्म बाँच्नेछु, तबसम्म यहीँ सडकमा काम गरिरहने छु।’