जनतालाई स्वदेशमै रोजगारी दिनुपर्ने संविधानको मर्म र भावनाविपरीत राजनीतिक दलका नेताहरू युवाहरूलाई वैदेशिक रोजगारीमा जाने लोभ देखाउन थालेका छन् । नेताहरूले युवाहरूलाई विदेश जानैपर्ने बाध्यताको अन्त्य गर्ने नीति तथा कार्यक्रम ल्याउनुको साटो ‘फ्री भिसा फ्री टिकट’को प्रलोभन देखाउन थालेका छन् । वैदेशिक रोजगारविज्ञ तथा सामाजशास्त्री डा. गणेश गुरुङले युवालाई स्वदेशमै श्रम तथा उद्यम गर्न प्रेरित नगराएर नेताहरूले वैदेशिक रोजगारीमा जान प्रोत्साहन गरिरहेको बताए ।
पछिल्लो पाँच वर्षमा देशमा साढे ४१ खर्ब रेमिट्यान्स भित्रिएको छ । तर, सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा पाँच हजार नेपालीले ज्यान गुमाएका छन् । रेमिट्यान्सको मूल्य डरलाग्दो भए पनि राजनीतिक दल र नेताहरूले त्यसको उचित विकल्प दिन नसकेको गुरुङको भनाइ छ ।