आधुनिक कृषि उपकरणले किसानलाई सहज

File photo
File photo

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्न पर्दथ्यो तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ।

‘अहिले त मेसिनको सहायताले एक बिघा जग्गाको धान एक दिनमा काट्न सकिन्छ।’ डगौराले भने, ‘कृषि कार्य गर्न आधुनिक उपकरण आएपछि पैसा र समयको बचत भएको छ।’  परम्परागत हल गोरुबाट खेतीपाती गर्दै आएका उनले मजदूरको अभाव हुनाका साथै  समय र मेहनत धेरै लाग्ने गरेको बताए। 

अहिले यहाँका किसानले खेतबारी जोताउन पावर टिलर, हाते ट्र्याक्टर, धान रोपाइँ गर्नेदेखि बाली भित्र्याउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेका छन्। ‘उतिबेला मजदूर खोजेर धान कटाउन महिनौँ लाग्थ्यो अहिले त्यस्तो छैन।’ डगौराले विगत सम्झिँदै भने,‘त्यो बेलाको कडा मेहनत हेर्दा त अहिले खेतीपाती गर्न निकै सहज भएको छ।’
    
उपकरण भएपछि शरीरलाई पनि थकान महसुस नहुने र एक घण्टामै धान गहुँ सबै काट्नसक्ने अर्का किसान रामलाल चौधरीले बताए।  ‘अहिले त जमाना कहाँ पुगिसक्यो पहिला बिहानदेखि बेलुकीसम्म खेतमा काम गर्नुपथ्यो’, उनले भने ‘विगतमा सबैको घरमा हलगोरु हुन्थे अहिले सबैको घर–घरमा खेत जोत्ने, धान काट्ने मेसिन छन्।’     

‘मेसिन आएपछि त मजदूर लगाउनु परेन गोरु पाल्नु परेन फाइदै फाइदा छ नि’, चौधरीले भनिन् ‘आधुनिक यन्त्र गाउँ पुगेपछि हामीलाई निकै सहज भएको छ।’ सरकारले पनि कृषिमा आधुनिकीकरण गर्ने लक्ष्य अनुरुप प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानलाई कृषि कार्यका लागि आधुनिक उपकरण अनुदानमा दिने गरिएको छ।     

कृषि कार्यमा यन्त्रउपकरणको प्रयोगले उत्पादन  पनि बढेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशीले बताए।‘मेसिनको प्रयोगले खनजोत गर्दा माटो खुकुलो हुने, मलखाद मिसिने, जमिन बराबर गरेर जोतिने भएकाले तत्पादन वृद्धि हुन्छ।’ उनले भने ‘अर्को फाइदा मजदूरको लागत घट्ने र समयको बचत हुने भयो।’ अधिकृत जोशीले पछिल्लो समय कृषि कार्यमा ९५ प्रतिशत यन्त्रउपकरण प्रयोग हुने गरेको जानकारी दिए। 

मुख्यमन्त्री कृषि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत किसानको माग अनुसार पावर टिलर लगायतका कृषियन्त्र अनुदानमा किसानलाई उपलब्ध हुँदै आएको छ।

प्रकाशित मिति: : 2022-10-20 17:01:00

प्रतिकृया दिनुहोस्