चुनावी प्रचारका लागि केपी ओली झापा आउँदै

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारदेखि बिहिबारसम्म गृह जिल्ला झापामा व्यस्त हुने भएका छन्। कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि अध्यक्ष ओली आज पौने २ बजे काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिने छन्।

एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार साढे ४ बजे दमकमा पत्रकार भेटघाटमा सहभागी भएर उनले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ।

भोलि बुधबार बिहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा र २ बजे दमकमा कार्यकर्ता भेटघाट गर्ने ओलीको कार्यक्रम छ।

बिहीबार ३ गते दमक ३ को आमचोक र कमल गाउँपालिका-३ केर्खामा मतदातासँग भेटघाटको कार्यक्रम सार्वजनिक भएको छ। अध्यक्ष ओली ३ गते दिउँसो २.५० बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ।

सातौं पटकमा आउँदा देखिए यस्ता चुनौती

ओली झापाको पश्चिम दक्षिण भुगोल समेटिएको निर्वाचन क्षेत्र नं ५ बाट यही मसिंर ४ मा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। उनी यो भुगोलबाट सातौं पटक निर्वाचन लड्दै छन्।

अघिल्लो २०७४ को निर्वाचनमा माओवादी र राप्रपाको समेत साथ पाएर यो निर्वाचन क्षेत्रबाट भारी मतसहित विजयी बनेका ओलीका लागि आसन्न निर्वाचन जित्न भने चुनौती रहेको स्थानीयस्तरमा चर्चा छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका चार पालिकामध्ये तीन वटाको प्रमुख पद गुमाएको छ।

यससंगै देशव्यापी रुपमा चलेका पुराना र पाका अनुहारलाई चुनाव हराउने नयाँ पुस्ताको अभियान यो क्षेत्रमा पनि चलिरहेको छ।

अघिल्लो पटक राजनीतिक स्थिरताका लागि भन्दै ओलीकै नेतृत्वमा कम्युनिष्टहरुले पाएको बहुमतको समेत सदुपयोग गर्न नसकेको तथ्यले ओलीमाथि चुनौती थपिदिएको छ।

त्यस्तै ओलीले २०४८ सालयता यस क्षेत्रमा अघि सार्दै आएका चुनावी एजेण्डा कार्यान्वयनमा इमान्दार नभएको गुनासो पनि उत्तिकै छ।

एमाले नेताहरुले भने यो ठाउँसहित देशभरको विकास हुन नसक्नुका पछाडि गठबन्धन सरकारलाई दोष दिँदै नियमित जस्तो पत्रकार सम्मेलन गर्ने र गठबन्धन सरकारमाथि खनिने अभ्यास गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-10-18 12:09:00

प्रतिकृया दिनुहोस्