जनताले एमालेलाई जिताएर गठबन्धनको कच्ची धागाे चुडालेरै छाेड्छन् : रतननाथ याेगी

नेकपा एमाले जुम्ला प्रतिनिधिसभाका उम्मेदवार रतननाथ याेगीले जनताले गठबन्धनको कच्ची धागाे चुडाल्ने बताएका छन्।

पार्टीमा बिना कुनै विवाद एकल रुपमा प्रतिनिधिसभाकाे टिकट पाएका उनले अब जनता सचेत भइसकेको हुँदा केही समिति नेताकाे स्वार्थका लागि गरिएकाे गठबन्धन जनताले सजिलै चुडाल्ने बताएका हुन्।

पछिल्लो समय जुम्लामा नेकपा एमालेप्रति जनताकाे आकर्षण बढ्दै गएपछि जनताले नेकपा एमालेलाई विजयी गराउने उनकाे भनाइ छ।

'विभाजनपश्चात् जुम्लामा एमालेकाे उपस्थिति तुलनात्मक रुपमा कमजोर देखिए पनि स्थानीय तहकाे निर्वाचननमा हामीले सम्मानजनक मत पायाैं,' बिएल नेपाली सेवासँगकाे कुराकानीमा उनले भने, 'हरेक दिन एमालेप्रति जनताकाे आकर्षण बढ्दाे छ। यसले हामीलाई सकारात्मक उर्जा दिँदैछ।'

जुम्लामा माधवकुमार नेपाल निकटकाे समाजवादी पार्टीको उपस्थिति बलियाे भएपनि पछिल्लो समय धेरैजसाे नेता कार्यकर्ता आफ्नाे घर फर्किने भन्दै एमालेमा आइरहेकाे पार्टी स्राेतकाे दाबी छ।

पार्टी स्राेतका अनुसार निकट भविष्यमा झण्डै तीन हजार नेता-कार्यकर्ता समाजवादीमा आउन लागेका छन्। दिनदिनै आकारमा ठुलाे बन्दै गएपछि पार्टी नेता र कार्यकर्ता उत्साहित भएकाे याेगीले बताए।

सानैदेखि उत्पीडनकाे विरुद्धमा आवाज उठाउने उनी संकटकाे समयमा पार्टी निर्माणका लागि दिलाे ज्यान दिएका कारण पार्टी संगठन र जनतामा लाेकप्रिय बन्दै गएका छन्।

विद्यार्थी कालदेखि नै सफल राजनीतिक कार्यकर्ताकाे रुपमा परिचित उनी २०५३ सालदेखि २०५५ सम्म जुम्ला बहुमुखी क्याम्पसकाे सचिव भएका थिए। २०५६ देखि २०५९ सम्म सानाेठिमी क्याम्पस भक्तपुरकाे सचिव भएका उनी २०५९ देखि २०६२ सम्म जुम्ला बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

प्रविणता प्रमाणपत्र तह मात्रै पढाइ हुने जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तह अध्यापन गराउनका निम्ति उनकाे उल्लेख्य याेगदान छ। त्यसका लागि प्रतिनिधि मण्डलसहित काठमाडौं पुगेका उनले अर्थमन्त्री र शिक्षामन्त्रीलाई रिपाेर्टर्स क्लबमा ल्याएर जवाफदेही हुन बाध्य पारेका थिए।

२०६२/०६३ काे जनआन्दोलनताका उनी चर्चित वक्ता हुन्। युवा विद्यार्थीमाझ लाेकप्रिय उनले राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासनकाे खुलेर विराेध गर्दा तीन महिनाकाे पक्राउ पुर्जी पाएर हिरासत पुगेका थिए। तर, जनआन्दोलनले उग्र रुप लिँदा बीचमा उनकाे रिहाइ भयाे।

त्यसबेलाको सक्रियताले उनलाई राजनीतिमा स्थापित गरायाे। देश संघीयतामा गएपछि कर्णालीलाई सुदुरपश्चिममा गाभ्ने गरी राज्य पुन:संरचना गरिँदा कर्णालीमा जनआन्दोलन भयाे। जुम्लामा उनी नेतृत्वदायी भूमिकामा थिए।

संविधान निर्माणपछि पहिलाे पटक स्थानीय तहकाे निर्वाचन भएकाे बेला तिला गाउँपालिकामा एमालेकाे कमजोर संगठन हुँदा पनि उनी विजयी हुन सफल भए। सत्तामा पुग्दा बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने ध्ययलाई आत्मसात गरेका उनले गठबन्धन दिनदिनै कमजाेर बन्दै गएकाे प्रतिक्रिया दिएका छन्।

'गठबन्धन जनताकाे चाहनाले बनेकाे थिएन। त्यसकारण भत्किन्छ भन्नेमा हामी ढुक्क थियौं,' उनले भने, 'काँग्रेसले दुबै प्रदेशमा बागी उम्मेदवार खडा गरेकाे छ भने माओवादीबाट संघमा बागी उम्मेदवार डा. कलबहादुर राेकाया बन्नुभएकाे छ। यस्ताे अवस्थामा एमाले विकल्प हाे।'

प्रकाशित मिति: : 2022-10-16 17:06:00

प्रतिकृया दिनुहोस्