महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैं समाप्त हुन्छ– रेखा थापा

अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री रेखा थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैं समाप्त हुने समेत दाबी गरेकी छिन।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका- ११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन्।

‘जन्मिएको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको हुँ,’ रेखाले भनिन्,‘जनताको हितबाहेक मेरो कुनै स्वार्थ छैन। समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न मैले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको हुँ।’

उनले आफूले कलाकारको हिसाबले कमाएकाे ख्यातीकै कारणले हिम्मतवाली बनाएकाे बताउँदै भनिन्,‘अब मैले ‘पे ब्याक’ गर्ने बेला आएको छ। विकास नभएका पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीमा भएका अभावका विषयमा मैले महसुस गरेकी छु। चाहे यो सुकुम्बासी समस्या किन नहोस्। यो समस्यालाई निर्मुल गर्नका लागि त्यही माटोमा लत्पतिएको मानिस त्यो ठाउँलाई आवश्यक छ।’

रेखाले सांसद बन्नु नै आफ्नो लक्ष्य नरहेको बताइन्। ‘मेरो उपस्थितिले मेरो यो अभियानले हरेक छोरी मान्छेहरु जागरुक हुनुपर्छ। हरेक युवाले आफ्नै देशमा रोजगारी प्राप्त गर्नुपर्छ। हरेक मान्छेले आफूले चाहेको जिन्दगी बाँच्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-10-13 19:38:00

प्रतिकृया दिनुहोस्